संविधान संशोधनको नयाँ विधेयक स्वीकार्य छैन – महासचिव पोखरेल

 

काठमाडौँ, ३१ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको नयाँ विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा महासचिव पोखरेलले संविधान संशोधनको नयाँ विधेयक पनि राष्ट्रिय हित र सामाजिक सद्भावविपरीत भएकाले स्वीकार्य नभएको बताउनुभएको हो ।

आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै एमाले संविधान कार्यान्वयनको प्रबल हिमायती हुन चाहेको र यो कार्यसूची सबै दलको हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘संविधान कार्यान्वयन र समृद्धि राष्ट्रको कार्यसूची हो । नेपाल आफ्नो स्वाभिमानका साथ कुनै छिमेकी मुलुकसँग अडेस लगाएर होइन, आँखामा आँखा जुधाएर आफ्ना हितका विषयमा कुरा गर्न तयार हुनुपर्छ भन्दा अन्धराष्ट्र भनिने प्रवृत्तिको अन्त्य हामी चाहन्छौ ।’

राससको आवश्यकता सधैँ रहिरहने र यसले आफूलाई समयसापेक्ष र पूर्वाग्रहरहीत बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

राससका अध्यक्ष कुलचन्द्र बाग्लेले राससका कर्मचारीको निरन्तर र रचनात्मक क्रियाशीलताले गर्दा नै राससको समृद्धि भएको बताउनुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले राससले व्यावसायिकतालाई जोगाउँदै तथ्यको आधारमा सत्य स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राससका निवर्तमान महाप्रवन्धक निर्मला आचार्यले राससको भविश्य राम्रो रहेको र आगामी दिनमा यसलाई बचाउनु सबैको साझा कर्तव्य रहेको बताउनुभयो ।

सम्मान र पुरस्कार प्रदान

कार्यक्रममा राससका वरिष्ठ कार्यकारी सम्पादक श्यामप्रसाद रिमाललाई ‘प्रेस चौतारी नेपाल, रासस शाखा सम्मान’ र रु पाँच हजार राशिको रासस प्रेस चौतारी पुरस्कार राससका पर्वत (फलेवास) प्रतिनिधि लक्ष्मी (लक्ष्मण) सापकोटालाई प्रदान गरियो ।

राससका तत्कालीन अध्यक्ष तथा चौतारीका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाइँ र नायब महाप्रवन्धक सुरेन्द्रबहादुर नेपालीले पुरस्कार स्थापनामा आर्थिक सहयोग गर्नुभएको हो ।

सम्मानित व्यक्तित्व वरिष्ठ कार्यकारी सम्पादक रिमालले भाषाको निखारतालाई ख्याल गर्दै राससले आगामी वैशाख ३१ गते हुने निर्वाचनको लागि समाचारको माध्यमबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

यसैगरी निवर्तमान महाप्रवन्धक आचार्यलाई सेवाबाट अवकाश भएकामा शाखाले विदाई सम्मान गरेको थियो ।

शाखाका संस्थापक अध्यक्ष प्रकाश सिलवालले योग्यता र क्षमताका आधारमा पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

शाखाका अध्यक्ष कृष्णराज गौतमले बदलिंदो अवस्थाअनुसार राससको समाचार सेवालाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । रासस ।