जब्बर देउवाविरुद्ध युवाको विद्रोह, पार्टी मुख्यालयमै मौन धर्ना
काठमाडौँ , १२ असोज । नेपाली काँग्रेसका युवा नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेबहादुर देउवाले पार्टी भित्रै अर्को पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुङ्याउने प्रयासलाई कुनै हालतमा नमान्ने भन्दै जब्बर देउवालाई धक्का दिने प्रयास गरिरहेका छन् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिटको भागबण्डा न्यायोचित हुनुपर्छ भन्दै आन्दोलित बनेका युवाहरुले पार्टी कार्यालयमै आज धर्ना दिएका छन् ।
सत्ता घटकका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चालाई बढी प्राथमिकता दिएर आफूहरुलाई बेवास्ता गरेको भन्दै देउवालाई आन्तरिक लोकतन्त्र बलियो बनाउन पनि उनीहरुले दबाब दिएको बताउँदै आएका छन् । यसरी दबाबमुलुक आन्दोलनको नेतृत्व गरिरहेका युवा मध्ये एक गुरुराज घिमिरेले त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने चेतावनी समेत दिनुभएको छ । पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उहाँको धम्कीपछि देउवाले छलफल गर्न भनेर हिजो मात्रै बैठक बोलाउनु भएको थियो । तर, बैठकले त्यति सकारात्मक सन्देश नदिएको युवाहरुको भनाई छ ।
पछिल्लो समय विद्रोही समूहबाट गुरुराज बढी आक्रमक रुपमा प्रस्तुत हुनुभएको छ । लामो समय पार्टीमा योगदान गर्नुभएका घिमिरे हरेक पटक संस्थापनबाट पेलिदैँ आउनु भएको युवा नेता हो । उहाँले आफूले पटक–पटक पेलिनु पर्ने बाध्यताको विष्फोट गर्दै कांग्रेसबाट विद्रोह गरेर चितवन ३ बाट प्रचण्डविरुद्ध उम्मेदवारी दिने भनेपछि काँग्रेसमा पनि खैलाबैला भएको छ ।
आज धर्नामा सहभागी नेता घिमिरेले आफूहरूको आन्दोलन न्यायका लागि भएको भन्दै न्याय प्राप्त नगरुन्जेल लडिरहने बताउनु भएको छ । ‘हामी पार्टीको विरुद्धमा छैनौँ,’ उहाँले भन्नुभयो, ‘हामीले पार्टीभित्र न्याय मागेका हौँ, अन्याय सहदैनौं भनेर विरोध गरेका हौं ।’ अर्का युवा नेता मनोजमणिले पनि पार्टी सभापतीय पक्षधरका जिल्ला, क्षेत्रहरुमा सुरक्षित हुने, उहाँहरुको समानुपातिक वा प्रत्यक्षमा सिटको निश्चित हुने । तर, आफ्नो पार्टीमा फरक मत राख्ने जिल्ला र क्षेत्रमा गठबन्धनका नाममा प्रत्यक्षतर्फ अन्य दललाई छाडिदिने र समानुपातिकमा पनि नपर्ने गरी अन्तिममा राखिदिने कुराको विरुद्धमा आवाज बुलन्द्ध गरेको बताउनु भएको छ ।
‘हाम्रो यो दबाब र आवाज शेरबहादुर देउवाका लागि मात्रै होइन । हामीले मानेका नेता शेखर कोइराला, गगन थापाहरुलाई पनि हो यो दबाब र यो आवाज,’ उहाँले भन्नुभयो, ‘वर्षौदेखि चुनावको तयारी गरेर बसेका र पार्टी–संगठनका लागि अथाह दुःख गर्नुभएका साथीहरुलाई बेवास्ता गरेर निर्वाचनको सम्मुखमा गरिने घातलाई कसरी सहि भन्न सकिन्छ रु हामीले यहि कुरालाई विधिसम्मत र लोकतान्त्रिक ढंगले समाधान गर्नुपर्छ भनेर हामीले हाम्रो आवाज उठाएका हौँ । यो नेताहरुलाई खवरदारी पनि हो । हामीले पार्टी कार्यालयमै न्यायोचित अवसर र वितरणको माग गर्दै धर्ना कार्यक्रमको आयोजना गरेका हौँ ।’