गाम्बियाका राष्ट्रपतिलाई सत्ता छाड्न दिएको समयसीमा समाप्त,सैन्य कारबाहीको तयारी

गाम्बिया । द गाम्बियाका राष्ट्रपति याया जाम्मेलाई सत्ता छोड्न दिइएको समायावधि सकिए पनि उहाँले आफ्नो अडानमा केही परिवर्तन नगरेको बताइएको छ।
गाम्बियाको सीमा क्षेत्रमा रहेको सेनेगलको सेनाले पश्चिम अफ्रिकी सैन्य फौज चुनावका विजेता याड्मा ब्यारोलाई सत्ता हस्तान्तरण गराउनका लागि अग्रसर भएको बताएको छ।
ब्यारोलाई सत्ता हस्तान्तरण गर्नका लागि पश्चिम अफ्रिकी नेताहरुले जाम्मेलाई मध्यरातसम्मको समय दिएका थिए, जुन बिहीबार बिहान सकिएको छ।
अहिले सेनेगलमा रहेका ब्यारोले बिहीबार शपथ लिने तयारी गरेको बताइएको छ तर दुई दशकदेखि सत्ता चलाइरहेका जाम्मेले चुनावी परिणाम अस्वीकार गर्दै सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्नुभएको छ।

राष्ट्रपति जाम्मेलाई चुनावी हार स्वीकार गर्न र सत्ता छोड्न दबाब दिने प्रयासस्वरुप सेनेगलले आफ्ना सैन्य फौजलाई ग्याम्बियाको सीमा क्षेत्रमा पठाएको हो।
ग्याम्बियामा सत्ता हस्तान्तरण गराउनका लागि सेनेगलले कारबाहीको नेतृत्व गरेको छ भने उसलाई नाइजेरिया र पश्चिम अफ्रिकी अन्य मुलुकले सघाइरहेका छन्।