प्रकृति, परम्परा र विश्वासको सङ्गम ‘आगोदेउ’ पर्व

‘आगोदेउ’ पर्व

म्याग्दी, २३ कात्तिकः प्रकृतिसँगको सामीप्य, पुर्खाले हस्तान्तरण गरेको संस्कृति र सामूहिक विश्वासको अनुपम उदाहरण हो– म्याग्दीको बरङ्जामा मनाइने ‘आगोदेउ’ पर्व । खेतीबाली राम्रो होस्, आगलागी तथा अन्य प्राकृतिक विपद्बाट गाउँबस्ती सुरक्षित रहोस् भन्ने कामनासहित यहाँका मगर समुदायले पुस्तौँदेखि यो पर्व मनाउँदै आएका छन् ।

मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जामा बसोबास गर्ने मगर समुदायमा यतिबेला आगोदेउ पर्वको रौनक छाएको छ । कुकुर तिहारदेखि सुरु हुने यो पर्व तीन दिनसम्म धार्मिक विधि र परम्परागत संस्कारअनुसार मनाइन्छ । नौ थरका ५४ कुरियामा आबद्ध मगर समुदायले हरेक वर्ष सामूहिक रूपमा पर्व मनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

खेतीबाली सप्रियोस्, आगलागी र विपद् नहोस् भन्ने कामनासहित बरङ्जाका मगर समुदायमा तीन दिनसम्म प्रकृतिको पूजा

मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाका अनुसार आगोदेउ पर्व केवल धार्मिक अनुष्ठान मात्र होइन, प्रकृति र मानवजीवनबीचको सम्बन्ध दर्शाउने मौलिक सांस्कृतिक परम्परा पनि हो । खेतीपातीमा राम्रो उत्पादन होस् र आगोका कारण कुनै दुर्घटना तथा विपद् निम्तिन नपाओस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने गरिएको उहाँ बताउनुहुन्छ ।

“धार्मिक विधिअनुसार पूजाआजा गरी कुकुर तिहारका दिन सुरु हुने यस पर्वमा प्रकृतिको पूजा गरिन्छ”, उहाँले भन्नुभयो, “परापूर्वकालदेखि चल्दै आएको परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै निरन्तरता दिइरहेका छौँ ।”

खेतीपातीसँग जोडिएको विश्वास

आगोदेउ पर्वको सुरुआतसँग बरङ्जाको कृषि इतिहास र स्थानीय जनविश्वास जोडिएको छ । जानकारहरूका अनुसार विगतमा बरङ्जाका खेतबारीमा खेतीबालीको उत्पादन हुन छाडेपछि देवीदेवताको पूजाआजा गरिएको र त्यसपछि पुनः उत्पादन हुन थालेको विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।

खेतीपातीमा प्रकृतिको अनुकूलता आवश्यक पर्ने र आगलागीजस्ता घटनाले जनधनसँगै अन्नबालीमा समेत क्षति पुर्‍याउने भएकाले यी दुवै पक्षबाट गाउँलाई सुरक्षित राख्ने कामनासहित पर्व मनाइन्छ । यसले स्थानीय समुदायको जीविकोपार्जन, कृषि प्रणाली र प्रकृतिप्रतिको निर्भरतालाई समेत प्रतिबिम्बित गर्छ ।

तीन दिन, तीन फरक धार्मिक विधि

बरङ्जाको शिलाथुरस्थित थानमा मगर झाँक्रीले परम्परागत विधिअनुसार पूजाआजा गरेपछि आगोदेउ पर्व औपचारिक रूपमा सुरु भएको मानिन्छ । पर्वको पहिलो दिन धार्मिक अनुष्ठान र प्रकृतिको पूजासँगै पुर्खादेखि चल्दै आएको विधि पूरा गरिन्छ ।

दोस्रो दिन साँझ शिलाथुरस्थित थानमा भेडाको साँढलाई पूजा गरी बलि चढाउने परम्परा छ । त्यसपछि आगो बाल्ने र मार्ने धार्मिक विधि सम्पन्न गरिन्छ । आगोसँग जोडिएको यही अनुष्ठानले पर्वलाई ‘आगोदेउ’ नामले चिनिनुको सांस्कृतिक विशेषता पनि झल्काउँछ ।

पर्वको तेस्रो तथा अन्तिम दिन कमेरोले रङ्ग्याइएको ढुङ्गा काट्ने र पूजाआजा गर्ने गरिन्छ । उक्त विधि सम्पन्न भएपछि तीन दिनसम्म चल्ने पर्व समाप्त हुन्छ । प्रत्येक विधि र संस्कारमा स्थानीय मगर समुदायको मौलिक धार्मिक विश्वास तथा सांस्कृतिक पहिचान जोडिएको छ ।

नौ थर, ५४ कुरियाको साझा संस्कृति

आगोदेउ पर्व बरङ्जामा बसोबास गर्ने मगर समुदायको सामूहिक पहिचानसँग पनि जोडिएको छ । पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बूढाथोकीलगायत थरका मगर समुदायले यो पर्व मनाउँदै आएका छन् । विभिन्न थर र कुरियामा विभाजित समुदायलाई एउटै सांस्कृतिक परम्पराले जोड्ने माध्यमका रूपमा पनि आगोदेउ पर्व स्थापित छ ।

पुर्खाले सुरु गरेको धार्मिक तथा सांस्कृतिक विधिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु र सामुदायिक एकता कायम राख्नु यस पर्वको अर्को महत्त्वपूर्ण पक्ष हो । गाउँका विभिन्न परिवारको सहभागितामा सामूहिक रूपमा सम्पन्न गरिने पूजाआजाले आपसी सद्भाव र सांस्कृतिक निरन्तरतालाई बलियो बनाएको छ ।

आगोदेउ र धुले मेला : ऋतुचक्रसँग जोडिएको संस्कृति

बरङ्जाका मगर समुदायमा कात्तिकमा आगोदेउ र जेठमा धुले मेला विशेष उत्साहका साथ मनाइन्छ । यी दुवै पर्वको सम्बन्ध प्रकृति, कृषि कर्म र स्थानीय जीवनशैलीसँग जोडिएको छ ।

जेठ महिनाको दोस्रो वा तेस्रो साताको मङ्गलबारदेखि तीन दिनसम्म धुले पर्व मनाउने चलन छ । हिउँदभरि खेतबारी सुकेर धुलाम्मे हुने र वर्षा सुरु भएपछि जमिन खेतीयोग्य बन्ने भएकाले त्यसको खुसीयालीमा धुले पर्व मनाइन्छ । पर्व सकिएपछि थर्पु गाउँमा परम्परागत मेला लाग्ने गर्छ ।

आगोदेउ र धुले मेला दुवैले बरङ्जाका मगर समुदायको जीवनमा प्रकृति र कृषि संस्कृतिको महत्त्वलाई उजागर गर्छन् । एउटा पर्वले आगलागी तथा अन्य विपद्बाट सुरक्षा र खेतीबालीको उब्जनीको कामना गर्छ भने अर्कोले वर्षा र खेतीपातीको नयाँ चक्र सुरु भएको खुसी साट्छ ।

आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका बीच पनि बरङ्जाका मगर समुदायले आफ्ना मौलिक संस्कार र परम्परालाई जोगाइरहेका छन् । आगोदेउ पर्व धार्मिक आस्था अभिव्यक्त गर्ने माध्यम मात्र नभई स्थानीय इतिहास, कृषि सभ्यता, सामुदायिक एकता र प्रकृतिप्रतिको सम्मानलाई जीवन्त राख्ने सांस्कृतिक सम्पदा बनेको छ । यसलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न सके बरङ्जाको मौलिक पहिचानसँगै म्याग्दीको सांस्कृतिक विविधताको संरक्षणमा समेत योगदान पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *