थिमिका वीरेन्द्रभक्तले दश इन्च लामो सुइरोले दोस्रो पटक जिब्रो छेडसँगै जात्रा सम्पन्न

भक्तपुर : मध्यपुरथिमिका स्थानीयले इन्द्रजात्राका अवसरमा जिब्रो छेड्ने जात्रा मनाएका छन् । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले येँया अर्थात् इन्द्रजात्राका अवसरमा जिब्रो छेडेर नगर परिक्रमा गरि जात्रा मनाएका हुन् ।

शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो ।

योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास रहेको छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।

परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो ।

स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको पालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो ।

जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।

श्रेष्ठका अनुसार इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको थियो ।

हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।

शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको थियो । जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याइन्छ ।

डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो ।

आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ । आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ ।

यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख नभएपनि मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ ।

धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो । विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *