अनुकरणीय सामाजिक सेवा

‘दसैँ-तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनालाई निःशुल्क यातायात सेवा

काठमाडौँ, असोज २४ । खोटाङका एक युवा समूहले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘दसैँ-तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत जिल्लाका ४३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा प्राप्त गरेका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा विभिन्न स्थानीय तहका युवाहरूले आफ्नै मोटरसाइकलमार्फत यो सेवा प्रदान गरेका हुन् । जिल्लाका दशवटै स्थानीय तहका युवाले छोरीचेलीलाई घरदेखि माइतीघर, माइतीघरदेखि घरसम्म र मावलीघरसम्म निःशुल्क लाने र फर्काउने सेवा दिएका छन् । चाडपर्वको समयमा आर्थिक अभाव, यातायातको पहुँच नपुगेको वा सार्वजनिक सवारीसाधन भरिभराउ भई सिट नपाएर माइती/मावली जान नसक्ने छोरीचेलीहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो ।

दसैँको टीका (असोज १६ देखि असोज १९ गते) सम्म सञ्चालन गरिएको यस अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माइत, मावल र घर फर्काउने सेवा उपलब्ध गराइयो । अभियानमा जोडिएका युवाहरूले ६६ वटा मोटरसाइकल र शुभम् फाउन्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत यो सेवा प्रदान गरेका थिए ।

दशवटै स्थानीय तहमा संयोजक तोकेर सञ्चालन गरिएको यस अभियानअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाइकल र ९० जनालाई जीपबाट निःशुल्क यातायात सेवा प्रदान गरिएको युवा समूहले जनाएको छ। त्यसैगरी, हलेसी तुवाचुङ नगरपालिका-७ हलेसी बजारबाट २३ जना, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५ जना, दिप्रुङ चुइचुम्माबाट २१ जना तथा रावाबेँसीबाट २२ जनाले मोटरसाइकल सेवा लिएका छन् ।

पहाडी भूगोल, कच्ची सडक र वर्षायामका कारण बिग्रिएर अवरुद्ध बनेका सडकहरूमा सबैतिर सार्वजनिक यातायात पुग्न नसक्ने अवस्था भएपछि छोरीचेलीहरूलाई घरदेखि माइती तथा माइतीघरदेखि आफ्नो घरसम्म आवतजावत गराउन अभियान सञ्चालन गरिएको संयोजक राईले जानकारी दिनुभयो । “बिनास्वार्थ चाडपर्वमा समयमै गन्तव्यमा पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएका हौँ । अब तिहार लक्षित अभियान पनि चलाउने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो, “तिहारका लागि आउँदो कात्तिक ५ देखि ७ गतेसम्म अभियान चलाउने तयारी गरिएको छ । यस वर्षको दसैँ र तिहारमा करिब एक हजार छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।”

यस वर्षका लागि अभियान चलाउन जनसम्पर्कका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय नै स्थापना गरिएको थियो । मौसममा आएको खराबी तथा सबै ठाउँमा मोबाइल फोनको टावर नटिप्ने भएकाले सम्पर्कका लागि सचिवालय स्थापना गरेर निःशुल्क यातायात सेवा प्रदान गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका र सवारीसाधनको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघर र माइतीघरबाट घरसम्म आउने–जाने सेवा दिइएको युवा समूहले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको सचिवालयमा सेवाग्राहीको विवरण सङ्कलन गर्दै निःशुल्क यातायात सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले जानकारी दिनुभयो ।

युवा समूहले सञ्चालन गरेको यस अभियानका लागि विभिन्न निकायले इन्धन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो समूहले गत वर्षको दसैँ-तिहारमा ४१५ जना छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएका थिए ।