सिंहदरबार पश्चिम मोहडाको अवलोकन

काठमाडौं, बैशाख ६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, सिंहदरबार पुनर्निर्माण सचिवालयका बरिष्ठ अधिकारीहरुले विनाशकारी भूकम्पद्धारा क्षतिग्रस्त सिंहदरबारको पश्चिमी खण्डको अवलोकन गर्नुभएको छ । सिंहदरवारको यो खण्ड नभत्काएर प्रबलीकरण गरि पुनर्निर्माण गर्ने निर्णय अनुसार यो अवलोकन गरिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द राज पोखरेल, कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतका अधिकारीहरुले स्ट्रक्चरल इञ्जिनियरहरु तथा जापानी विशेषज्ञहरुसहित बुधबार दिउ“सो अवलोकन गरे । टोलीले सिंहदरबारको पश्चिमी खण्डमा रहेको स्टेट हल तथा बेलायती बैठकको विस्तृत अवलोकन गर्दै प्रबलीकरणको सम्भाव्यतावारे प्राम्भिक अध्ययन समेत गरेको छ ।
अवलोकनपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द राज पोखरेलले सरसर्ती हेर्दा प्रबलीकरण गर्न सकिने अवस्था देखिएको बताउनुभयो । पोखरेलले निकै कलात्मक एवं ऐतिहासिक महत्वको सिहदरवारलाई सकभर नभत्काएरै प्रवलीकरण गरि पुनर्निर्माण गर्न सके सम्पदा संरक्षणमा ठुलो योगदान पुग्ने उल्लेख गरे । स्ट्रक्चरल इञ्जिनियरहरुसहित पुरात्वविद्, संरक्षणविद्, इतिहासविद् लगायतका विज्ञहरुको सुझावलाई मनन् गर्दै अन्तिम निर्णय गरिने उनले जानकारी दिए ।
प्राधिकरणले सिहदरवारको पश्चिमी मोहडातर्फको भाग प्रवलीकरण गरि पुनर्निर्माण गर्न कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्वमा उपसमिति बनाएको थियो । सोही अनुसार पुनर्निर्माण अघि बढाउन बुधवार अवलोकन गरेको हो ।
पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले पनि अवलोकनका क्रममा प्रबलीकरण गर्न सकिने स्थिति देखिएको बताए । बाहिरबाट ठूलो क्षतिजस्तो देखिए पनि हलहरुमा सोचेभन्दा कम क्षति देखिएको र प्रबलीकरण गरेर र्निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।
अवलोकन टोलीमा रहेका जापानी परामर्श कम्पनी निप्पोन कोइका कार्यकारी प्रमुख सेनरो कुराकाले प्रबलीकरण गर्न सकिने संभावना देखिएको बताए । तथापि, यसका लागि आधुनिक प्रविधिको प्रयोग भने गर्नुपर्ने उनको राय छ ।
सिंहदरबारको पश्चिमी खण्डमा रहेका स्टेट हल (ब्यांक्वेट हल) तथा बेलायती बैठक राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा निर्माण गरिएको हो । ‘नियो—क्लासिकल‘ वास्तु संरचनामा बनेको स्टेट हलमा बिदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सम्मानमा दिवा तथा रात्री भोज दिइन्थ्यो ।
२०३० साल असार २५ गते सिंहदरबारमा भएको आगलागीबाट विभिन्न भागमा क्षति पुगेपनि पश्चिमीतर्फको यो भाग जोगिएको थियो ।

फोटो क्याप्सन ः प्राधिकरणका प्रमुख कार्यकारी डा. गोविन्दराज पोखरेलसहि पुरात्वविद्, संरक्षणविद्, बिदेशी स्ट्रक्चरल इञ्जिनियरहरुसहितको टोली, भूकम्पबाट क्षति पुगेको सिहदरवारको पश्चमी भागको अवलोकन गर्दै, साथै क्षतियुक्त भवनको फोटोपनि संलग्न गरिएको छ ।