मोर्चाको बन्दले एमालेको मेची—महाकाली अभियान रोकिन्न

maitrinews

झापा । नेकपा एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान नेपाल एकीकरणको भाग–२ भएको पनि दाबी गर्नुभएको छ । झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा यस्तो दाबी गर्नुभएको हो । ‘पृथ्वीनारायण शाहले राज्य एकीकरणको अभियान सुरु गरेका थिए । त्यसपछि उनका उत्तराधिकारीले त्यो अभियान पूरा गर्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘अहिले एमालेले नेपाल एकीकरण भाग–२ को सुरु गरेको छ ।’

मधेसी मोर्चाले जस्तै अवरोध गरे पनि अभियान नरोकिने दाबी गर्दै उहाँले अभिया कुनै हालतमा पनि नरोकिने दाबी गर्नुभयो । उहाँले एमाले सप्तरी जिल्लाका अध्यक्ष प्रतापनारायण चौधरीमाथि हातपात गर्ने काम भएको भन्दै त्यस्ता धम्कीले अभियान नरोकिने स्पष्ट पार्नुभयो ।
उहाँले अभियानको पहिलो दिन एक लाख पचास हजार मानिस सहभागी भएको दाबी पनि गर्नुभयो । उहाँले अभियानका क्रममा सयौँ कार्यकर्ता कांग्रेसका नेताहरुकै आग्रहमा उनीहरुकै घरमा अवासको व्यवस्था भएको पनि दाबी गर्नुभयो । उहाँले एमालेको राष्ट्रिय अभियान छापामार शैलीको अभियान नभएको भन्दै अवरोधको धम्की नदिन पनि सुझाव दिनुभयो ।
झापाको काकडभिट्टाबाट सुरु भएको पहिलो दिनको अभियान दमक आएर टुङ्एिको छ ।