भक्तपुरका यातायात व्यवसायीले साझा बस भित्र्याउन नदिने चेतावनी

भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले सरकारको नियमविपरीत सिन्डिकेट लाद्दै साझा बसलाई भक्तपुर भित्रयाउन नदिने भएका छन् ।
भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिँदै सिन्डिकेट लाद्ने बताएका हुन् ।
आज कोटेश्वर पूर्व यातायात समन्वय समितिले रफत सञ्चार क्लवमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरुले साझा यातायात भक्तपुरमा सञ्चालनमा आए जिल्लाका १७ वटा रुटमा चलाएका बस सेवा बन्द गराउने बताएका हुन् ।
पत्रकार सम्मलेनमा भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समितिअन्र्तगत १७ रुटका ३३७ गाडी सञ्चालनमा रहेकोमा साझा आए यी सेवाहरु बन्द गर्ने बताउनुभयो ।
समितिले भक्तपुरमा साझाले दिएकै जस्तो सुविधा दिएर बस सञ्चालन गर्ने तयारी गरेको बताउँदै उहाँले यसका लागि नयाँ ४० वटा बस ल्याउने तयारी गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताका लामा ४० वटा बस ल्याउन लागेको बताउनुभयो ।
काठमाडाँैको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउन लागेको आरोप लगाउँदै उहाँले भक्तपुरका जनताको समस्या साझाले समाधान नगरी भक्तपुरकै बसले समाधान गर्ने बताउनुभयो ।
भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू, राजन कसलवटले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउन साझा बस भित्रयाउन खोजेको आरोप लगाउनुभयो ।