तनहुँमा सिङ्गुसले टोकेर एक जनाको मृत्यु, छ घाइते

तनहुँ, २ असाेज । तनहुँमा बुधबार सिङ्गुसले टोकेर एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदी रहेका छन् ।

शरीरभरि सिङ्गुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिङ्गुसले राजमार्ग भएर हिँड्ने सर्वसाधारण र मोटरसाइकलमा सवारलाई टोकेको उहाँले बताउनुभयो ।

सिङ्गुसले टोकेर घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त राजमार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण र चालकलाई सचेत भएरमात्रै हिँड्डुल गर्न प्रहरीले अनुरोध गरेको छ ।