भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै

काठमाडौँ, असोज १५ । महानवमीका अवसरमा भक्तपुरको परम्परागत, ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ । यहाँ खःमेय्,  महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाउने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्त्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुने भएकाले त्यस रूपमा महिषासुर ‘बध’ गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप यस दिन खःमेयलाई बलिपूजा गरी जात्रा मनाउँदै आइएको संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

नवदुर्गा द्योःछें (देवगृह) मा राखिएका खःमेयलाई जाँडको कट खुवाएर, जिउभरि सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योःछेंबाट बाहिर निकालेर दौडाउने र ब्रम्हायणी पीठसम्म पुर्‍याइने गरिन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेयको टाउकोमा दुई दुई चक्करसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिने मान्यता छ ।

खःमेयको साना साना मासुका टुक्रा प्रसादका रूपमा घर लगी सुकुटी बनाउने र धुलो पारेर घ्युमा मुछी धुप बनाइन्छ। उक्त धूप लक्ष्मीपूजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *