नेपालको बाढीपहिरोप्रति बेलायती राजा चार्ल्स र रानी क्यामिलाद्वारा दुःख व्यक्त
लण्डन । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाले नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। बाढीले पुर्याएको क्षतिबाट आफूहरू ‘मर्माहत’ भएको उल्लेख गर्दै राजदम्पतीले पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको हो।
एक विशेष लिखित सन्देश जारी गर्दै राजा चार्ल्सले नेपाल र बेलायतबीचको ऐतिहासिक र प्रगाढ सम्बन्धको स्मरण गर्नुभएको छ। “संयुक्त अधिराज्य का धेरै नागरिकको नेपालसँग अत्यन्त बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध छ,” सन्देशमा भनिएको छ।
राजा चार्ल्सले आफ्ना प्रियजन गुमाउने परिवार र बेपत्ता भएकाहरूको खबरको पर्खाइमा रहेका आफन्तहरूको पीडाप्रति सहानुभूति प्रकट गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “आफ्ना प्रियजन गुमाउनेहरूप्रति हामी गहिरो सहानुभूति व्यक्त गर्दछौँ र आफ्ना साथीभाइ एवं नातेदारको खबरको प्रतीक्षामा चिन्तित रहेका परिवारहरूको पीडामा हाम्रो साथ छ।”
यसका साथै, राजा चार्ल्सले उद्धार र राहत कार्यमा खटिएका बेला ज्यान गुमाउने सुरक्षाकर्मीहरूको वीरता र कर्तव्यपरायणताको उच्च सम्मान गर्नुभएको छ। उहाँले अरूको ज्यान जोगाउन आफ्नो प्राणको आहुति दिने नेपाल प्रहरी र सशस्त्र बलका कर्मचारीहरूप्रति विशेष श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
संकटको यस घडीमा बेलायत नेपालको साथमा रहेको स्पष्ट पार्दै राजाले भन्नुभएको छ, “सधैँ झैँ, संयुक्त अधिराज्य (बेलायत) आवश्यकतामा परेकाहरूलाई सहयोग र समर्थन गर्न पूर्ण रूपमा तयार छ।”
नेपालमा पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएपछि विश्वभरबाट नेपालप्रति ऐक्यवद्धता र सहानुभूति प्राप्त भइरहेको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरूले पनि नेपालको यो संकटमा दुःख व्यक्त गरिसकेका छन्।