इन्द्रजात्राको चौथो दिन घर–घरमा समय्बजि खाएर र टोलछिमेकमा बाँडेर मनाइयो

काठमाडौँ । किम्बदन्ती अनुसार आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको सम्झनामा मनाउँदै आएको इन्द्रजात्राको आज चौथो दिन ।

किम्बदन्ती अनुसार नै त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ । यस्तो किम्बदन्ती रहेको इन्द्रजात्रा अहिले पनि आठ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने चलन छ । हरेक दिन फरक–फरक कार्यक्रम अनुसार यो जात्रा मनाउने गरिन्छ ।

आज चौथो दिन भाद्रशुक्ल पूर्णिमा इन्द्रजात्राको प्रमुख दिन हो । यही दिनलाई ‘याँयाः पुन्हि’ भनिन्छ । यो दिनमा घर–घरमा समय्बजि खाने र टोलटोलमा बाँड्ने चलन छ ।

घरघरमा खाने र टोलछिमेकमा समय्बजि बाँडेर मनाइने पूर्णिमा भएकाले यो दिनलाई ‘समय् पुन्हि’ पनि भनिन्छ । यो दिन कमारीको रथलाई काठमाडौँमा थःने अर्थात् माथिल्लो भेगमा तानेर जात्रा गरिन्छ । सो दिन पनि बाजागाजासहित लाखे, पुलुकिसि, सवःद्यः, महाकाली नाच निकालिन्छ भने थःने भेगको बांगेमुढा र इन्द्रचोकस्थित डबलीमा दीप्याखं प्रदर्शन गरिन्छ ।