संशोधन प्रस्तावका पक्षमा मतदान नगर्ने प्रष्ट अडान

काठमाडौँ । अखण्ड नेपाल पार्टीले मन्त्री पदका लागि विचार नै बेचेको आरोप लागिरहेका बेला सो पार्टीले भने आफ्नो विचार र सिद्धान्तबाट अलग नभएको प्रतिक्रिया दिएको छ । सीमांकन हेरफरसहितको संविधान संशोधन प्रस्तावका पक्षमा एक सिट रहेको अखण्ड नेपाल पार्टीले मतदान गर्ने हो कि भन्ने चर्चा चलिरहेका बेला सो पार्टीका प्रवक्ता एवं सचिव डा। प्रदीप ढकालले यो सम्भव नभएको दाबी गर्नुभएको छ । उहाँले ५ बिकास क्षेत्रलाई नै ५ प्रदेश बनाउने पार्टीको धारणामा कुनै तलमाथि नभएको दाबी गर्नुभएको हो । अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त भएसँगै उहाँले ढकालले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । ‘अखण्ड नेपाल पार्टीले संघीयतालाई स्वीकार गर्दै ५ बिकास क्षेत्रलाई नै ५ प्रदेश बनाउ भनेर संसद र सडकमा आफ्नो धारणा स्पष्ट गरेको छ,’ उहाँले भन्नुभएको छ्, ‘हामीले पाएको मतले हाम्रो धारणा अनुरुपको संविधान बनाउन नसकेको यथार्थ हो । हिमाल, पहाड र तराई समेटेर बन्ने प्रदेश बाहेक अन्य कुनै पनि प्रकारको सीमांकनको हामीले बिरोध गरेका छौँ । सप्तरीदेखि पर्सासम्मको प्रदेश होस् वा नवलपरासीदेखि बर्दियासम्मको भूभागलाई प्रदेश प्रस्ताव गरिएको होस्, हामीले असहमति र विरोध गरेका छौँ र गरिरहने छौँ ।’
उहाँले आफ्नो पार्टीले पेश गरेको संघीयताको मोडलसँग कहीँ कतै मेल नखाने पनि प्रष्ट पार्नुभएको छ । ‘हामीले प्रस्तावित २ नम्बर प्रदेशमा पहाड र हिमाल मिसाउ भनेर अनुनय–बिनय गर्दा ‘हैन यही प्रदेश दिएर निश्चित समूहको चित्त बुझाउने हो’ भन्दै ती भूभाग र त्यहाँका जनताप्रति अन्याय गरेका थिए,’ उहाँले भन्नुभएको छ्, ‘अझै पनि समय छ । सबै मिली ५ विकास क्षेत्रलाई ५ प्रदेशमा रुपान्तरण गर्नका लागि सँगै आवाज उरालौँ ।’ उहाँले धारणा र लक्ष्यमा पार्टी दृढ रहेको पनि दाबी गर्नुभएको छ । ‘पार्टी अखण्ड नेपाल पार्टीप्रति सद्भाव व्यक्त गर्दै कतै यो पार्टी पनि बजारको बस्तु त भएन भन्ने आशंका गर्नु भएका मित्रहरु निर्धक्क हुनुहोस्,’ उउहाँले भन्नुभएको छ, ‘हामी हाम्रो धारणा र लक्ष्यमा दृढ छौँ ।’