बुंगमतीमा हुने मनकामना जात्रा : जहाँ सेतो घोडाको नृत्य पनि हुन्छ (भिडियाे सहित)
काठमाडाैं, २० असाेज । बुंगमतिको आजु अजिको जात्रामा बुंगमतीका आराध्य हयंग्रिभ भैरव, र उनीसँगै एक रात बस्न आएकी मनकामना देवी अर्थात् कुन्दे अजिमाको कथासंग सम्बन्धित नृत्य प्रस्तुत गर्दछ । । यो दसैं बेला बुंगमतीमा हुने मनकामना जात्राको एक महत्वपूर्ण अंग हो।
यो मनकामना जात्राको एउटा अंग भएपनि दसैंमा मनाउने यो जात्रा यहाँका लागि एक उत्सवनै भएको बुंगमतीका स्थानीयहरु बताउँछन्
यस जात्रामा देखाइए अनुसार मनकामना देवी गोरखाको मन्दिर छाडेर तीन दिन यहाँ बास बस्न आउँछिन्। उनै मनकामना देवीले बुंगमतीका हयंग्रिभ भैरवसँग एक रात बिताउँछिन्।
यस्तै यहाँ भिमसेनको अभिमान तोड्ने वाँदररुपी हनुमानको कथा पनि देखाइन्छ । भीमसेनको उद्दण्ड स्वभावबाट आजित भएपछि हनुमानले बाँसको अंकुशेमा अल्झाउँदै उनलाई दोलखा हुत्याइदिन्छन्। यी पौराणीक कथाहरुका आधारमा यहाँ जात्राहरु मनाउने गर्दछन् । यो जात्रा कति पुरानो हो भन्ने यकिन तथ्य नभए पनि इतिहासको विभिन्न कालखण्डमा विभिन्न घटनाहरुलाई जोडेर विभिन्न समयमा नृत्यहरु थपिंदै गएको अनुमान गर्न सकिन्छ ।
एकपटक सेनराजको पालामा यहाँबाट हृयग्रिभ भैरवको मूर्ति चोरेर लगेको थियो र पछि उक्त मुत्र्ति फेलापारेपछि क्षमापूजा सहित पुनः उक्त भैरवको मूर्तिलाई प्रतिस्थापन गरेको थियो । उक्त घटनाको सम्झनामा दशैंको बेला हयंग्रिभ भैरवको मूर्ति चोरेर लगेका पाल्पाका शक्तिशाली राजा मुकुन्द सेनको क्षमापूजा अहिले सम्म पनि यही बेला गर्ने गरिन्छ।
काठमाडौं उपत्यकाका एक प्राचीन व्यापारी ‘सिंह सार्थवाह आफ्नो सेतो वायुपंखी घोडा चढेर दशैंको बेला बुंगमती परिक्रमा गर्न आउँछन्। यसैलाई सम्झेर पनि यहाँ यसजात्रामा नृत्य देखाउने गरिन्छ ।
बुंगमतिमा धेरैजसो पौराणिक लोककथाहरुका आधारमा विभिन्न नृत्यहरु प्रस्तुत गर्ने गरिन्छ । यसैप्रसंगमा दशैंबेला भने मनकामनाका जात्रा मनाउने गरिएको हो । ।
तस्बिर : अनिल तुल
भिडियाे : प्रेमा शाक्य ललितपुर