अन्तर्वार्ता

विकासको भाष्य निर्माण गर्ने एमालेको लहर छ, ताप्लेजुङमा जित निश्चित छः योगेश भट्टराई

०७४ सालको संघीय निर्वाचनमा २९ हजार ४ सय ७९ मतसहित विजयी हुनुभएका नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराई अहिले सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । अघिल्लो पटक उहाँ वामगठबन्धनबाट उम्मेदवार बन्दा नेपाली कांग्रेसका केशवप्रसाद दाहाल १६ हजार ८ सय ८८ मतसहित दोस्रो बन्नु भएको थियो । यो पाँच वर्षमा परिस्थिति फेरिएको छ । उहाँसँग अहिले कांग्रेस होइन माओवादीका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । यो पटक उहाँसँग कांग्रेससहितको गठबन्धनमा माओवादीका खेलप्रसाद बुढाक्षेत्री हुनुहुन्छ । ०७४ को निर्वाचनमा जित हात पारेपछि ताप्लेजुङकै विकास निर्माण र त्यहाँको समृद्धिका लागि दत्तचित्त हुनुभएका भट्टराई यो पटक पनि जित निकाल्ने योजनामा हुनुहुुन्छ ।

एमाले अहिले सुदृढ राष्ट्रिय एकतासहित भू–राजनीतिक अवस्थालाई समेत मध्यनजर गर्दै बलियो सरकारमार्फत बलियो राष्ट्र निर्माण गर्ने र जनतामा विश्वास र आशा जगाउने काम गरिरहेको उहाँको भनाई छ । त्यसकारण एमालेप्रति बढी विश्वास जनताले गरेको भन्दै भट्टराई एमालेको बलियो संगठन संरचना पनि जितको आधार भएको बताउनु हुन्छ ।

गठबन्धनमा कुनै सिद्धान्त, विचारमा आधारित नभएको र स्वार्थमा आधारित गठबन्धन भएका कारण पनि जनताको चासो कम भएको उहाँको तर्क छ । भट्टराईसँग ताप्लेजुङमा एमालेले जित्ने आधार के ? चुनावी अवस्था कस्तो छ ? तपाईँका चुनावी एजेण्डा के ? लगायतका केही प्रश्न सोधेका छौँ । मैत्रिन्युजका लागि भट्टराईसँग गरेको कुराकानी

ताप्लेजुङमा नेकपा (एमाले) को चुनावी माहोल कस्तो चलिरहेको छ ?

ताप्लेजुङमा एमालेको चुनावी माहोल उत्साहजनक ढंगले अघि बढिरहेको छ । हाम्रो पार्टी र यसका सबै जनसंगठनहरु एकताबद्ध ढंगले चुनावी प्रचार अभियानमा खटेका छन् । अहिले मुख्य गरेर घरदैलो कार्यक्रम, मतदातासँग भेटघाट गर्ने र चुनावी अभियानलाई अझ कसरी शसक्त ढंगले अघि बढाउन सकिन्छ भनेर योजना बनाइरहेका छौँ । मतदातालाई मतदानबारे जनचेतना फैलाउनेलगायतका कामलाई पनि हामीले सँगै लगेका छौँ ।

ताप्लेजुङ जिल्लामा ९ वटा स्थानीय तहका ६१ वटा वडा रहेका छन् । ती सबै पालिका र वडामा हामीले एमालेको प्रचार–प्रसार अभियानलाई एक साथ अघि बढाएका छौँ ।

तपाईँ त्यहि क्षेत्रको निवर्तमान सांसद पनि हुनुहुन्छ । अहिले यसरी प्रचार–प्रसार अभियानमा सबैतिर जाँदै गर्दा तपाईँले पाँच वर्षमा गरेका कामको प्रतिक्रिया कस्तो पाउनु भएको छ र जनतामा उत्साह कस्तो देख्नुभएको छ ?

