लरखराएको स्वाभिमान फर्काउन रविले विगतको हठ र गल्ती त्याग्लान ?
काठमाडौं, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापनाको छोटो समयमै अभूतपूर्व सफलता हात पार्दै सिंहदरबारसम्मको यात्रा तय गर्न सफल भयो । तर, त्यो सफलता अहिले लरखराएको अवस्था छ ।
रास्वपाका सभापति रवि लामिछानेले प्रयोग गर्दै आएको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरिदिएपछि शक्तिशाली मन्त्रीको हैसियतमा सिंहदरबार प्रवेश गर्नुभएका लामिछाने गोधूलि साँझमा निरीह बन्दै निस्किन बाध्य हुनुभयो ।
करीब २४ घण्टाजति उहाँले सिंहदरबारबाट बाहिर निस्किने बेलामा दिएको प्रतिक्रिया जस्तै ‘अनागरिक’ बन्नुभयो । एकाएक शक्तिशाली मानिने गृहमन्त्रीको मात्रै जिम्मेवारी उहाँबाट खोसिएन । उहाँले अभूतपूर्व मतसहित प्राप्त गरेको सांसद पद पनि खोसियो ।
यसरी दुबै पद खोसिएका लामिछानेले भोलिपल्टै काठमाडौंको जिल्ला प्रशासनमा पुगेर रीतपूर्वक नेपाली नागरिकता लिनुभयो भने आफूसँग भएको ‘विवादित’ पासपोर्ट पनि राज्यलाई नै फिर्ता गरिदिनुभयो ।
करीब २४ घण्टा अनागरिक बन्नुभएका लामिछाने अहिले नेपाली नागरिक बन्नुभएको छ । तर, उहाँले गुमाएको गृहमन्त्री र सांसद पद प्राप्तिको विषय भने एकपछि अर्को गर्दै जटिल मात्रै बन्दै गएको छ, उहाँले नागरिकता प्राप्त गरे जस्तै गृहमन्त्री र सांसद पद प्राप्तिको बाटो भने सहज नभई झन् जटिल बन्ने देखिएको छ ।
कुनै समय नातेदार भिसामा एनआरएनको हैसियतमै अमेरिकी पासपोर्टमा नेपाल फर्किनुभएका लामिछानेले त्यसपछि उता फर्किने भन्दा पनि यतैको माटोमा केही गर्ने आँट गर्नुभयो । त्यो सकारात्मक पक्ष हो । तर, त्यो हुँदाहुँदै पनि उहाँले आफू जन्मिएको माटोको संविधान, नियम, कानुन सबैलाई कत्लेआम गर्दै र खुलेआम चुनौति दिँदै गरेका काम विवादित बने । त्यो आफैँमा गलत काम थियो ।
उहाँले ‘सीधा कुरा जनतासँग’ भनेर चलाउनु भयो । कुनै समय गुमनाम जस्तै रहेको न्युज २४ लामिछानेको कार्यक्रमसँगै चर्चामा आयो भने लामिछाने पनि चर्चाको शिखरमा पुग्नुभयो । अमेरिकी पासपोर्टमा नेपाल आउनुभएका उहाँले ‘वर्क पर्मिट’ लिएर काम गर्ने कुरालाई समेत लत्याइ दिनुभयो ।
उहाँको चर्चा यति धेरै भयो कि उहाँले आफूलाई त्यही चर्चाको चुलीमा राखेर निमय, कानुन र संविधानको परिधि भित्र आफू बस्नुपर्छ भन्ने हेक्कालाई समेत कत्लेआम गर्नुभयो । उहाँले त्यतिबेला रित पुर्याएर नेपाली नागरिकता लिने कुरा त धेरै परको विषय भयो, सूचना विभागको पास समेत रित पुर्याएर लिने कुरालाई उहाँले त्यो लिनु भन्दा न्युरोडमा गएर जुत्तामा पोलिस लगाएर बस्नेसम्मको अराजक टिप्पणी गर्दै नियम–कानुनको धज्जी उडाइ दिनुभयो । उहाँले त्यतिबेला नजरअन्दाज गरेको त्यही विषयलाई अहिले सर्वोच्चले गलत भनेपछि लामिछानेको राजनीतिको आगामी बाटो कता जाला भन्ने अन्योल बनेको छ ।
