मुखर्जीले पनि सबैलाई मिलाएर संविधान कार्यान्वयन गर्नु भनेर निर्देशन दिएर जानुभयो—
महेन्द्रबहादुर पाण्डे, पूर्व परराष्ट्रमन्त्री

भारतीय राष्टपति प्रणब मुखर्जी तीन दिने राजकीय भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । उहाँको नेपाल भ्रमणको सन्दर्भलाई लिएर विभिन्न खाले टिकाटिप्पणी भएका छन् । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उहाँको भ्रमणलाई कसरी लिनुभएको छ । मैत्रीन्युज डटकमसँग यसरी खुल्नुभयोः
भारतीय राष्ट्रपति प्रणब मुखर्जी तीन दिने राजकीय भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । उनको नेपाल भ्रमणलाई तपाईँले कसरी लिनुभएको छ ?
नेपाल र भारत दुबै मुलुक मित्रराष्ट्र हुन् । यी दुबै मुलुक सार्वभौमसत्ता सम्पन्न मुलुक पनि हुन् । दुई देशमा संसदीय राजनीतिक प्रणाली लागु भएको छ । भारतमा अलिक अघि नै र नेपालमा चाँहि भर्खरै लोकतान्त्रिक गणतन्त्र स्थापना गरेपछि र संविधान जारी भएपछि त्यसले संस्थागत हुने अवसर प्राप्त गरेको छ । दुबै देशमा भएको राज्यप्रणाली अनुसार सरकार प्रमुख प्रधानमन्त्री र राष्ट्र प्रमुख राष्ट्रपति छन् । यी सबै कुरा दुई देशबीचको समानता हो र दुबै देशको संविधानले पनि यही व्यवस्था गरेको छ । यसरी हेर्दा भ्रमण स्वाभाविक छ ।
लामो समयपछि नेपाल भ्रमणमा भारतका उच्च तहका व्यक्ति आउनुलाई चाहिँ कसरी लिनुभएको छ ?
भारतको ‘हाइलेवल’को यो भ्रमण १८ वर्ष पछि भएको हो । यो भ्रमण आवश्यक थियो । त्यसैले यो भ्रमण हुनु आफैमा राम्रो कुरा हो । तर, राष्ट्रपतिको भ्रमणमा यहाँको सरकारले जुन प्रकारको व्यवस्थापन गरेको थियो । त्यो भने मलाई त्यति उचित लागेको छैन । आजको दुनियाँमा एक राष्ट्रको प्रमुख अर्को राष्ट्रको भ्रमणमा जाँदा सबै छुट्टी गर्नुपर्ने कुरा उचित होइन । भारतका राष्ट्रपति काठमाडौँ आउँदा दुनियाँ नै बन्द गर्ने कुरा उचित होइन । यो प्रवृत्ति चाहिँ अलिक नतमस्तक भयो कि भन्ने लागेको छ । तपाईँको सवारीले हामी नतमस्तक छौँ, हजुरको पाईलो पर्यो भने मेरो दैलो पवित्र हुन्छ भने जस्तै प्रवृत्ति सरकारले देखायो । यसले आफैँमा पनि नेपालको नकरात्मक छवि बन्यो ।
अर्कोकुरा हामीले संविधान जारी गर्दा ताकादेखि नै भारतले केही तत्वलाई काखी च्यापेर व्यावधान सिर्जना गर्ने काम गरेको थियो । संविधान जारी गरेपछि पनि भारतले अघोषित रुपमा नाकाबन्दी लगायो । त्यसले नेपाली जनमानसमा भारतप्रति नकारात्मक धारणा विकास भएको थियो । भूपरिवेष्ठित मुलुकले पाउनु पर्ने पारवहन अधिकार पनि हनन् भयो भन्ने नेपालीमा परेको थियो । त्यो आशंकालाई प्रणब मुखर्जीले चिर्नु पर्ने थियो । त्यो पनि हुन सकेन । यो आफैँमा मुखर्जी भ्रमणको नकरात्मक पाटो हो ।
