‘मिसन ग्रासरुट’ हामी र कार्यकर्ता, कार्यकर्ता र जनताबिचको ग्याप कम गर्ने अभियान होः गोकर्ण विष्ट (अन्तर्वार्ता)
नेकपा (एमाले)ले अहिले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको छ । पार्टी सदृढिकरणका लागि भन्दै सुरु गरेको अभियान अहिले सात प्रदेश, ७७ जिल्ला र ७ सय ५३ वटै पालिकामा सञ्चालित छ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टसँग यहि अभियान, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयसँग केन्द्रित भएर मैत्रिन्युज डककमका लागि मोहन बास्तोलाले गरेको कुराकानीः
नेकपा (एमाले)ले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान शुरु गरेको छ । यो कस्तो अभियान हो ?
पार्टीलाई केन्द्रदेखि आधारभूत तहसम्म सांगठनिक र बैचारिक हिसावले चुस्त र सदृढ गर्न जरुरी छ । पार्टीमा लाखौँ कार्यकर्ता छन् । ती कार्यकर्तालाई बैचारिक र सुदृढ बनाउन अनि जनताप्रति उत्तरदायीसँगै थप जिम्मेवार बनाउन आवश्यक छ । यो अभियान यहि मुख्य उदेश्यका साथ सञ्चालन गरिएको हो ।
यो अभियानमा नेकपा (एमाले) प्रति जनताका भनाई के छन् ? भनेर उनीहरुको सुझाव र प्रतिक्रिया लिनका लागि पनि फलदायी हुने अपेक्षा हामीले लिएका छौँ । हामी यहि अभियानकै सिलसिलामा विभिन्न सामाजिक संघ–संस्थाहरुसँग पनि अन्तरक्रिया गर्ने छौँ । पार्टीका आम कार्यकर्ता पङ्क्तिमा केन्द्रीय कमिटीबाट प्रतिनिधिहरु यो अभियानमा पुग्नुहुने छ ।
हामीले यो अभियानमा स्वयं उपस्थित भएर सदस्यता नविकरण गर्ने, पार्टीका परिभाषित जिम्मेवारीलाई पूरा गर्ने सिलसिलामा थप जिम्मेवार हुने जस्ता कुरालाई पनि प्राथमिकतामा राखेका छौँ ।
पार्टी भित्र विगत केही समय यता कतिपय सन्दर्भमा कार्यकर्तामा सैद्धान्तिक, बैचारिक बिचलन देखिएको अनुभूति हामीले गरेका छौँ । सांगठनिक क्षेत्रमा केही अराजकता पनि देखिन्छ । यो सबै कुराको सम्वोधनका लागि पार्टीलाई नयाँ ढंगले अझ सुदृढ गर्ने, सैद्धान्तिक, बैचारिकरुपमा अझ सवल बनाउने उदेश्यले पनि यो अभियान सुरु गरिएको हो । अहिले केन्द्रदेखि लतसम्म सबै नेता–कार्यकर्ता आ–आफ्नो जिम्मेवारीसहित अभियानमा खटिनु भएको छ ।
हामीले अभियान सुरु गर्दाको अवस्था भन्दा अभियान सम्पन्न भैसकेपछि थप सुदृढ बनाउने गरी अघि बढेका छौँ । यो अभियानले अवश्य पनि एमालेलाई थप शसक्त ढंगले अघि बढाउन सहयोग गर्नेछ ।
तपाईँहरु ७७ वटै जिल्ला र ७ सय ५३ वटै पालिकामा एकै पटक यो अभियान लिएर जानु भएको छ । अब यो अभियान सम्पन्न भएसँगै एमाले थप उर्जाशील हुने अपेक्षा गर्न सकिन्छ ?
यो अभियानले एकातिर कार्यकर्ता पङ्क्तिलाई बैचारिक र सांगठनिक रुपमा थप उर्जा दिदैँ जाकरुक बनाउँछ भने अर्कोतर्फ अनुशासित कार्यकर्ताका रुपमा महशुस गर्ने तहमा पुर्याउँछ भन्ने हामीले ठानेका छौँ । पछिल्लो समय जिम्मेवारी ठूलो तर सम्पादन विनाको जिम्मेवारी जस्तो भएको अवस्था छ । यस्ता प्रकारका समस्यालाई पनि यो अभियानले अन्त्य गर्छ भन्ने पनि हामीले अपेक्षा गरेका छौँ । व्यक्तिको योग्यता, क्षमताका आधारमा परिभाषित जिम्मेवारी, परिभाषित जिम्मेवारीका आधारमा कार्यसम्पादन, कार्यसम्पादनका आधारमा मूल्याङ्कन र मूल्याङ्कनका आधारमा कार्यकर्ताको पदोन्नति र अदोन्नतिको प्रणाली स्थापित गर्नका लागि पनि यो अभियानले सहयोग पुर्याउने अपेक्षा गरेका छौँ ।
समग्रमा भन्ने हो भने हाम्रो पार्टी कुन अवस्थामा छ भन्ने बुझ्नका लागि पनि यो अभियानले सहयोग पुर्याउने अपेक्षा गरेका छौँ । योसँगै पार्टी भित्र देखा पर्ने बहुआयमिक अन्तरविरोधलाई समेत समाधान गरेर संगठनात्मक जीवनलाई थप मजवुत बनाउने छ । पुराना–नयाँबिचको अन्तरविरोध, पद पाएका–नपाएका बिचको अन्तरविरोध, यो लवि र त्यो लविबिचको अन्तरविरोध, यो जात–त्यो जात, महिला–पुरुष, यो भेग–त्यो भेग, भविश्यमा आउने विभिन्न अवसरका संभावित प्रतिस्पर्धी, स्वभावजन्य अन्तरविरोध, तल्ला कमिटी र माथिल्ला कमिटीमा रहेकाहरुबिचको अन्तरविरोधलगायतका विभिन्न प्रकारका अन्तरविरोध पार्टी कमिटीमा छन् ।
यी सबैलाई प्रणालीले नै समाधान गर्ने हो । यो अभियानले एकातिर अन्तरविरोधहरुलाई हल गर्नका लागि सहयोग पुर्याउँछ भने अर्कोतिर पार्टीलाई जनतामा जान र स्थापित गर्नका लागि थप सहयोग पुर्याउँछ ।
यो अभियानले हामीप्रति जनताका अपेक्षा के–छन् ? हाम्रो घोषणा र जनताको अपेक्षाका बिचमा कहाँ ग्याप छ ? भन्ने बुझ्नलाई पनि सहयोग पुर्याउँछ । हामीले जितेका स्थानीय तहलगायतका निकायहरुबाट जनताका अपेक्षा पूरा गर्ने सन्दर्भमा कुन प्रकारको भूमिका निर्वाह गरिरहेका छौँ । यो सबैको समिक्षा गर्ने र सुझाव लिने अभियान पनि भएकाले यसले अवश्य पनि पार्टीलाई सुदृढ बनाउँछ भन्ने अपेक्षा गर्न सक्छौँ । हामीले गरेका कमजोरीलाई पार्टीको संगठनात्मक जीवनमा सच्याउनु पर्ने छ भने पनि यो अभियानबाट प्राप्त सुझावहरुले हामीलाई ठूलो सहयोग पुग्ने छ ।
‘मिसन ग्रासरुट’ अभियान एमालेको सदस्य भन्ने एमालेलाई नै गाली गर्ने, एमालेको सदस्य हुँ भन्ने भोट अन्ततिर हाल्ने यस्तो अवस्थाको अन्त्यका लागि पनि फलदायी होला भन्ने अपेक्षा गर्न सकिन्छ ?
पार्टी, आन्दोलन, देश र जनताप्रति इमान्दार जवाफदेही जिम्मेवार नेतृत्व र कार्यकर्ता निर्माण गर्ने सन्र्दभमा यस्ता प्रकारका अभियान गर्नु आवश्यक छ । जबसम्म कार्यकर्ता पङ्क्तिलाई त्यो प्रकारको इमान र जिम्मेवारीता महशुस गराउन सकिँदैन । हामीले चाहेका उदेश्यहरु प्नि पूरा हुन सक्दैनन् । यो अभियानले अवश्य पनि ती कुरा पूरा गर्ने छ ।
यो अभियान आगामी चुनावका लागि मिशन ५० प्लस अभियान भन्ने पनि छ नि ?
