एमाले निकट कर्मचारी संगठनका नेता भन्नुहुन्छ–‘राष्ट्रियताका विरुद्ध कोही लाग्छ भने कार्यालय बन्द गरेर सडकमा आउँछौँ’

maitrinews

काठमाडौँ । नेकपा (एमाले) निकटका सरकारी कर्मचारीहरुले अन्य संगठनका कर्मचारीहरुलाई समेत चुनौती दिदैँ कार्यालय समयभित्र कुनै पनि सांगठनिक कार्यक्रम र गतिविधि नगर्ने घोषणा गरेका छन् । एमाले निकटका सरकारी कर्मचारीहरुको छाता संगठन नेपाल निजामति कर्मचारी संगठनले यस्तो निर्णय गरेको हो ।
नेपालगञ्जमा सम्पन्न दसौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकालकै सुरुमा यस्तो निर्णय गर्ने आँट गरेको हो । माघको १४, १५ र १६ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेपछि अन्य राजनीतिक दलका सरकारी कर्मचारीलाई पनि नैतिक दवाव परेको छ । पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केदारप्रसाद देवकोटाले यस्तो जनकारी दिनु भएको हो । ‘अबदेखि संगठनले आयोजना गर्ने सांगठनिक कार्यक्रम र एवं गतिविधिहरु कार्यालय समयमा नगर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘कार्यालय समयमा सेवाग्राहीलाई सेवा दिनु पर्ने भएकाले सांगठनिक कार्यक्रम र एवं गतिविधिहरु कार्यालय समय अर्थात १०–५ भित्र नगर्ने निर्णय गरेको हो ।’ उहाँले आफूहरु मात्र होइन सबै सरकारी कर्मचारी कार्यालय समयम कार्यालयको कुर्सीमा भेटिनुपर्छ भन्ने मान्यतामा रहेको बताउनुभयो । ‘सेवाग्राही सेवा लिन कार्यालय पुग्दा कर्मचारी कुर्सीमा अनिवार्य भेटिनुपर्छ । हामी देशभरी नै यो अभियान चलाउँछौँ । हाकिमहरुलाई पनि यही दवाव दिन्छौँ,’ उहाँले भन्नुभयो ।
उहाँले देश विभाजन गर्ने धम्की दिनेहरुका विरुद्धको आन्दोलन भने कर्मचारीहरु सहभागी हुने बताउनुभयो । ‘राष्ट्रियताका सवालमा सरकारी कर्मचारी टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ उनले भने, ‘कसैले राष्ट्र नै टुक्र्याउने धम्की दिन्छ र त्यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने भयो भने हामी मात्र होइन सबै कर्मचारीलाई कार्यालयमा ताला लगाएर सडकमा उतार्छौ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो बेलामा कारबाही हुन्छ भने कारवाही भोग्न तयार छौँ ।’
त्यसैगरी बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय पनि गरेको छ ।