तेस्रो कुरा जसरी प्रणब मुखर्जीको भ्रमणमा सरकार र अन्य नेताहरु पनि केन्द्रित भए । त्यसले नेपालमा अरु केही विजनेस नै छैन जस्तो देखायो । भ्रमणमा आएका मुखर्जीले पनि नयाँ कुरा केही दिन सक्नुभएन । मुखर्जी वार्ता र छलफलका क्रममा समेत जारी भएको संविधानलाई सबैको सहमतिलाई समेटेर कार्यान्वयन गर् भनेर निर्देशनात्मक रुपमा प्रस्तुत हुनुभयो । त्यो पनि सकारात्मक कुरा होइन । हामी जस्तो स्वतन्त्र राष्ट्रका लागि त्यो सुहाउँदो कुरा होइन । भारतका कतिपय ठाउँमा अहिले पनि द्वन्द्व भैरहेका छन् । ती ठाउँमा त्यस्तो नहोस भनेर हामीले भारतलाई सुझाव वा निर्देशन दिन मिल्छ ? हामीले मिल्दैन भने भारतले किन दिने ? कुनै पनि स्वतन्त्र राष्ट्रका लागि यो मान्य हुँदैन ।
यसरी हेर्दा मुखर्जीको नेपाल भ्रमणले नयाँ र सकारात्मक कुरा दियो भन्नु भन्दा पनि भारत र नेपालको सम्बन्धलाई पहिलाकै बाटोबाट अघि बढाएको हो कि भन्ने अनुभूति भएको छ । भ्रमणबाट जुन अपेक्षा गरिएको थियो त्यो अपेक्षा पूरा भएन । बरु नेपाल सरकारले एउटा देशको राष्ट्रपति आउँदा सारा बाटो नै बन्द गर्नुपर्ने नागरिकलाई सास्ती दिनुपर्नेसम्मको अवस्था नेपालमा रहेछ भन्ने सन्देश विश्वभरी नै दियो । नेपालको राजनीति काठमाडौँमा त निकै आतंकित वातावरण नै रहेछ भन्ने सन्देश समेत विश्वलाई दिएको छ । के काठमाडौँ त्यस्तो आतंकित छ ?
तराई मुखर्जीको भ्रमण हुँदा बरु त्यति कढा भएन । तराई भारतीय सीमा पनि हो । बरु त्यहाँ भारततिरबाटै आतंककारी आउने संभावना हुनसक्थ्यो । त्यहाँ बढी सुरक्षा चाहिन्थ्यो । राजधानीमा किन बढी ? मैले बुझेको छैन । समग्रमा भ्रमण सकारात्मक कुरा भए पनि यहाँको व्यवस्थाप र मुखर्जीको छलफलले भ्रमण हुनु थियो भयो भन्ने जस्तो मात्र बनायो । हामीले यस्ता भ्रमण भै रहुन अहिले नभएका कुरा पछि होलान् भनेर अपेक्षा गर्ने भन्दा बढी केही भएन ।
नेपालमा नाकाबन्दी गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गरेका हुन् । अहिले नेपाल भ्रमणमा आएका राष्ट्रपति मोदीको पार्टी भारतीय जनता पार्टीका नभई भारतीय कांग्रेसका हुन् । भारतीय कांग्रेसले त संसदमा समेत नाकाबन्दीको विरोध गरेको थियो । त्यसैले पनि मुखर्जी भ्रमणलाई सकारात्मक रुपमा लिनु पर्ने होइन र ?
