भोटेकोशी बाढी अपडेट: ३६ घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै, ६ जना ‘आइसियु’मा
काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये ३६ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार उपचारका लागि ल्याइएका कुल ३७ जनामध्ये एक जनाको मृत्यु भएको छ भने बाँकी ३६ जनाको उपचार जारी छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको प्रवक्ता सेढाईंले जानकारी दिनुभयो ।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार हाल तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रुपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद थारु, सुरुची रानामगर, रिता डोचो र निम दोर्जे शेर्पा । त्यसैगरी, रितु डङ्गोल, स्मृति ओझा, इशारा तामाङ, महेश्वर शाह, सुशीला भ्लोन, सिजल थापा क्षेत्री, सितार तामाङ, राजन खत्री, रमनलाल श्रेष्ठ, रमेश अधिकारी, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, पासाङ छोमु घले, पापु पटेल, सम्झना न्यौपाने, समय तामाङ, छिमलाल तामाङ, चिसाङ तामाङ, रोशन तामाङ र भारतीय नागरिक नवलेश शर्माको पनि उपचार भइरहेको छ ।
बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन भएका व्यक्तिका आफन्तलाई सूचना उपलब्ध गराउन नेपाल प्रहरीले शिक्षण अस्पतालमै ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ । सहायता कक्षमा आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिन र सम्पर्कविहीनहरूको विवरण टिपाउन आफन्तहरूको भिड लागेको छ ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धार तथा खोजी कार्यलाई अझ तीव्र बनाएको छ । थप घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने क्रम जारी रहेको छ । प्रहरीले विपद्को यस्तो समयमा अपुष्ट सूचना र हल्लाको पछि नलागी आधिकारिक निकाय वा अस्पतालमा स्थापित सहायता कक्षमार्फत प्राप्त सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।