मोसुल फिर्ता लिन आईएसविरुद्ध भीषण सैन्य कारबाही सुरु

iraqi_forces
इराक । इराकका प्रधानमन्त्री हैदर अल अबादीले विद्रोही समूह इस्लामिक स्टेटका लडाकुहरुको नियन्त्रणमा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई पुन आफ्नो नियन्त्रणमा लिनका लागि भीषण सैन्य कारबाही शुरु भएको बताउनुभएको छ ।
मध्यरात सरकारी टेलिभिजनमार्फत गरिएको सम्बोधनमा प्रधानमन्त्री अबादीले अब कारबाहीको समय आएको र ठूलो जितको क्षण नजिकिएको बताउनुभयो।
कुर्दहरुको पेशमेर्गा लडाकू समूह, इराकी सरकार र सम्बद्ध फौजबाट भएको सो धेरै पर्खाई गरिएको आइएसविरुद्धको हमलालाई अमेरिकी नेतृत्वको गठबन्धनको समर्थन रहेको छ।
मानवीय सहायता समूहहरुले उक्त क्षेत्रमा ठूलो संख्यामा गैरसैनिकको हताहती हुनसक्ने चेतावनी दिएका छन्।
मध्यरात सरकारी सञ्चारमाध्यमबाट उक्त घोषणा गर्दै प्रधानमन्त्री अबादीले भन्नुभयो, म आज घोषणा गर्छु ‘डाइस’को हिंसा र आतंकबाट मुक्ति दिनका लागि कारबाही शुरु भएको छ। अब ठूलो जितको क्षण नजिकिएको छ।
सुन्नीहरुको बाहुल्यता रहेको मोसुल शहरमा केवल सरकारी फौजमात्रै प्रवेश गर्नसक्ने पनि उहाँले बताउनुभयो।
इस्लामिक स्टेटले तीब्र हमला गर्दै मोसुलसहित पश्चिम इराकको ठूलो भूभागलाई सन् २०१४ मा आफ्नो कब्जामा पारेको थियो।
मोसुल, उक्त विद्रोही समूहको इराकमा रहेको महत्वपूर्ण र बलियो पकडको क्षेत्र हो।
त्यसको धेरै क्षेत्रलाई अहिले पुन सरकारी नियन्त्रणमा लिइएको छ।
अमेरिकी लडाकूविमानहरुले मोसुल सहरमा आक्रमण गरिरहेका छन्।
इराकका सेनाले महिनौंसम्म त्यहाँ ठूलो हमलाको लागि तयारी गरिरहेका थिए।
उक्त शहरको नियन्त्रण गुमाउनुले इराकमा इस्लामिक स्टेटको हारको संकेत गर्ने अधिकारीहरुले बताएका छन्।

कात्तिक १ गते ।