नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दो दरमा
काठमाडौँ, असोज २४ । नेपालमा मानसिक समस्या बढिरहेको तथ्यहरुले देखाएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ७ हजार २२३ जना व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाए । यो भनेको दिनमा सरदर २० जना व्यक्तिले आत्महत्या गर्नु हो । मानसिक स्वास्थ्य समस्या देखाउने यो एउटा उदाहरण हो । लैङ्गिक हिंसा, बाल विवाह, जातीय विभेद र सामाजिक बहिष्करणले पनि धेरै मानिसहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ । सहरीकरणसँगै बढेको प्रतिस्पर्धा र सामाजिक सञ्जालको दुरुपयोगले युवाहरू माझ मानसिक स्वास्थ्य समस्या थपिएको छ ।
बारम्बार निराश हुनु, आफू फन्दामा परेको ठान्नु, मादक पदार्थ र लागू औषधको सेवन बढ्नु, छट्पटी र व्याकुलता बढ्नु, निद्रामा गडवडी हुनु, व्याकुलता बढ्नु, कसैसँगको भेट वा सामाजिक सञ्जालमा निराशाका कुरा लेख्नु, चाँडो रिसाउनु, हेलचेक्¥याइँ पूर्ण व्यवहार गर्नु, मेरो भविष्य केही छैन भन्नु, आफ्ना सामान अरुलाई जथाभावी बाँड्नु, भोज भतेर वा भेटघाटमा रुचि नहुनु, साथीभाइ र परिवारसँग टाढिनु मानसिक स्वास्थ्यमा खरावी आउँदाका लक्षण हुन् ।
यसरी मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति आफूलाई के भएको हो, थाहा हुँदैन । परिवारले थाहा पायो भने लुकाउन खोज्छ । कोही उपचारका लागि गइहाले पनि उपयुक्त ठाउँमा पुगेको देखिँदैन । स्वास्थ्य सेवा प्रदायकले पनि आफूले समाधान गर्ने समस्या नभए पनि विरामीको उपचार थाल्ने गरेको देखिन्छ । विरामीलाई समस्या समाधानका लागि उचित स्थान देखाउने गरेको पाइँदैन । यस्ता व्यवहारका कारण विरामी झन पीडित बन्दै जान्छन् ।
शिक्षा र जानकारीको अभावमा मानसिक स्वास्थ्य पहिचानका लागि सबैभन्दा ठुलो चुनौती भएको छ । यससँगै मनोसामाजिक परामर्श तथा फर्माकोलोजिक थेरापी, जोखिमपूर्ण मानसिक समस्याका व्यक्तिहरुको उद्धार र हेरचाहका लागि नीति, योजना र कार्यक्रम चाहिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्तिलाई अपाङ्गता बनाउने १० वटा प्रमुख कारणमध्ये मानसिक स्वास्थ्यसँग सम्बन्धित २ वटा कारण छन् । यी कारणहरु डिप्रेसिभ डिस्अडर्स दोस्रो स्थानमा छ । यस्तै एन्जाइटी डिस्अडर्स छैटौँ नम्बरमा छ ।
मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । मानसिक स्वास्थ्यबिना मानव पूर्ण स्वस्थ हुन नसक्ने यथार्थलाई उजागर गर्न सन् १९९२ देखि यो दिवस मनाउन थालिएको हो । यस वर्षको दिवसले प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता सङ्कटमा परेका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श प्रदान गर्ने र तत्काल सहयोग उपलब्ध गराउने कार्यमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसङ्घले राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालयका कर्मचारी र सामुदायिक समूहहरूसहित सबैलाई एकताबद्ध भई हरेक व्यक्तिको मानसिक स्वास्थ्यलाई सबल बनाउनतर्फ लाग्न आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि ‘मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न सदस्य राष्ट्रका सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।