भद्र घलेका नजरमाः ओली, देउवा, प्रचण्ड, नेपाल र रवि लामिछाने (भिडियोसहित)

केपी शर्मा ओली

‘अहिलेको राजनीतिमा केपी ओली चतुराइ (चलाखी) भएको चतुरो (बाठो) मान्छे हो,’ भद्र घलेले भन्नुभयो, ‘बहुमत ल्याएर दङ्ग परेर छैटौँ पटक प्रधामन्त्री बन्छु भनेर बसेको देउवालाई हिस्स बनाएर केपी ओलीले पुष्पकमलसँग हात मिलाएर तेस्रो पटक उसलाई प्रधानमन्त्री बनाई दियो । यस्तै कामकुरोले उहाँको चतुराइलाई त तपाईँले पनि मान्नु पर्यो, मैले पनि मान्नु पर्यो नि ।’

घलेले अर्को एक प्रसङ्गमा पनि ओलीको खुलेर प्रशंसा गर्नुभएको छ । ‘मैले केपी शर्मा ओलीको प्रशंसा गरेको होइन । ओलीको कृयाकलापको प्रशंसा गरेको हो,’ उहाँले भन्नुभयो, ‘त्यो बेलामा ओलीले के गर्यो भने ग्याम्म जमघट भएर अँगालो हालेर कांग्रेससँग बसेको माओवादीलाई फकाई फुलाई गरेर आफुँसँगको पो मिलायो । आफूसँग मिलाएर झण्डै दुईतिहाई मत ल्यायो । त्यति मत ल्याएपछि प्रधानमन्त्री ओली आफैँ भयो र कम्युनिष्ट सरकार बनायो ।’

नेपाल जस्तो धर्मभीरु देशमा कांग्रेसले २००७ सालदेखि जरो गाडिरहेको राजनीतिमा ओली प्रधानमन्त्री भएको सन्दर्भ उल्लेख गर्नुभयो । ‘अनि ओलीलाई प्रशंसा गर्नु पर्यो कि परेन ? ओलीको राजनीतिलाई राजनीति भन्नु पर्यो कि परेन ? ओलीको बुद्धिमतालाई प्रशंसा गर्नु पर्यो कि परेन ? त्यहि भएर ओलीको प्रशंसा गरेर मैले किताव लेखे,’ उहाँले भन्नुभयो, ‘फेरि अहिले दोस्रो पञ्च वार्षीय चुनावमा सतर्कता गराए । अहिले गठबन्धन गरिरहेको साथी माओवादी, माधव नेपाल सबैलाई केपी ओलीले लात्ती हानिरहेका छन् । उनीहरु फेरि कसरी ओलीसँग टाँसिन जालान भने कांग्रेसले प्रधानमन्त्री त मै हुनुपर्छ भनेर भनिरहेको थियो शेरबहादुर देउवा । तर, थपक्क गएर प्रचण्डले केपी ओलीसँग हात मिलाएर ऊ त सपथ ग्रहण गर्न पो गयो, शीतल निवासमा । त्यसैल नेपालको राजनीतिमा अहिले पनि त्यो चलाखीपन ओलीसँग मात्रै छ ।’

शेरबहादुर देउवा

‘न तातो, न चिसो, न खरो केही नभएको कसैलाई भनि नविझाउने सौम्य । तर, कांग्रेसमा सहुलियत बेस्सरी उठाउनुभयो,’ उहाँले भन्नुभयो,’ ‘दिलका धेरै बाठा । पाँच–पाँच पटक प्रधानमन्त्री भएर देखाई दिए, कसैले विरोध गरेनन् कांग्रेसी कस्ता कांग्रेसी त ? तर, कांग्रेसका त गज्जबका नेताहरु कोइराला हुँदा कोइरालाहरुले मात्रै लिन्थे प्रधामन्त्री । शेरबहादुर देउवाका हातमा आएपछि खुइँखुईँ पाँच चोटी भैदियो ।’

