शनिबारदेखि पोखरामा बृहत् आर्ट क्याम्प हुने
कास्की : नेपालसहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरामा शनिबारदेखि बृहत् आर्ट क्याम्प हुने भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा असोज १ देखि ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ ।
नेपालका ९० सहित भारतका आठ, बङ्गलादेशका १७ र इरानका छ जना कलाकारको सहभागिता रहने कार्यक्रमको सबै तयारी पूरा भएको छ ।
आर्ट क्याम्पअन्तर्गत असोज १ गते भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी हुनेछन् । दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशाला सञ्चालन हुनेछ भने तेस्रो दिन विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी गरिनेछ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थितिमा गर्न लागिएको हो ।
अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने प्रयास थालिएको कार्यक्रम संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।
‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ ।
गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमि र हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान हो । उक्त कार्यक्रमले आर्ट क्याम्पमार्फÞत गण्डकीको सुन्दरता विश्वभर पुग्ने विश्वास कलाकारको छ ।
ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ ।