३३३ पुस्तकका लेखक र ‘यार’हरुलाई सम्मान

Maitrinews

काठमाडौँ । कार्यक्रमका अन्तिम वक्ता थिए तारानाथ शर्मा । यसअघि उनलाई मञ्चमा उक्लिन नै गाह्रो परेको थियो । जीवा लामिछाने र डा। रवीन्द्र समीरले पाखुरामा समातेर मञ्चसम्म पु(याए । उद्घोषक अमर न्यौपानेले मन्तव्य राख्न तारानाथ शर्माको नाम उच्चारण गर्दा उनले बोलाएको राम्ररी सुनेनन् । ढुक्क हुन छेउमा रहेका धनराज गिरीलाई सोधे, ‘मलाई बोलाएको हो रु’ पोडियमसम्म जान उनी उठ्न खोजे । निकै गाह्रो भइरहेको देखिन्थ्यो ।

‘यहीँबाट बोल्नुहोस्,’ धनराज गिरीले आग्रह गरे । ‘यहीँबाट त अहिले पनि बोलिरहेको छु नि १ म त्यहीँ गएर बोल्छु,’ उनले जवाफ दिए । पोडियममा उभिएपछि उनले अघिल्ला वक्ताले फरर बोल्दा आफूले नबुझेको गुनासो गरे । भने, ‘अचेल कान कम सुन्छु, पहिला त खरर बोल्थेँ, अहिले अरूले त्यसरी बोल्दा बुझ्दिनँ, अब चाहिँ बिस्तारै बोल्नुहोला है ।’

पद्मश्री साधना सम्मान तथा पद्मश्री साहित्य पुरस्कार वितरण समारोहको दृश्य थियो यो । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तारानाथ शर्मालाई दुई लाख राशिको पद्मश्री साधना सम्मान दिएको छ । विसं ०७४ को पद्मश्री साहित्य पुरस्कार भने संस्मरणात्मक कृति यारका लागि नयनराज पाण्डेले प्राप्त गरे ।

८४ वर्षीय तारानाथ शर्माका तीन सय ३३ पुस्तक प्रकाशित छन् । शर्माले अब भने पुस्तक लेख्न नसक्ने बताए । ‘म लेख्ने मान्छे, अझै लेखिरहूँजस्तो लाग्छ, तर लेख्न थालेपछि हात काम्छ, अब लेख्न सक्दिनँ,’ उनले भने । आफूलाई सम्मानित गरेकोमा ‘मख्ख परेको’ उनले बताए । उनको पहिलो कृति विसं ०१८ सालमा प्रकाशित भएको थियो । निबन्धसंग्रह ‘नमस्ते’ रत्न पुस्तक भण्डारले प्रकाशित गरेको थियो । उनका यात्रा निबन्धलाई नियात्रा नामाकरण गर्ने भाषाशास्त्री बालकृष्ण पोखरेल थिए । पोखरेल र शर्माले झर्रोवादी भाषिक अभियान चलाएका थिए । उनको ‘बेलाइततिर बरालिँदा’ नियात्राले ०२६ सालको मदन पुरस्कार पाएको थियो ।

समालोचना लेख्दा जेल
इलाममा जन्मिएका तारानाथ शर्माले धुलौटोमा लेखेर अक्षर सिकेका थिए । त्यसपछि उनले रुद्री र चण्डी पढे । अनि वेद पढे । उनी चन्द्रमोहन मिडिल स्कुलमा तीन कक्षामा भर्ना भएपछि अंग्रेजी पढ्न थाले । अंग्रेजी पढाउन काठमाडौँबाट चन्द्रभक्त कसजू इलामको पशुपतिनगर पुगेका थिए ।

उनले मावि तहको पढाइ दार्जिलिङबाट पूरा गरे । वनारसबाट बिए उत्तीर्ण गरेपछि उनी काठमाडौँ आएका थिए । पटना गएर थप अध्ययन गरेपछि अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि गरे ।

शर्माले वनारस हुँदै बालकृष्ण पोखरेल, चूडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहाललगायतसँग मिलेर झर्रोवादी अभियान थालेका थिए । उनको पहिलो समालोचनाको पुस्तक ‘घोत्ल्याइहरू’ ०२१ सालमा प्रकाशित भयो ।