प्रचण्ड

‘प्रचण्डमा केही न केही केन्द्रीय अध्यक्ष हुने क्षमता छ,’ उहाँले भन्नुभयो, ‘माओवादी जस्तो रक्तक्रान्ति हुनलाई प्रचण्डको अध्यक्षतामा गठन गरेको माओवादी अहिलेसम्म छाडेको छैन । पढेलेखेका त्यत्रा इञ्जिनियर भएका त्यस्ता टाठाबाठा बाबुरामजीले समेत दायाँबायाँ गराउन र झुकाउन सकेनन् प्रचण्डलाई । भनेपछि प्रचण्ड बाठै हुन् ।’

माधवकुमार नेपाल

‘माधवकुमार नेपालको स्वाभाव मलाई मन परेन,’ उहाँले भन्नुभयो, ‘ओलीजी अध्यक्ष भैरहेका बेला सहयोग गर्नुपर्ने होइन ? यस्तो देशमा कम्युनिष्टहरुको सरकार बनाउने कुरा त कम्युनिष्टहरुले गर्व गर्ने कुरा हो । ओलीबाट खोसेर कांग्रेसलाई दिने प्रधामन्त्री यो राम्रो काम गरेको होइन ? ओलीले कस्तो मेहनतका साथ सरकार बनाएको त्यसलाई फुटाएर टुटाएर, लछारेर पछारेर लगेर कांग्रेसलाई दिए ।’

रवि लामिछाने

भद्र घलेले पछिल्लो समय नागरिकता विवादमा परेर गृहमन्त्री र सांसद पद गुमाउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गल्ती गरेको बताउनु भएको छ ।
‘रवि लामिछानेले गल्ती गरे,’ उहाँले मैत्रीन्युजसँग कुराकानी गर्दै भन्नुभयो, ‘उनले ठूलो गल्ती गरे, त्यस्ता पढेलेखेका मान्छे भएको त्यस्तो सजग र विकसित देशमा बसेर आएको मान्छेलाई थाहा हुँदैन ।’ एउटा माननीयले कसरी उठ्नुपर्छ ? के गर्नुपर्छ भन्ने कुरा नै उहाँले थाहा नभएको घलेको भनाई छ ।

‘त्यसरी बेइज्जती हुने काम गर्नुहुन्छ, हुँदैन,’ उहाँले भन्नुभयो, ‘तर, उहाँबाट गल्ती भयो । सरसरसर उपप्रधानमन्त्री पनि भए, गृहमन्त्री पनि भए । अहिले हेर्नुहोस् त ।’ अमेरिकाको ग्रिनकार्ड भएका, अमेरिका घुमेका नेपाली बुद्धिजिवीले त्यसप्रकारको काम गर्नु ठूलो गल्ती भएको भन्दै त्यस्तो गर्नु नहुने बताउनुभयो । त्यसैगरी उहाँले लामिछानेले अहिले सांसद पद गुमाएपछि मन्त्री बन्ने रहर गर्नु नहुने बताउनु भएको छ ।

‘पहिला त चुनाव लड न, ती पहिला भोट दिएका जनताले फेरि भोट दिन्छन् भन्ने के ज्ञारेण्टी छ,’ उहाँले भन्नुभयो, ‘पहिला त चुनाव लडेर जितेर देखाउनु पर्यो । अनि पो गृहमन्त्री बन्ने हो कि उपप्रधानमन्त्री बन्ने हो कि ? अहिले ६ महिना त सांसद नभए पनि मन्त्री बन्न सकिन्छ । उहाँ अहिले मन्त्री बन्न खोज्नु भएको छ । अहिले मन्त्री बनेर पछि निर्वाचनमा हार्नुभयो भने ?’ उहाँले त्यो अवस्थामा अहिलेको बेइज्जती भन्दा महाबेइज्जती हुनेतर्फ पनि सतर्क गराउनुभयो । उहाँले लामिछानेलाई अहिले मन्त्री बन्ने कोशिस नगर्न पनि सुझाव दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *