एन्फामा चुनावी सरगर्मी–अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौ। अखिल नेपाल फुटबल संघ एन्फाको कात्तिक ८ गते हुन गैरहेको निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने कार्यको प्रारम्भ भएको छ।अध्यक्ष पदका लागि कम्तिमा पनि तीन जनाको उम्मेदवारी पर्ने देखिएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मनाङ मस्र्याङ्दी क्लबका संस्थापक एवं पूर्व अध्यक्ष टासी घलेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि एन्फाको चुनाव रोचक हुने देखिएको छ।

AnFaपछिल्लो सयम फुटबलबाट टाढा रहेका घलेलाई मनाङ मस्र्याङ्दी क्लबले एन्फा अध्यक्षको रुपमा अघि सारेको हो। घलेको उम्मेदवारी घोषणा भएसँगै अब अन्य दावेदारहरुले पनि उम्मेदवारी सार्वजनिक गर्ने सम्भावना देखिएको छ। एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि यसअघि अनौपचारिक कार्यक्रमहरुमा एन्फा अध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन्। पुर्व राष्ट्रिय खेलाडी एवं नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नाम पनि सम्भावित उम्मेदवारको रुपमा चर्चामा छ।

तत्कालिन एन्फा अध्यक्ष गणेश थापा फिफाबाट प्रतिबन्धमा परेपछि फिफाकै दबाबमा एन्फाको नयाँ नेतृत्व चयन हुन लागेको हो। अध्यक्षका लागि आकांक्षीहरु बढ्दै गए पनि एन्फाको विधानले समस्या पर्ने देखिएको छ। विधान अनुसार अध्यक्षको उम्मेदवारी दिन ५ जना प्रस्तावक तथा ५ जना समर्थक चाहिने व्यवस्था छ।
प्रकाशन मिति–२०७३ साल भदौ १४ गते मंगलवार ।