यो प्रतिनिधि र प्रदेशसभा दुबैको निर्वाचन हो । यो पाँच वर्ष र अहिलेको निर्वाचनलाई मुख्य गरेर दुई पाटोबाट हेर्नुपर्छ भन्ने लागेको छ । पहिलो भनेको ०७४ सालको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनेको थियो । एमालेको सरकार रहेका बेलामा संविधानमा उल्लेख भएका मौलिक हक सम्वन्धि सबै कानुन अर्थात ३२ वटा कानुन निर्माण गर्ने काम भयो । संविधानसँग बाझिएका र संशोधन गर्नुपर्ने २ सय भन्दा बढी कानुन संशोधन गर्ने काम पनि त्यहि सरकारका पालामा भए । यसरी हेर्दा कानुन निर्माणका सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा उल्लेख्य काम भएको छ ।

अर्को भनेको संविधान निर्माणसँगै तीन तहको सरकारसहितको संघीयताको व्यवस्थामा गएका हौँ । त्यसकारण वितेको पाँच वर्षमा संघीयतालाई संस्थागत गर्ने, कार्यान्वयन गर्ने, त्यसका निम्ति पूर्वाधारहरु खडा गर्ने, ऐन–कानुनहरु खडा गर्ने जस्ता काम पनि हामीले राम्रो ढंगले सम्पनन गर्यौ । यी सन्दर्भमा जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

पहिलो संविधान कार्यान्वयनको पाटो भयो अनि दोस्रो चाँहि ?

दोस्रो भनेको चाँहि विकास निर्माणको पाटो हो । विकास निर्माणका सन्दर्भमा कुरा गर्दा माओवादीको १० वर्षे शसस्त्रजनयुद्धबाट थिलथिलो भएको अवस्था, भूकम्पवाट क्षतिग्रस्त संरचना, कोरोना जस्तो महामारीलगायत एकपछि अर्को गर्दै आइरहे । त्यसले गर्दा विकास निर्माणको गति जुन ढंगले अघि बढ्नु पर्ने हो त्यो ढंगले बढ्न सकेन । यद्यपि, केपी ओली नेतृत्वको सरकारले विकासको भाष्य नै बदल्न सफल भयो । विकास के–हो ? भन्ने कुराको परिभाषा नै ओली नेतृत्वको सरकारले बदल्न सफल भयो । पहिला–पहिला विकासलाई मानिसले सामान्य ठान्थे । तर, विकास भनेको जनताको प्रत्यक्ष जीवनसँग जोडिएको हुन्छ । त्यसले मानिसको दैनिक जीवनलाई बदल्न सक्नुपर्छ । त्यसले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न सक्छ भन्ने सन्देश पनि ओली सरकारको पालमा जनताले अनुभूति गर्न पाए ।

अर्को भनेको ताप्लेजुङ जिल्लाको मात्रै कुरा होइन मुलुकभरी नै आर्थिक समृद्धिको जग बसाल्न एमाले सफल भएको छ । पूर्वाधारको विकासमा जग बसाल्ने कुरा चानचुने होइन । त्यसको प्रतिफल अब विस्तारै हामीले प्राप्त गर्नेवाला छौँ । नेकपा (एमाले)को पालामा बसालेको बलियो जगले अब विस्तारै तला थप्दै जाने हो । यो कुरा मैले मेरो क्षेत्रका मतदातालाई राम्ररी जानकारी गराएको छु ।

मेरो जिल्ला, मेरो क्षेत्र भनेको भौगोलिक हिसावले पनि निकै विकट र ठूलो मानिन्छ । यस हिसावले यहाँका जनताले अझै जति हुनुपर्ने हो त्यति भएको छैन । अझै गर्नुपर्छ भन्नुभएको छ, म उहाँहरुका सकारात्मक मागप्रति थप सकारात्मक बनेको छु । मैले अहिले विगतमा गरेका काम मात्रै होइन अब थप पाँच वर्षमा गर्नुपर्ने कामका बारेमा पनि यहाँका मतदातासँग एकाकार भएर अघि बढ्ने प्रतिवद्धता गरेको छु । यहाँको जनताले अझै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषिमा सुधार हुनुपर्छ भन्ने जनताको अपेक्षा छ । उहाँहरुका ती अपेक्षालाई पनि मैले सकारात्मक रुपमा लिएको छु ।

तपाईँले विकासको भाष्य नै बदलेको कुरा गर्नुभयो । तपाईँले यो पाँच वर्षमा ताप्लेजुङमा गरेका केही यस्ता सकारात्मक कामबारे पनि बताइ दिनुहोस् न । जसले गर्दा यो पटक पनि यहाँका जनता एमालेलाई नै भोट हाल्न बाध्य हुन् ?

