हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयमा आयोगले पुनर्विचार नगरेपछि राप्रपाव्दारा आन्दोलन घोषणा
काठमाडौँ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’ हटाउने निर्णय निर्वाचन आयोगले पुनर्विचार नगरेको निष्कर्ष सहित राप्रपाले थप आन्दोलन घोषणा गरेको छ । राजधानीको धुम्बाराहीास्थित पार्टी कार्यालयमा आज विहान बसेको पदाधिकारी बैठकले निर्वाचन आयोगमा धर्ना दिने सहितका आन्दोलनका थप कार्यक्रम तय गरेको हो । निर्णय पुनर्विचार गर्न बुझाएको ज्ञापन पत्रको जवाफ नआएको भन्दै निर्वाचन आयोगलाई पर्सी आइतबार स्मारण पत्र दिने, कानुनी उपचार खोज्ने विषयमा कानुन व्यवसायीसँग छलफल गर्ने र ५ गते सबै स्थानीय तहमा आयोगको निर्णयको प्रतिलिपि जलाउने निर्णय भएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यस्तै वैशाख ८ गते निर्वाचन आयोगको केन्द्रीय कार्यालयसँगै ७२ जिल्लामा विरोध सभा गर्दै जिल्ला निर्वाचन कार्यालयमा एक घन्टा धर्ना दिने निर्णय भएको पाठकले बताउनुभयो । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने शक्ति प्रदर्शन सहित धर्ना दिने राप्रपाले निर्णय गरेको छ । आफ्नो विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाएको विरोधमा राप्रपाले यसअघि पनि आयोगमा धर्ना दिने क्रममा भएको झडपमा राप्रपाका थुप्रै नेता कार्यकर्ता घाइते भएका थिए ।
बैशाख १ गते ।