बालेनलाई हर्कको सन्देशः डोजर आतंक होइन प्रक्रिया पूरा गरेर चलाउनुपर्छ

काठमाडौं, ८ माघ । बालेन साह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएर आएको आठ महिना व्यथित हुन लागेको छ । यो आठ महिनामा बालेन मेयर रहेको काठमाडौं महानगरपालिकाले ५० भन्दा बढी क्षेत्रमा डोजर चलाई सकेको छ । जति पनि ठाउँमा मेयर बालेनको डोजरले संरचना भत्काएको छ । ती अधिकांश ठाउँमा प्रक्रिया नपुर्याई भत्काउने काम भएको छ ।

अझ सरल भाषामा भन्ने हो भने मेयर बालेनको डोजर निर्माणमा नभई संहारमै प्रयोग हुँदै आएको छ । पछिल्लो समय बालेनको डोजर आतंकपछि काठमाडौंका स्थानीय समेत आक्रोशित बन्न थालेका छन् । त्यति मात्रै होइन बालेनको डोजर आतंकसँगै पहिला उहाँलाई समर्थन गर्नेहरु पनि एकपछि अर्को गर्दै बालेनको विरोधमा उत्रिन थालेका छन् । ती मध्ये एक हुनुहुन्छ । सुमन सायमी उहाँ अहिले बालेनको डोजर आतंकको सबै भन्दा बढी आलोचक बन्नु भएको छ ।

अवैध रुपमा निर्माण भएका संरचनाहरुलाई हटाउने र सहरी सुव्यवस्था कायम गर्ने जिम्मेवारी पालिकाको हो । काठमाडौं महानगरपालिकाले पनि गर्नु पर्ने त्यसै हो । तर, अहिले बालेनको डोजर गलत ठाउँमा प्रयोग हुन थालेपछि उहाँविरुद्धको आक्रोश बढ्दै जान थालेको छ । अझ गज्जब त के छ भने भत्काएर चर्चा कमाउने बालेनको लहडी स्वाभावका कारण सहरलाई व्यवस्थित र सुन्दर बनाउने होइन भत्काइएका संरचनाका कंक्रिटहरुको व्यवस्थापनमा ध्यान नदिइ असरल्ल छाड्दा थप कुरुप बनेको छ ।

भत्काएर लोकप्रिय बन्ने बालेनको रणनीतिलाई केही समय धेरैले समर्थन गरे । त्यो समर्थनबाट हौसिनु भएका बालेन पछिल्लो आतंक मच्याउने शैलीमा प्रस्तुत हुन थालेपछि कुनै समय उहाँलाई समर्थन गर्नेहरु पनि उहाँको त्यो शैलीलाई गुण्डागर्दी शैली भन्न थालेका छन् । केही दिन अघि वडा ३१ को शंखमुलमा नीजि जग्गा कब्जा गर्न महानगरको टोली पुगेपछि अहिले अभियन्ता, महानगरबासी र रैथानेहरुलाई पनि बालेन शैलीको विरोधमा उत्रिन बाध्य बनाएको छ ।

उनीहरुले माघ १५ मा खवदारी कार्यक्रमको समेत आयोजना गरेका छन् । उहाँको लहडी अर्थात एकसुरे स्वाभावका कारण एकपछि अर्को विवादमा फस्ने मात्रै होइन उहाँको उदण्ड र गुडागर्दी शैलीका कारण द्वन्द्व बढ्ने खतरा समेत बढ्दै गएको छ । नियम–कानुनलाई समेत कत्लेआम गर्दै अराजक शैलीमा डोजर चलाउँदै हिड्ने बालेनको शैलीबाट आजित बनिरहेका बेला आज बालेन जस्तै स्वतन्त्र हैसियतमा धरान नगरपालिकाबाट मेयर निर्वाचित हर्क राज राई साम्पाङले डोजर चलाएको विषय चर्चामा आएको छ ।

नियम–कानुनलाई समेत कत्लेआम गर्दै डोजर आतंक मच्याउने बालेन भन्दा फरक शैलीबाट हर्कले आफ्नो पालिकामा डोजर चलाएपछि धेरैले बालेनलाई हर्कबाट सिक्न सुझाव समेत दिन थालेका छन् ।

नियम–कानुनलाई समेत कत्लेआम गर्दै डोजर आतंक मच्याउने बालेन भन्दा फरक शैलीबाट हर्कले आफ्नो पालिकामा डोजर चलाएपछि धेरैले बालेनलाई हर्कबाट सिक्न सुझाव समेत दिन थालेका छन्

माथिको आदेश भन्दै डोजर लिएर पुग्ने काठमाडौं महानगरको भन्दा फरक शैलीमा आज धरानमा डोजर चल्यो । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि डोजर चलायो । उपमहानगरपालिकाले पार्क बनाउने भनेको क्षेत्रमा मुना चौधरी लिम्बूले घर बनाएकाले डोजर लगाएर हटाएको धरान उपमहानगरपालिकाले जानकारी दिएको छ । तर, त्यहाँ डोजर चलाउँदा धरान उपमहानगरपालिकाले काठमाडौं महानगरपालिकाले जस्तो हचुवाका भरमा नभई प्रक्रिया पुर्याएर भत्काएको बताएको छ ।

‘सार्वजनिक जग्गा ओगट्ने काम भएको थियो । हामीले बारम्बार सूचना दिदाँ पनि मानेनन्,’ मेयर राईले भन्नुभयो, ‘त्यहाँ पार्क बनाउने भनेर पहिलादेखि नै संरक्षण गरेको जग्गा हो । स्थानीयहरुले अलिअलि दादागिरी शैली देखाउन खोजे । बारम्बार सूचना दिदाँ पनि नमानेपछि आज सबै प्रक्रिया पूरा गरेर डोजर चलाएका हौँ ।’

उपमहानगरले यस अघि पनि घर भत्काउने प्रक्रिया अघि बढाएको थियो । तर, घर धनीले अदालत गुहारेका थिए । घरधनी मुना चौधरी लिम्बू सुनसरी जिल्ला अदालतको ढोका ढकढक्याउन पुग्नु भएको थियो । अदालतले निवेदकले माग गरेअनुरुप अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भनेपछि नगरपालिकालाई प्रक्रिया अघि बढाउन सहज भएको हो ।