प्रेमप्रसादको मृत्युमा रवि र बालेनको सन्देशः राज्य असफल भयो, यो परिस्थिति हामीले ल्याएको होइन’

काठमाडौं, माघ ११। मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएका इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जाल फेसबुकमार्फत धेरैले मृतआत्माको चीर शान्तिको कामना गरेका छन् । आचार्यको मृत्युपछि पछिल्लो समय नयाँ शक्तिका रुपमा उदाएका नेताहरुले पनि आचार्यको मृत्युलाई आफू अघिको मुलुकको शासन व्यवस्थालाई कारण देखाएर उम्किने प्रयास गरेका छन् ।

अझ उनीहरुले दोष अरुलाई देखाएर आफूहरुले थप सेन्टिमेण्ट लिने प्रयास सामाजिक सञ्जालमार्फत गरेका छन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्तिका रुपमा उदाएको दल हो । त्यो दलको नेतृत्व रवि लामिछानेले गर्नुभएको छ । उहाँ अहिले मुलुकको गृहमन्त्री पनि हुनुहुनछ । तर, संसद भवनकै सामुन्ने एक नागरिकले आत्मदह गर्ने घटना कसरी भयो भन्ने कुराको गहिराइमा नपुगी उहाँले सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर राजनीतिमा आएको र भर्खर सरकारमा सामेल भएको तर्क गर्दै दोष अन्य राजनीतिक दलमाथि थुपार्ने प्रयास गर्नुभएको छ ।

रवि लामिछानेले जस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पनि आफ्नै महानगरपालिका भित्र एक नागरिकले आत्मदह गरेको विषयलाई लगेर अरु राजनीतिक दलको असफलतातिर जोड्ने प्रयास गर्नुभएको छ । गृहमन्त्री लामिछाने एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो भन्दै उहाँको मृत्युको कारण आफू अघिको शासन व्यवस्थालाई दोष थुपार्दै आफू सकेसम्म उम्किने प्रयास गर्नुभएको छ ।

‘यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ,’ उहाँले लेख्नुभएको छ, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।’

उहाँले प्रेम आचार्य जी भन्दै थप लेख्नुभएको छ– ‘नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो भन्दै दोष अरुमाथि नै थुपार्ने प्रयास गर्नुभएको छ । ‘उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको छ’ साहले लेख्नुभएको छ, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

उहाँले नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उल्लेख गर्नुभएको छ । ‘नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन’, उहाँले भन्नुभएको छ ।

स्वास्थ्य राज्य मन्त्री समेत रहनु भएकी सांसद तोसिमा कार्की पनि मंगलबार बेलुकी कीर्तिपुर अस्पताल पुगेर ‘हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पथ्र्यौ । केही न केही उपाय खोज्थ्यौं’ भन्दै भावुकता प्रकट गर्नुभएको थियो । तर, उहाँको ज्यान नै नबाँचेपछि उहाँको भावुक सन्देश पनि अर्थहीन भएको छ ।