ताप्लेजुङ पर्यटनको प्रयाप्त सम्भावना भएको जिल्ला हो । गएको पाँच वर्षमा यो जिल्लाका पर्यटन गन्तव्यहरुलाई राष्ट्रियस्तरमा स्थापित गराउने काम भएको छ । फुङफुङे झरना, कञ्चनजंघा, मिल्के जलजले क्षेत्र (जहाँ ३२ जातिका गुँरास पाइन्छन्) जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरुलाई राष्ट्रियस्तरमा उठाउने काम पनि मेरो पाँच वर्षे कार्यकालमा भएको छ । मुख्यगरेर पाथीभरा, कञ्चनजंघा क्षेत्रमा पदमार्ग निर्माण, मिल्केडाँडा लालीगुँरासँ पार्क निर्माण, पाथिभरा क्षेत्र विकास समितिसँगको साझेदारीमा पूर्वाधार विकास गर्ने जस्ता काम पनि भएका छन् । पर्यटन पूर्वाधारको क्षेत्रमा विगतमा भन्दा निकै ठूलो लगानी ताप्लेजुङ जिल्लामा भएको छ । सुकेटार विमानस्थलका लागि जग्गा अधिग्रहणको गर्ने, विमानस्थल स्तरोउन्नती र नयाँ टर्मीनल भवन निर्माण गर्ने जस्ता कुरामा पनि सकारात्मक काम भैरहेको छ ।

त्यसैगरी सडक सञ्जालबाट ताप्लेजुङलाई जोड्नुपर्छ भनेर केपी ओली नेतृत्वको सरकारका पालामा प्रतिनिधिसभाका सदस्यहरुले मुख्य गरेर धनकुटाको मुलघाटदेखि तेह्थुम, पाँचथर छुदैँ ताप्लेजुङको ओलाङचुङगोलादेखि तिव्वतसम्म जोड्ने कमरकरिडोरमा जोड दियौँ । अहिले यो सडकको उल्लेख्य प्रगति भएको छ । त्यसैगरी तमोर करिडोर, काबेली करिडोरको कामलाई पनि हामीले अघि बढाएका छौँ । त्यसैगरी ६१ वटै वडामा सडकको ट्रयाक पुर्याउन सफल भएका छौँ । अन्य सडकहरुको पनि कालोपत्रे गर्ने, स्तरोन्नती गर्ने जस्ता काम भैरहेका छन् ।

शिक्षाको क्षेत्रमा पनि केही भएको छ ?

हामीले यो विचमा ताप्लेजुङ जिल्लाका ५९ वटै मा.वि विद्यालयको भवन निर्माण गर्ने योजना अन्र्तरगत अहिले ४५ विद्यालयको भवन र पुर्वाधार गर्ने कामहरु सम्पन्न भएका छन् । विदेशबाट सहयोग गर्ने निकायहरुको सहयोग र हाम्रो पहलमा ती काम भएका हुन् । जिल्लाका विभिन्न विद्यालयमा ल्यावहरू स्थापना गर्ने, कम्युटर, ईन्टरनेट, प्रोजेक्टर, प्रिन्टर सहितको कम्युटर ल्याव स्थापना गर्ने जस्ता काम भएका छन् ।

त्यसैगरी सिम्ले प्रा.वि को ७ कोठे भवन निर्माण सम्पन्न भएको छ । हामीले गुणस्तिरीय शिक्षाका लागि स्थानीय तहसँग साझेदारी कार्यक्रम सन्चालन गर्ने जस्ता काममा पनि ध्यान दिएका छौँ ।

स्वास्थ्यका क्षेत्रमा ?

जिल्लाको अस्पतालमा अस्जिन प्लानट निर्माण गर्ने, १५ वेडको जिल्ला अस्पताललाई ५० वेडमा स्तरोन्नती (प्रदेश सरकार मार्फत) गर्ने काम अघि बढेको छ । पहिलाको भन्दा अहिले ताप्लेजङ जिल्लाको जिल्ला अस्पतालको सेवासुधार भएको छ । अस्पतालका लागि २५ थान अक्सिजन र अक्सिजन कन्सटेटर, कोभिड किट तथा ४० थान वेड सहित फर्निचर सामाग्री व्यक्तिगत पहलमा सहयोग गर्ने काम भएको छ । मेरिङदेन स्वास्थ्य चौकी र बर्थिङ सेन्टर भवन निर्माणका लागि सहयोग गर्ने काम भएको छ । मिक्वाखोला स्वास्थ्य चौकी भवन निर्माण गर्ने काम भएको छ ।

ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमास्तरोउन्ती गर्ने कार्य अघि बढको छ । प्रत्येक गाउँपालिकालाई २÷२ थान अक्सिजन कन्सनटेटर र कोभिडका रोकथामका लागि करिव दुई दुई लाख वरावरको अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरू व्यक्तिगत पहलमा सहयोग गर्ने काम भएको छ । ताप्लेजुङ जिल्लामा विभिन्न संस्थाहरूको सहयोगमा मुटुरोग र स्त्रीरोगको स्वास्थ्य शिविर सन्चालन गरिएको छ भने ५२ जना मुटुरोगीको काठमाडौंमा ल्याई आउने जाने भाडाको समेत व्यवस्था मिलाई निःशुल्क शल्यक्रिया गर्ने काम भएको छ । कोभिडको समयमा ताप्लेजुङबाट काठमाडौं आई बसोवास गर्ने १००० जिल्लाबासीको रु १ लाख बराबरको जिवन विमा गर्ने काम भएको छ ।

सांस्कृतिक संम्पदाको क्षेत्रमा ?

सांस्कृतिक सम्पदाको क्षेत्रमा पनि हामीले धेरै कामहरु गरेका छौँ । यहाँ विभिन्न जाति जनजातिका मानिस बसोबास गर्ने ठाउँ हो । सिनाम आदिवासी जनजाती उत्थान भवन, फुङलिङ नगरपालिकामा पुरातात्विक भवन निर्माण, पुरातात्विक लिवाङ दरवार संरक्षण मिक्वाखोलालगायतमा हाम्रो पहलमा बजेट विनियोजन गर्ने काम भएको छ । त्यसैगरी फक्तालुङ माङहिम फक्तालुङ, माङ्गेना याक पूर्वाधार विकास, युमा साम्यो मुन्धुम, लिम्बु संग्रहालय पूर्वाधार निर्माण पेदाङ, लिम्बु संग्रहालय मामाङखे, देविस्थान मन्दिर संरक्षण, ताप्लेजुङ शहिद पार्क, ओत्रक्मा पोखरी संरक्षण, पुराना गाउं चर्च भवन निर्माण जस्ता कार्यमा निरन्तर सहयोग गरेका छौँ ।

एकातिर गठबन्धन र एकातिर एमाले एक्लै चुनावी मैदानमा छ । जित हातपार्न कत्तिको सहज छ ?

पहिलो कुरा कांग्रेस र माओवादी सम्मिलित गठबन्धनप्रति जनताको भरोसा छैन । यो कुनै सिद्धान्त, विचारमा आधारित छैन । यो गठबन्धन स्वार्थमा आधारित गठबन्धन हो । अर्को कुरा गठबन्धनमा प्रयाप्त अन्योलता छ । कांग्रेसको घोषणापत्रको आधारमा मुलुक चल्छ कि माओवादीको ? भन्ने नै अन्योल छ । त्यहाँ एउटा पार्टी पूर्व जाने भन्छ अर्को पार्टी पश्चिम जाने भन्छ । यी पार्टी बिच नै अन्योलता छ । यस्तो गठबन्धनले मुलुकलाई झन अस्थिरता र अन्योलतातर्फ लैजाने बाहेक केही हुन्न ।

त्यसैगरी गठबन्धनमा अब जितेर आएपछि मुलुकको नेतृत्व कस्ले गर्ने भन्ने पनि अन्योलता छ । प्रधानमन्त्री को बन्ने भन्ने नै त्यहाँ अन्योलता छ । एमालेमा को प्रधानमन्त्री बन्ने भन्ने उहिल्यै टुंगो लागिसकेको छ ।

एमाले अहिले सुदृढ राष्ट्रिय एकतासहित भूराजनीतिक अवस्थालाई समेत मध्यनजर गर्दै बलियो सरकारमार्फत बलियो राष्ट्र निर्माण गर्ने र जनतामा विश्वास र आशा जगाउने काम गरेको छ । त्यसकारण एमालेलाई बढी विश्वास जनताले गरेका छन् । ताप्लेजुङको सन्दर्भमा पनि यहि हो । यो सँगै हाम्रो पार्टी संगठनको बलियो संरचना पनि जित्ने आधार हो ।