संयुक्त राष्ट्रसंघको ७१ औँ महासभा सुरु, सिरियाको युद्ध अन्त्य गर्न आह्वान

न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिवले, राष्ट्र संघीय महासभाको उद्घाटनका क्रममा बोल्दै, आफ्नै जनताको ज्यान लिएको भनी सिरियाली सरकारको आलोचना गर्नुभएको छ ।
उहाँले सिरियामा भीडन्त अन्त्य गर्न पनि आह्वान गर्नुभयो ।
मानवीय सहायता सामग्रीहरु बोकेको सवारी जत्थामा हवाइ हमला गरिएपछि सिरियामा सबै राहत अभियानहरु स्थगित गरिएका छन्। संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै महासचिव बान ले भन्नुभयो,सिरियामा पांच वर्षदेखि जारी गृहयुद्धका क्रममा भएका धेरै जसो गैरसैनिकहरुको मृत्युका लागि सिरियाली सरकार जिम्मेवार छ।
तर उहाँले सिरियाली सरकार र विद्रोही दुवै थरीका समर्थकहरुको पनि आलोचना गर्दै उनीहरुले, त्यहां युद्धको यन्त्रलाई चलायमान राख्न मद्दत पुर्याएको बताउनुभयो ।
उहाँले आफ्नो भाषण सुनिरहेका केहि उपस्थित श्रोताको हात रगतले लतपतिएको भन्दै सिरियामा लडाईं अन्त्य गर्न आह्वान पनि गर्नुभयो ।