बन्चरे डाँडामा दीर्घकालीन फोहर विस्थापनस्थल विकास गरिने

maitrinews

 

काठमाडौँ, २७ माघ । नुवाकोट र धादिङको सिमाना बन्चरे डाँडामा दीर्घकालीन फोहर विस्थापनस्थल विकास गर्ने सहमति भएपछि ओखरपौवा डम्पिङसाइट समन्वय सङ्घर्ष समितिले आज विरोधका कार्यक्रम स्थगन गरेको छ ।

यहाँ आज काठमाडौंँ महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र सङ्घर्ष समितिका तर्फबाट अध्यक्ष विश्वास डिसीलगायतबीच बसेको बैठकमा सो सहमति भएपछि आगामी विरोधका कार्यक्रम स्थगन गरिएको हो ।

बैठकले बन्चरे डाँडामा दीर्घकालीन ‘ल्यान्डफिल साइट’ विकास गर्न आवश्यक तयारी गरी सञ्चालनमा ल्याउने, विद्यमान ल्यान्डफिल साइटको व्यवस्थापनमा प्रभावकारिता बढाउने र प्रभावित क्षेत्रको विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका सबै नगरपालिकाको सहभागिता रहने गरी ल्यान्डफिल साइट विकास तथाा व्यवस्थापन परियोजना सञ्चालनमा ल्याउन सम्बद्ध निकायमा आग्रह गर्ने सहमति भएपछि सङ्घर्ष समितिले फागुन १ गतेदेखि फोहोर बोक्ने सवारी प्रवेशमा रोक लगाउने विरोधको कार्यक्रम स्थगन गरेको हो ।

बैठकमा ल्यान्डफिल साइटको प्रत्यक्ष प्रभावित क्षेत्र निर्धारण गर्न नेपाल विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई आग्रह गर्ने निर्णयसमेत भएको छ ।