महाशिवरात्रिमा पूर्वराजा ज्ञानेन्द्रव्दारा वीरगन्जमा पूजाअर्चना–राजावादीदेखि कांग्रेस, एमाले, मोर्चाका नेताहरुसंग पनि ज्ञानेन्द्रको भेटघाट

Gyanendra Shah 1

वीरगन्ज। पूर्वराजा ज्ञानेन्द्र शाहले महाशिवरात्रिको अवसरमा शुक्रबार वीरगन्जस्थित अलखिया मठमा विशेष पूजा–अर्चना गरेका छन् । बाराको सिमराबाट स्थलमार्ग हुँदै अपराह्न साढे ४ बजे वीरगन्ज पुगेका पूर्वराजा शाहले अलखिया मठमा विशेष पूजा–अर्चना गरेका हुन्।

अलखिया मठमा पूजा–अर्चना गरिसकेपछि पूर्वराजा शाह मुख्यसडक हुँदै पैदलै माइस्थान मन्दिरमा पुगेर पूजाआजा गरेका थिए । अलखिया मन्दिरबाट माइस्थान मन्दिरम्म हिँडेर जाँदा स्थानीयले पूर्वराजा शाहको भव्य स्वागत गरेका थिए।

पूर्वराजा शाहले सर्वसाधारणसँग हात मिलाउँदै हिँडेकोबेला राजावादीहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारासमेत लगाएका थिए।अलखिया मठबाट माइस्थान मन्दिर आउनेक्रममा राजावादीहरुमात्रै नभइ नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी दलका जिल्लास्तरका नेताहरुले पनि पूर्वराजा शाहसँग भेट गरेका थिए।

गत हप्ता सिमरा आएका पूर्वराजा शाहले सिमरा बसेर तराईका विभिन्न जिल्लाको भ्रमण तथा मठ–मन्दिरहरुमा पूजाआजा गर्दै आएका छन् ।
प्रकाशन मिति–२०७३ साल फागुन १३ गते शुक्रबार ।