त्यतिबेलै उहाँले दुरदर्शी ढंगले सोचेर आफूलाई संयमित बनाउनु भएको थियो भने सायद यो खालको विवादमा उहाँ अवश्य पनि फस्नु हुने थिएन । तर, उहाँले एकपछि अर्को गर्दै भिडको उक्साहतमा आफूलाई नियम–कानुन भन्दा माथि राख्ने हर्कत गर्नुभयो । त्यो उहाँको ठूलो कमजोरी थियो । आफूलाई बुद्धिजीवी भन्ने र शक्तिशाली राष्ट्रको ‘ग्रिनकार्ड’ लिएको र लामो समय त्यहाँको समाज बुझेको व्यक्तिको अपरिपक्व शैलीको भुक्तमानी अहिले लामिछानेले खेपिरहनु भएको छ ।
तर, कुनैबेला भिडको बलमा आफूले गरेको कमजोरीको भुक्तमानी अहिले खेपिरहनु भएका लामिछानेको पछिल्लो गतिविधिलाई नियाल्ने हो भने अझै पनि उहाँमा चेत आएको देखिँदैन ।
उहाँले पछिल्लो समय नेपाली नागरिकता लिएर फेरि गृहमा फर्किन गरेको हठ उहाँ स्वयंका लागि घातक बन्ने निश्चित छ । तर, अहिले पनि उहाँ त्यही पहिलाको हठलाई दोहोर्याउँदै एकोहोरो ढंगले गृहको पछि लाग्नु निश्चय पनि सकारात्मक सन्देश होइन ।
गैर सांसदको हैसियतमा गृहतिर नजर
लामिछाने नेपाली नागरिकता लिएपछि गैर सांसदको हैसियतमा फेरि गृहमा फर्किने हठमा हुनुहुन्छ । पछिल्लो समयको उहाँको दौडधुप त्यसैमा केन्द्रित देखिन्छ । कुनै बेला उहाँ सञ्चारकर्ममा सक्रिय हुँदा गैर सांसदलाई मन्त्री बनाउने कुराको तिव्र विरोध गर्नुभएको थियो । यतिसम्म कि उहाँले १० लाख बढी फ्यान भएको फेसवुक पेजमा गैर सांसदलाई मन्त्री बनाउने कुराको विरोध गर्दै सन् २०२१ अक्टुवर ८ मा एउटा स्ट्याटस यस्तो लेख्नु भएको थियो – ‘जे ठा न ठान.. गैर सांसद मन्त्री भै छाडे । विधि पद्धति आदेश परमादेश फ्लोर क्रस र यो लिमिट क्रस…उफ् !!!!’
अहिले उहाँको त्यही अभिव्यक्तिलाई समेत गिज्याउने गरी उहाँ कहिले बालकोट त कहिले बालुवाटर गरिरहनु भएको छ । केही दिनको दौडधुपबाट थकित लामिछानेले बिहीबार दिक्क हुँदै आफ्नो मौनता आजसम्मका लागि मात्र भएको भन्दै सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस नै लेख्नुभयो । उहाँले त्यही स्ट्याटसमा ‘म अभिमन्यु होइन’ सम्म भन्न भ्याउनुभयो ।
अझै अघि बढेर उहाँले लेख्नुभयो— ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’ उहाँको त्यो चेतावनीपूर्ण स्ट्याटसले ठूलो तरंग पैदा गरिदियो । यतिसम्म कि लामिछानेले नेतृत्व गरेको रास्वपाले बिहीबार नै सरकार छाड्नेसम्मका अनुमान धेरैले गरे । तर, बिहीबार साँझ बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेर सबैको अनुमानलाई गलत सावित गरिदियो । बरु उक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह भन्दै उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्दै दुई दिन पर्खिने निर्णय गर्यो ।
रास्वपाले देखाउनका लागि त्यो निर्णय गरे पनि यथार्थ भने फरक रहेको बुझिएको छ । भर्खरै सरकारमा गएको रास्वपाले तत्कालै सरकार छाड्दा गलत सन्देश जाने भन्नेहरुको मत बलियो बनेपछि सभापति लामिछाने नरम बनेको बुझिएको छ ।
गृह रविलाई कि रास्वपालाई ?
अहिले पछिल्लो समय गृहका लागि लामिछानेले गरेको हठका कारण गृह रास्वपालाई कि रविलाई भन्ने बहस पनि चर्को बनेको छ । गठबन्धनको नेतृत्व गरेको दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदैैँ गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको भन्दै सहमति अुनसार उसैलाई दिनुपर्नेमा जोड दिनुभयो । ‘हामीले सहमति अनुसार गृह मन्त्रालय दिएको भनेको रास्वपालाई नै हो,’ उहाँले भन्नुभयो, ‘अब उनीहरुलाई गृहमन्त्री नदिने एकतर्फी रुपमा छुट्टै ढंगको निर्णय गर्ने भन्ने कुराले अप्ठ्यारो पैदा गर्छ । त्यसैले यो विषयमा हामी छलफलमा छौँ । धेरै ठूलो छलफल आवश्यक छैन ।’
अध्यक्ष ओलीको आसय हेर्दा गृह रास्वपालाई नै दिनुपर्ने भन्ने देखिन्छ । रास्वपाले पनि ओलीकै आसयमा गृह पाउनुपर्छ भन्ने अडानबाट पछि नहट्ने अडान लिएको छ ।
तर गृह रास्वपालाई दिने भन्नुको अर्थ रविलाई नै दिने भनेको होइन । यो पद पार्टीलाई आएको हो, कुनै व्यक्तिलाई आएको होइन । यदि रविको मुद्दा विवादमा रहेको छ भने उहाँले आफ्नो सट्टा पार्टीका अर्का सांसदलाई गृहमन्त्रीका रुपमा अघि सार्नु पर्दथ्यो । त्यसो गरेको भए ‘रविलाई गृह दिन्न’ भनिरहेका प्रधानमन्त्री प्रचण्डलाई पनि अप्ठ्यारो अवस्था हुन आउँथ्यो ।
पार्टीलाई आएको गृहमन्त्रीको पद आफू बाहेक अरु कसैलाई नदिने रविको हठले आफ्नै पार्टी भित्र पनि कलह उत्पन्न गरिदिने खतरा छ जसको संकेत अहिले देखिइ नै सकेको छ । रविलाई गृह नदिएकै कारणले सरकार छोड्ने भन्ने विषयमा पार्टीको मत विभाजित भएको थियो ।
गैर सांसद मन्त्री हुने भनेको ६ महिनाका लागि मात्रै हो । ६ महिनासम्ममा उहाँले सांसद जितेको ठाउँमा उपनिर्वाचन होला भन्ने कुनै ज्ञारेण्टी छैन । निर्वाचन भयो भने पनि उहाँले जित्नुहोला भन्ने ज्ञारेण्टी छैन ।
सर्वोच्चको फैसलासँगै रविको स्वाभिमान अहिले लरखराएको छ । त्यो लरखराएको स्वाभिमानलाई फर्काउने हो भने रविले भिडको पछि लागेर हठ गर्ने भन्दा पनि विगतको गल्ती सच्याएर अघि बढ्नेमा ध्यान दिन जरुरी छ ।
यस्तो बेलामा गृहको जिम्मेवारी लिने भन्ने कुरा त झन गलत छ । यस्तो विषयलाई हल्लाफुल्का रुपमा लिँदै गृहकै हठ लामिछानेले गर्नु भनेको फेरि अर्को गल्ती दोहोर्याउनु हो । भिडले उचालेको भरमा लामिछानेले यो गल्ती दोहोर्याउनु होला या नहोला त्यो हेर्न भने रास्वपाको बैठकको निर्णयलाई नै आधार मान्दा पनि अझै एक दिन कुर्नुपर्ने हुन्छ ।