पञ्चायतकालमा मविवि शाहको ‘उसैका लागि’ शीर्षक कविताको समालोचनामा ‘हिन्दी गीतको नक्कल’ भनेर लेख्दा उनलाई तीन महिना जेल हालिएको थियो । त्यसो त बालकृष्ण समको ‘चिसो चुल्हो’ महाकाव्यलाई उनले ‘झुसिलो डकार’ भनेका थिए । तर, पछि समकै कृतिमा लेखिएको समालोचनाको पुस्तक ‘सम र समका कृति’ पुस्तकका लागि ०२९ सालमा उनलाई साझा पुरस्कार दिइएको थियो ।

मेसेन्जरबाट पहिलो जानकारी
रसियन कल्चर सेन्टरको हलमा भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पुराना पुस्ताका साहित्यकार तारानाथ शर्मासँग दुबोको माला लगाएर मञ्चमा बसेका थिए, नयनराज पाण्डे । बधाई दिन बुधबार बिहान फोन गर्दा नयनराज मर्निङ वाकमा थिए । उनले पुरस्कारलाई आफूले सामान्य रूपमा लिएको बताए ।

नयनराजले भने, ‘पुरस्कार पाए पनि मलाई धेरै ठूलो कुरा पाएको जस्तो लागेको छैन, ३५÷३६ वर्षदेखि लेखिरहेको छु, केही पुरस्कार र सम्मान पाइरहेकै छु, त्यसकारण एकदमै एक्साइटेड भएर उफ्रिने काम गरिनँ ।’ आफ्नो लेखनी पुरस्कृत हुँदा गर्व महसुस भने भएको उनले बताए ।

पुरस्कार पाउँदा आफ्नो लेखनीले स्वीकृति पाएको अनुभूति भएको नयनराजले सुनाए । ‘लेखकले पुरस्कारै पाउनका लागि लेख्ने होइन, त्यसमा मरिहत्ते गर्ने पनि होइन,’ उनले भने, ‘तर, कसैले सम्मानपूर्वक पुरस्कृत गर्छ भने त्यसले लेखकलाई ऊर्जा नै दिन्छ भन्ने लाग्छ ।’

नयनराजलाई पुरस्कार पाएको जानकारी दिने पहिलो व्यक्ति खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने नै थिए । करिब डेढ महिनाअघि जीवाले उनलाई मेसेन्जरमा फोन गरे । जीवा विदेश भएकाले मेसेन्जरमा फोन आएको थियो । राति भइसकेकाले नयनराज भने सुतिसकेका थिए । फोनमा जीवाले पुरस्कार दिने निर्णय भइसकेकाले उनको सहमति मागेका थिए ।

पद्मश्री साहित्य पुरस्कार दिने निर्णय गरिसकेपछि सर्जकसँग सहमति लिने नियमित प्रक्रिया हो । उनले सहमति जनाए । त्यसको भोलिपल्ट नै ‘यार’लाई पुरस्कृत गर्ने निर्णय सार्वजनिक भयो ।

१२ वर्षपछि फेरि संस्मरण
पुरस्कार वितरण समारोहको मञ्चमा नयनराजलाई बोलाउनुअघि उद्घोषण गरिरहेका साहित्यकार अमर न्यौपानेले संस्मरणबारे चर्चा गरे । उनले एउटा अनौठो संयोगबारे जानकारी गराउँदै थिए ।

पहिलोपटक विसं ०६३ सालमा पद्मश्री पुरस्कार दिइएको थियो । त्यतिवेला गणेश रसिकको संस्मरण ‘दसगजामा उभिएर’ले पुरस्कार पाएको थियो । त्यसयता कुनै पनि संस्मरणात्मक कृतिले यो पुरस्कार
पाएको थिएन ।

१२ वर्षपछि पुनः संस्मरणात्मक कृति पुरस्कृत भएको अमरले बताए । दर्शकदीर्घाबाट आवाज आयो, ‘१२ वर्षमा खोलो फर्कियो ।’ अमर मुसुक्क हाँसे । अनि नयनराजलाई मञ्चमा बोलाए ।

नयनराज पाण्डेलाई पनि लाग्छ कि संस्मरण विधालाई कम मात्र पुरस्कृत गरिन्छ । त्यसकारण यसपटक आफूलाई भन्दा पनि विधालाई सम्मान गरेको महसुस भएको उनले बताए । हुन त नयनराजको खास विधा आख्यान हो । यसअघि उनका सात उपन्यास र तीन कथासंग्रह प्रकाशित छन् । उनले आख्यानकै लागि राष्ट्रिय प्रतिभा पुरस्कार र मैनाली कथा पुरस्कार पनि पाएका छन् । त्यसो त उनी अहिले पनि आख्यान लेखनकै तयारी गरिरहेका छन् । मधेसको सेरोफेरोमा उपन्यास लेखनको तयारी गरिरहेको उनले जानकारी दिए ।
यारहरूसँगको सम्बन्ध
नयनराज पाण्डेका उपन्यास ‘उलार’ र ‘लू’ निकै चर्चित छन् । ‘निदाएँ जगदम्बा’ कथासंग्रह पनि चर्चामा रह्यो । तर, एक मात्र संस्मरणात्मक कृति ‘यार’ले उनलाई सम्मानित पुरस्कार दिलायो ।

यारका सातवटा संस्मरण उनले चार– पाँच वर्षअघि नै लेखिसकेका थिए । कतिपय पत्रिकामा प्रकाशित पनि थिए । पुस्तक नै निकाल्ने सोच आएपछि उनले १८ वटा नयाँ संस्मरण लेखे । उनको ०७२ सालमा ‘सल्लीपिर’ उपन्यास प्रकाशित भएपछिको एक वर्षमा १८ वटा संस्मरण लेखेर भ्याएका थिए ।

पुस्तकमा राखिएका २५ वटै संस्मरणका २५ जना मूल पात्र उनका कुनै न कुनै समयका साथी हुन् । उनले आफ्ना साथीका बारेमा खुलेर लेखेका छन् । कतिपय तीता अनुभव पनि छन् ।

बाल्यकालका नेपालगञ्जका केही साथीबाहेक अन्यसँग अहिले पनि उनको सम्पर्क हुन्छ । उनीहरूसँग पुस्तकबारे पनि कुरा हुन्छ । आफ्नो पुस्तकलाई लिएर कोही पनि नरिसाएको नयनराजले बताए । ‘सबैले सहज रूपमा लिनुभएको छ, संस्मरणमा इमानदारी हुनुपर्छ भन्ने उहाँहरूको कुरा छ, मैले इमानदार भएर नै लेखेकाले रिसाउने कुरै छैन,’ नयनराजले भने ।

आफूले कसैको चरित्र हत्या गर्न वा नंग्याउन संस्मरण नलेखेको नयनराजको भनाइ छ । बरु आफ्नै कमीकमजोरी खोतलेको उनले बताए । त्यसैले आफूले पात्र बनाएका साथीले पनि सामाजिक सञ्जालमा आफ्नो पुस्तकको प्रचार गरिरहेको उनको भनाइ छ । त्यसो त पुरस्कार वितरण समारोहमा उनले पद्मश्री पुरस्कार आफ्नो मात्र नभई आफ्ना पुस्तकका यारहरूको पनि सम्मान भएको बताए ।

धनराज गिरी स्टाइल
साहित्यकार धनराज गिरी खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका उपाध्यक्ष हुन् । मन्तव्य राख्न आएका उनले भने, ‘म कम झटो बोल्छु, आज हल भरिन्न कि भन्ने डर लागेको थियो, तर तपाईंहरू उभिनुपरेकोमा मलाई चिन्ता लागेको छ, र मनभित्र खुसी पनि छु ।’ हलमा हाँसो गुन्जियो ।

उनले भनेजस्तै रसियन कल्चर सेन्टरको हलमा बस्न ठाउँ नपुगेर दर्शक उभिरहेका थिए । धनराज गिरी अझै बोल्दै गए, ‘धनराज गिरी स्टाइल अझै बाँकी छ‘,’ त्यसपछि उनले लेखनाथ पौड्यालको एक लाइन कवितामा आफ्नो एक लाइन थपेर सुनाए । उनको लाइन जीवा लामिछानेका लागि समर्पित थियो । फेरि हलमा हाँसो गुञ्जियो ।