वीर र ट्रमा सेन्टरमा प्रहरीको नागरिक सहायता कक्ष : बाढीमा घाइते र बेपत्ताको विवरण खोज्न सहज हुने

काठमाडौँ, ११ भदौ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका आफन्त र सर्वसाधारणको सहजताका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ ।

बुधबार आएको भीषण बाढीमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी दिन र अझै सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण सङ्कलन गर्न यी दुई ठुला अस्पतालमा सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सहायता कक्षमा बिहानैदेखि बाढी प्रभावितका आफन्तहरूको भीड लागेको छ । यहाँ सङ्कलन गरिएको विवरणका आधारमा प्रभावित क्षेत्रमा खटिएका खोजी तथा उद्धार टोलीलाई थप जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

“सहायता कक्षमा घाइतेको अवस्था बुझ्न र हराइरहेका आफन्तको नाम टिपाउन आउनेहरूको सङ्ख्या बढ्दो छ,” एसपी थापाले भन्नुभयो, “हामीले यहाँ प्राप्त जानकारीलाई तत्काल फिल्डमा रहेका टोलीसँग समन्वय गरेर खोजी कार्यलाई प्रभावकारी बनाउन प्रयत्न गरिरहेका छौँ ।”

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये हाल १८ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र ५ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचाररत सबै २३ जना घाइतेहरूको स्वास्थ्य अवस्था अहिले सामान्य र खतरामुक्त रहेको छ ।
प्रहरीले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा पनि यस्तै सहायता कक्ष स्थापना गरिसकेको छ । बाढीमा परी बेपत्ता भएकाहरूको खोजी कार्य देशका विभिन्न भागमा जारी रहेकाले आधिकारिक विवरणका लागि सम्बन्धित अस्पतालमा रहेका सहायता कक्षमार्फत सम्पर्क गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।