कार्कीको ४५ वर्षे राजनीतिक यात्राः प्रारम्भिक कमिटीदेखि मुख्यमन्त्रीसम्म

काठमाडौं, २४ पुस । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कार्की माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश १ मा एमालेको ४० सिट, माओवादीको १३ सिट र राप्रपाको ६ सिट अनि जसपाको १ सिट छ । यी चार दलको मात्रै जोड्दा पनि ६० सिट पुग्छ । प्रदेश १ मा सरकार बनाउन ४७ सिट भए पुग्छ । उहाँ ६० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

वि. स. २०२१ साल असोज ११ गते झापा जिल्लास्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा जन्मिनु भएका हिक्मतकुमार कार्की एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ । आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोराका साथ झापामै रहनु भएका कार्कीको बाल्यकाल गौरादहमै वितेको थियो एसएलसीसम्मको अध्ययन स्थानीय जनता माध्यमामिक विद्यालयबाट पूरा गर्नुभएका कार्की २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुँदा जम्मा १५ वर्षको मात्रै हुनुहुन्थ्यो । ओठमाथि भर्खर जुँगाको रेखी बस्न थालेदेखि नै राजनीतिमा सक्रिय रहँदै आउनु भएका कार्की पार्टी भित्र पनि बौद्धिक र शालिन व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागिता

विद्यालय तहमै अध्ययन गर्दाताका देखि नै अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा होमिनु भएका कार्की पार्टी सम्पर्कमा भने २०३६ सालतिरबाट पुग्नु भएको थियो । एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि महेन्द्र बहुमुखी क्याम्पस, धरान पुग्नु भएका कार्कीले २०४२ सालमा धरानमा आईएल अध्ययन गर्नुभएको थियो ।
आईएलको पहिलो ब्याज धरानमै सकेर उच्च शिक्षाका लागि उहाँ काठमाडौंको नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना हुनु भएको थियो । कानुनमा स्नातकोत्तर तह(एलएलएम) सम्मको अध्ययन पूरा गर्नु भएका कार्की अनेरास्ववियुको तल्लो तहदेखि नै सक्रिय रहँदै आउनु भएको थियो ।

अनेरास्ववियुका विभिन्न तहका कमिटीहरुको नेतृत्वदायी भुमिका खेल्नु भएको कार्कीले क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौं, बाग्मती अञ्चल कमिटीलगायतमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेपाल ल क्याम्पसमा स्वतन्त्र विध्यार्थी युनियनको सभापतिको जिम्मेवारी सम्हाल्नु भएका उहाँ ३४ वर्षको उमेरमा अर्थात २०५५ सालमा अनेरास्ववियुको अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो । विद्यार्थी विशेष जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले) को नवौं राष्ट्रि महाधिवेशनबाट केन्द्रीय उहाँ कमिटीमा प्रवेश गर्नु भएको थियो ।

नेपाल ल क्याम्पसमा स्वतन्त्र विध्यार्थी युनियनको सभापतिको जिम्मेवारी सम्हाल्नु भएका उहाँ ३४ वर्षको उमेरमा अर्थात २०५५ सालमा अनेरास्ववियुको अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो

पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनदेखि नै स्वयंसेवकको केन्द्रीय कमाण्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसंगै महत्त्वपूर्ण भुमिकामा रहदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा आउनु भएको थियो ।

नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटिको ईन्चार्जका रुपमा जिम्मेवारी बहन गरिसक्नु भएका कार्की संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरि पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा उहाँले प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका कुशलता पुर्वक निर्वाह गरीसक्नु भएको छ ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्कीले प्रदेश नम्बर १ को संस्थापक आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा कुशलता पूर्वक जिम्मेवारी बहन गर्नुभएको छ । २०७४ फाल्गुन ३ गते जिम्मेवारी प्राप्त गर्नु भएका उहाँ करीब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिनु भएको थियो । उहाँको कार्यकालमा ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा भएका थिए ।उहाँ नेकपा (एमाले) को चितवनमा सम्पन्न दशौँ महाधिवेनबाट केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको थियो । 

यसरी कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएका कार्कीले प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा पनि उल्लेख्य काम गर्नुभएको छ । प्रदेश प्रहरीहरुको क्षमता अभिवृद्धि, सस्थागत सवलिकरण, अधुनिकिकरण र पुर्वाधारको विकासमा पनि उहाँका महत्वपूर्ण योगदान छ ।

सिमा सुरक्षा मजबुत नबनेसम्म आन्तरिक सुरक्षा व्यवस्थ फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रीय सरकार मातहतको सशस्त्र प्रहरी बल लाई समेत सबल र सक्षम बनाउदै लैजानु पर्छ भनेर उहाँले सिमा सुरक्षाका निम्ती उल्लेख्य काम गर्नुभएको थियो । संचार क्षेत्रको समेत जिम्मेवारी लाई बोध गर्दै प्रादेशिक सन्चार प्रतिष्ठान स्थापना गरि समग्र सन्चार क्षेत्रको विकासमा समेत उहाँको योगदान रहेको थियो । उहाँ अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईन्चार्जका भुमिकामा हुनुहुन्छ ।