प्रचण्ड सरकारले आठ महिनामा केही पनि काम गर्न सकेन : ओली

पोखरा । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रुपबहादुर कुमाल, अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य अनिरुद्र थापासहित स्वतन्त्र बुद्धिजीवीहरु डा. अनिल थापा लगायात १३ सय भन्दा बढी नेता तथा कार्यकर्ता एमालेकमा प्रवेश गरेका छनु । नेकपा एमालेको पोखरा आमसभामा ती नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अब नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले गत वर्ष चीनसँग पारवाहन सम्झौतामार्फत नाकाबन्दीको जड समाप्त पारेकोले अब नेपाललाई कसैले नाकाबन्दी लगाएर दुःख दिन नसक्ने ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले सत्तारुढ नेपाली कांग्रेस विकास निर्माणको विषयमा चासो नदिने र हुनेवाला भनिएका प्रधानमन्त्री आफ्नै जिल्लाबासीलाई प्रहरी प्रमुख बनाउने काममा लागेकाले फुर्सदमा नरहेको उल्लेख गर्नुभयो ।
देशका प्रमुख संवैधानिक निकायहरु खाली रहेको बेला राजनीतिक निकास दिन सरकार चुकेको ओलीको कथन थियो । गठन भएको आठ महिनामा सरकारले कुनै उपलब्धि देखाउन नसकेको बताउँदै ओलीले भन्नुभयो, ‘अहिले लोडसेडिङ अन्त्य गरेको भनी सरकारमा बस्नेहरु मख्ख पर्दै प्रचार गरिरहेका छन् । तर, हाम्रै सरकारको पालामा लोडसेडिङ अन्त्य गर्ने कार्यक्रम र योजना बनेर छिमेकी देशहरुसँग सम्झौता भएको लुकाईरहेका छन् ।’
अध्यक्ष ओलीले कास्की र आसपासका जिल्लाहरुलाई केन्द्रमा राख्दै आफ्नो नेतृत्वको सरकारले पोखरा विमानस्थल निर्माणका लागि चीन सरकारसँग पहल गरेको र गत वर्ष शिलान्यास समेत भएको स्मरण गर्दै कास्की क्षेत्र र समग्र देश विकासका लागि नेकपा एमालेको विकल्प नभएको बताउनुभयो ।
मधेसी मोर्चाको माग उल्लेख गर्न लायक नभएको भन्दै उहाँले मोर्चाले राजनीतिको आवरणमा अपराध गरिरहेको बताए । अध्यक्ष ओलीले मधेसमा भईरहेको अपराधीकरण सरकारले नियन्त्रण गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा कांग्रेस, माओबादी केन्द्र, राप्रपा, अखण्ड नेपाल पार्टी लगायत त्यागेर एमाले प्रवेश गर्नेहरुको नाम पढ्दा करिब दुई घण्टा बितेपछि कार्यक्रमलाई एमाले जिल्ला अध्यक्ष कृष्ण थापा र अध्यक्ष ओलीले मात्र सम्बोधन गर्नुभयो ।
चैत १९ गते ।