कमजोर बन्दै बालेनको साइबर सेना

काठमाडौं, १७ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समर्थित साइबर सेना यतिबेला कमजोर बन्दै गएको देखिन थालेको छ । मेयर साहका ज्यादति विरुद्ध काठमाडौंमा प्रदर्शन समेत हुन थालेपछि गएको केही सातादेखि सामाजिक सञ्जाल र मूलधारका मिडियामा उहाँका विरुद्ध लगातार नकारात्मक सामग्रीहरू आउन थालेपछि मेयर साह समर्थित ‘साइबर सेना’ कमजोर देखिन थालेको हो ।

मेयर साहले आफ्ना गतिविधिहरूलाई व्यक्तिगत बनाई प्रचार प्रसार गर्न आफ्नो छुट्टै मिडिया ग्रुप सञ्चालन गराइरहनुभएको छ । स्रोतले दिएको जानकारी अनुसार यसको लागि केही व्यक्तिलाई उहाँले महानगरपालिकाबाटै तलब जाने गरी फोटो ग्राफर, क्यामेरा म्यान भनी सेवा–सुविधाको व्यवस्थापन गर्दै आउनु भएको छ ।

यी साइबर सेनाले मेयर साहका विभिन्न गतिविधिहरूलाई टिकटक, ट्विटर, फेसबुक, इन्स्टाग्राम आदि जस्ता माध्यममा आकर्षक ढंगले प्रस्तुत गर्दै आइरहेको थियो । साहका विरुद्ध लेख्ने बोल्नेहरूलाई पनि सामाजिक सञ्जाल मार्फत तथानाम गाली गर्ने काम पनि यही साइबर सेनाले गर्दै आइरहेको छ ।

बालेनका आलोचकहरूलाई आक्रमण गर्ने साइबर सेनाका यी सदस्यहरूको अधिकांश नाम कुनै पनि यथार्थ लाग्दैनन् । जथाभावी राखिएका ती नामधारीहरूको प्रोफाइल खोलेर हेर्यो भने त्यसमा एक दुई वटा हिमाल पहाड र फूलका फोटो राखिएका हुन्छन्, अरु विवरण हुँदैन ।

तसर्थ यी नामहरू कृत्रिम हुन् र यस्तै कामको लागि सिर्जना गरिएका हुन् भन्ने स्पष्ट हुन्छ ।

बालेन साहद्वारा सञ्चालित भनी पुष्टि भएको लोकप्रिय साइट ‘रुटिन अफ नेपाल बन्द’ ले पनि बालेनको समर्थनमा अरुको आलोचना हुने झुठा सामग्री पस्कन शुरु गरेको छ । हिजो यसले पोष्ट गरेको एउटा सामग्रीमा ‘बालेन शाहका कामको विरोध गर्दै माइतीघरमा प्रदर्शन’ भन्ने क्याप्सन राखिएको थियो ।

जब कि सबैलाई थाहा भएको कुरा हो, माइतीघरमा भएको उक्त प्रदर्शन बालेन साहको कामको विरोध होइन, ज्यादतिको विरोधमा हो ।

अनौठो त के छ भने मेयर साहका कतिपय गतिविधिहरू उहाँका साइबर सेनाले व्यापक प्रचार गरिसकेको हुन्छ तर महानगरपालिकाको आफ्नै आधिकारिक न्यूज पोर्टल ‘मेट्रो न्युज’ मा भने त्यसको समाचार आएको हुँदैन । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, आँखा विशेषज्ञ डा. सन्दुक रुइत आदिलाई भेट्न जानुभएको समाचार महानगरपालिकाको आधिकारिक न्यूज पोर्टलमा आएको छैन ।

उहाँका धेरैजसो गतिविधिहरू महानगरपालिकाका आधिकारिक सञ्चार माध्यमहरूले सुइँको समेत पाएको हुँदैन, तर साइबर सेनाका युट्युबवालाहरू भने घटनास्थलमा मेयरभन्दा अगाडि पुगिसकेका हुन्छन् ।

मेयर बालेन साह काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा चुनाव उठ्नु भई स्वतन्त्र रुपमै विजयी हुनुभएको थियो । उहाँको कुनै पार्टी, संगठन वा कार्यकर्ता छैनन् । उहाँको प्रमुख शक्ति भनेकै सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालको व्यवस्थित तर चलाखीपूर्ण प्रयोगबाटै उहाँ मेयर पदमा विजयी हुनुभएको हो ।

जानकार सूत्रहरूका अनुसार आफूलाई सहयोग गर्ने यो साइबर सेनालाई उहाँले चुनाव जितिसकेपछि महानगरपालिकाकै बजेट प्रयोग गरी अझ व्यवस्थित बनाउनुभएको छ । यसको लागि उहाँले कहिले पब्जी खेलको नाममा त कहिले अनलाईन खेलकुदका नाममा बजेट पठाउने गर्नुभएको छ । तर शीर्षक जे भए पनि यो बजेट जाने भनेको उहाँको यही साइबर समूहलाई हो ।

यदि उहाँको साइबर सेना पनि कमजोर भयो भने उहाँको साँच्चैको शक्ति नै कमजोर बन्न सक्ने दावी जानकारहरूको रहेको छ । कुनै बेला कार्यपालिकाको बैठकमा मेयरको आलोचना गर्ने वडा अध्यक्षहरूलाई समेत ट्रोल बनाएर बेइज्जत गर्ने बालेनको साइबर सेनाले यस पटक भने सार्वजनिक रुपमै बालेनलाई खबरदारी गर्ने वक्ताहरूलाई समेत केही गर्न सकेको देखिएन । अहिले सामाजिक सञ्जालमा बालेन साहलाई गँजडीको आरोप लगाई उहाँको ब्लड टेस्ट गर्नुपर्नेसम्मको चुनौती दिनेहरू देखिन थालिसकेका छन् ।

बालेन समर्थक साइबर समूहले यसलाई पनि चिर्न सकेको देखिँदैन । उनीहरुले बालेनको बचाउमा केही प्रयास गरेको भए पनि बालेन विरोधी सामग्रीको भेलले त्यसलाई भुत्ते साबित गरिदिएको छ ।

अब बालेन साहले आफ्नो साइबर सेनालाई हल्लखल्लापूर्ण सामग्री उपलब्ध हुने गरी फेरि अर्को ‘स्टन्ट’ गर्न सक्ने दावी पनि सूत्रले गरेको छ । यसै क्रममा उहाँले महानगरपालिकाका केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गर्दै रहेको ‘ठूलो’ समाचार प्रकाशित भएको छ ।

महानगरपालिकाका कर्मचारीहरू जनताको काममा भन्दा पनि ठेक्का र टेण्डरको काममा बढी सक्रिय हुने गरेकाले त्यस्तो काममा बढी संलग्न हुने कर्मचारीहरूलाई अख्तियार मार्फत सम्पत्ति छानबिन गराउने योजना उहाँले सार्वजनिक गराउनुभएको हो ।

तर उहाँको यो प्रचार साँच्चैकै काम गर्ने भन्दा पनि अहिले आफू विरुद्ध बढिरहेको आलोचनालाई अन्ततिरै ध्यान मोड्ने प्रयास मात्रै हुनसक्ने दावी जानकार सूत्रले गरेको छ ।