खहरे खोलाको पानी ल्याउन श्रमदान गर्दै चितवनका रामनगरवासी
काठमाडौं,२५ मंसिर । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका १ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् ।
पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ । भरतपुर महानगरपालिका १ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको वर्षौ भइसकेकाे छ।
रामनगरमा खानेपानी ल्याउनका लागि चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले १० दिनअघि श्रमदान अभियानको सुरुआत गर्नुभएको थियो। सहजरुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछानेले रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयसँग छलफलसमेत गर्नुभएको थियो । लगत्तै उहाँकै नेतृत्वमा श्रमदान अभियान सुरु भएको हो ।
विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा चार पानी ट्याङ्की निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो ।
द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाई गर्दै खानेपानीका लागि पहल भइरहेको छ ।
स्थानीय सीता भट्ट नगरवासीको मुख्य समस्या पानीको रहेको बताउनुहुन्छ । “इनारको पानी खान बाध्य छौँ”, उहाँले भन्नुभयो । हाल दैनिक एक सय जना श्रममा जुटेको उहाँले बताउनुभयो । स्थानीय राधा कुँवर र भोलादेवी कुँवर गुप्ता पनि घरको काम छाडेर जनश्रममा जुटेको बताउँनु हुन्छ ।