सर्वोच्च अदालतमा गोला प्रथाबाट इजलास र पेसी

maitrinews

 

काठमाडौँ । सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आजदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात भएको छ । पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।

गतिरोधको ३८ दिनपछि बल्ल बुधबारबाट न्यायाधीशहरु नियमित काममा फर्केका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी र गठन गरेको इजलास बहिष्कारको निर्णय गरेका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पेसी तोकिने भएपछि नियमित इजलासमा बस्दै मुद्दाको सुनुवाइ गर्न लागेका हुन् ।

न्यायपालिका सुधारका लागि गर्नुपर्ने काम के के हुन सक्छ भन्दै न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार सर्वोच्च अदालत लगायत उच्च र जिल्ला अदालतमा पनि तत्कालका लागि गोला प्रक्रिया र कालान्तरमा पूर्ण स्वचालित विधिमै पेसी व्यवस्थापन गर्ने कुरा उल्लेख छ ।