बागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

हेटौँडा, १२ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (मङ्गलबार) सार्वजनिक गर्दैछ। प्रदेशसभाको आज साँझ ५:०० बजे बस्ने विशेष बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार, प्रदेश प्रमुखले सम्बोधनमार्फत सरकारका भावी योजना, प्राथमिकता र नयाँ कार्यक्रमहरू सदनसमक्ष पेस गर्नुहुनेछ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि आजै बिहान बस्ने प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ (कर प्रस्तावबाहेक) माथि छलफल हुनेछ।

गत सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले उक्त प्रस्ताव सदनमा टेबुल गर्नुभएको थियो। आजको छलफलमा सांसदहरूले उठाएका प्रश्न र दिएका सुझावका आधारमा सरकारले आगामी असार १ गते बजेट ल्याउने तयारी गरेको छ।
मन्त्रालयहरूको बजेट सिलिङ, चालू आयोजनाहरूको निरन्तरता र नयाँ योजनाहरूको छनोटका विषयमा आजको छलफल केन्द्रित रहने सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रम र बजेटको सिद्धान्तमाथिको यो बहसले प्रदेशको आगामी आर्थिक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।