तपाईँले गरेको कुरा ठिकै हो । भारतीय कांग्रेसले संसद्मा कुरा उठाएको पनि सत्य हो । त्यही पार्टीका प्रभावशाली नेता राष्ट्रपतिको हैसियतमा नेपाल आएको पनि सत्य हो । त्यतिमात्र होइन, उनी राष्ट्रपति पदबाट निवर्तमान हुन पनि त्यस्तै सात–आठ महिना मात्र बाँकी छ । यस्तो बेलामा नेपाललाई राम्ररी बुझ्नु भएका व्यक्ति नेपाल भ्रमणमा आउनु सकारात्मक कुरा हो ।
अहिले नेपालका नेताहरुले समेत मेरा अनन्य मित्र भन्दै प्रशंसा गरेका व्यक्ति समेत नेपाल भ्रमणमा आउनु नेपालका लागि राम्रो हो । तर, यति धेरै आशा गरेका नेताले त्यही अनुरुपको छलफल गर्न सक्नु पर्ने थियो र नेपाल र नेपालीलाई विश्वासमा लिन सक्नु पर्ने थियो । त्यो भएन । भारतीय प्रधानमन्त्री मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा उहाँले सकारात्मक सन्देश दिएर जानुभयो । पछि उहाँ भारतीय ‘व्यूरोक्रेसी’का कारण संकिर्ण बन्नुभयो र नेपाल र नेपालीप्रति नै नकरात्मक बन्न थाल्नुभयो । मुखर्जीबाट त्यस्तो खालको नभई दुई देशबीच विग्रिएको सम्बन्धलाई सुधार गर्ने सेतुका रुपमा हेरिएको थियो त्यो भएन ।
भारतले नाकाबन्दी गर्दा देशको प्रधानमन्त्री रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय दूतावासले मुखर्जीसहित बोलाएको भोजमा नगएर नेपाल–भारतबीचको सम्बन्धमा एमाले अझै कठोर छ भन्ने सन्देश दिनुभयो भन्ने आलोचना पनि भएको छ नि ?
मलाई लाग्छ । उहाँ त्यो भोजमा कार्यव्यस्तताका कारण उपस्थित हुन सक्नु भएन । उहाँ त्यसपछिका सबै कार्यक्रममा उहाँ उपस्थिति हुनुले पनि त्यही संकेत गर्छ । त्यो उहाँहरुको सन्दर्भको कुरा भयो । अर्को कुरा भोज खानकै लागि र देखा पर्नेकै लागि सबैथोक छाडेर जानै पर्छ भन्ने पनि केही छैन । उहाँको भारतप्रति नकरात्मक धारण छ भन्ने मलाई लाग्दैन । त्यसैले उहाँलाई भारतप्रति असन्तुष्ट देखाउन सकैले गरेको तर्कलाई सत्य मान्नुपर्छ भन्ने पनि छैन ।
धरै कुरा तपाईँले भन्नुभयो । मुखर्जीलाई स्वागत गर्ने कुरा लम्पसारवाद भयो भन्ने कुरा पनि आयो । जहाँसम्म राष्ट्रपति र प्रधानमन्त्री नै भारतीय राष्ट्रपतिलाई लिन र छाड्न विमानस्थलसम्म नै जाने कुरा कत्तिको सान्दर्भिक होला ?
राष्ट्रपतिलाई आफ्नो देशको भ्रमणमा आउँदा राष्ट्रपतिले नै स्वागत र विदाई गर्ने चलन हुँदै नभएको होइन , छ । तर, राष्ट्रपति, प्रधानमन्त्री सबै विमानस्थल नै गएर स्वागत र विदाई गर्ने कुरा त्यति सान्दर्भिक हो जस्तो मलाई लाग्दैन । विमानस्थलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, अन्य मन्त्रीहरु पनि गएको देखेर मलाई त प्रचण्डजीले क्याविनेटका सबै मन्त्रीलाई लाइन लागाएर उभ्याउनु हुने हो कि भन्नेसम्मको चिन्ता लागेको थियो । अझ प्रचण्डजी त अलिक भावुक व्यक्ति पनि हो । १२ बुँदे सम्झौतामा तपाईँको योगदान थियो भनेर उहाँले मखुर्जीलाई १८ वर्षपछि नेपाल भ्रमणमा आउनु भयो भनेर १८ केजीको माला पहिराउनु हुने को कि भन्ने समेत चिन्ता लागेको थियो । त्यो धन्न गर्नुभएन ।