पार्टी यो निर्वाचन वा त्यो निर्वाचनको लागि भनेर निर्वाचनमूखि उदेश्यका लागि मात्रै चल्नु हुँदैन । निर्वाचनमा जाने जनताको जनादेश प्राप्त गर्ने, त्यसपछि जनताको सेवा गर्ने कुरा त छदैँछ । यद्यपि, निर्वाचनपछि निर्वाचन मात्रै भन्ने कुरामा हामी अल्झिनु हुँदैन ।
हाम्रो पार्टीले जोड दिएको भनेको आधारभूत तहका जनताको जीवनमा सुधार र परिवर्तन ल्याउने कुरा हो । सामाजिक न्याय, सामाजिक सुरक्षा, समतामुलक समाज स्थापित गर्ने सन्दर्भमा नेकपा (एमाले)ले जुन प्रकारको अगुवाई गरिरहेको छ । साँचो अर्थमा जनताको जीवनमा रुपान्तरण गर्नु हामीले भूमिका निर्वाह गर्नुपर्छ । हामीले एमाले छ त राष्ट्र र जनताका लागि छ, एमालेले केही गर्छ त त्यो राष्ट्र र जनताको हितका लागि गर्छ भन्ने विश्वासका साथ काम गर्नुपर्छ । हामीले जनताको बेरोजगारी, महंगी, अशिक्षा, स्वास्थ्यलगायतका तमाम क्षेत्रमा जुन प्रकारका समस्या देखा परिरहेका छन्, हामीले जनताले महशुस गर्ने गरी ती कुरामा ध्यान दिन आवश्यक छ । मुख्य चिज भनेको यहि हो ।
त्यो चिजको अगुवाई गर्र्न यो पार्टीलाई कुन ढंगले विकास गर्ने, कसरी सक्षम बनाउने भन्ने सन्दर्भमा यो अभियाना सहयोगी हुन्छ । यो अभियानको महत्व छ भन्ने मलाई लाग्छ ।
नेपाली जनताले धेरै ठूलो परिवर्तन चाहेका छैनन् । थोरै परिवर्तनमा खुशी हुन्छन् । तपाईँले गरेका केही काम कै उदाहरण काफी छन् । तर, अहिले तपाईँहरुको विशाल पार्टी एमाले पनि जनतामा विश्वास जगाउने कुरामा केही चुकेको हो ?
जहाँसम्म मेरो सन्दर्भको कुरा छ, मैले जे प्रयत्न गरेँ । त्यो मूल्याङ्कन गर्ने जिम्मा नेपाली जनताको हो । जहाँसम्म पार्टीको कुरा छ । हामीले धेरै पटक निर्वाचनमा भाग लिएका छौ, हामी निर्वाचित भएका छौँ, हामी धेरै पटक सरकारमा सहभागी भएका छौँ । एमाले बहुदल आए यता महत्वपूर्ण जिम्मेवारीमै छ । हामीले राष्ट्र र जनताको सन्दर्भमा निर्वाचनमा विभिन्न घोषणापत्र पनि सार्वजनिक गर्दै आएका छौँ ।
पार्टीको महाधिवेशनबाट हामीले हाम्रा विचारहरु पनि सार्वजनिक गर्दै आएका छौँ । यी सबै सन्दर्भमा हामीले जनताप्रतिको प्रतिवद्धता कुन ढंगले गर्यौ र कुन प्रकारको परिणाम प्राप्त भयो भन्ने सन्दर्भमा इमान्दारपुर्वक समिक्षा गर्ने र कमजोरी छ भने सच्याएर अघि बढ्नुपर्छ । यो समयले पनि हामीलाई संकेत गरेको छ, संभवत घचघच्याइरहेको छ । यसप्रति हामी कति इमानदार र जागरुक हुने हो त्यो स्वयंले हाम्रो भविश्यलाई निर्धारण गर्ने छ ।
तपाईँ पूर्व श्रममन्त्री पनि हुनुहुन्छ । त्यो बेलामा नेपालमै रोजगारीको अवसर सिर्जना गर्नेलगायतका कुरामा एमाले नेतृत्वको सरकारले अभियान नै चलाएको थियो । अहिले पनि पाखोवारी बेचेर विदेश जाने र बासकमा फर्किने पीडादायी कथाहरु झल्झल्ती देखिन्छन् । स्वदेशमै केही गरौँ भन्ने युवाहरुका सपना साकार पार्ने बारेमा एमालेको योजना केही छ ?
हो, हाम्रो देशबाट अहिले पनि वार्षिक पाँच–छ लाख युवा रोजगारीका लागि विदेश जानुपर्ने विडम्बनापूर्ण अवस्था छ । काम गर्ने उमेर समूहको यो जनशक्ति रोजगारीको खोजीमा यसरी बाहिर जाने र नेपालको अर्थतन्त्र रेमिट्यान्सको भरमा चल्ने कुरा विडम्बनापूर्ण हो । बैदेशिक रोजगारीमा जाने पसिना बगाउने र त्यहाँ पसिना बगाएर नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने ती श्रमिकहरुप्रति मेरो व्यक्तिगत रुपमा पनि सम्मान छ । उनीहरुको संरक्षण, सम्मान र न्याय राज्यले गर्नुपर्छ, त्यो हामीले गरिरहन सकेका छैनौँ ।
अर्कोतर्फ हामी विकासको हिसावले पनि प्रारम्भिक अवस्थामा छौँ । हामीले पर्याप्त पूर्वाधार निर्माण गर्नुपर्ने छ । नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न सकिरहेको छैन । हामी कृषिप्रधान देश भन्छौँ तर हामी कृषिमै आत्मनिर्भर बन्न सकेका छैनौँ । यो हाम्रो अर्को विडम्बना हो । हामीले नेपालको संभावनालाई भरपुर प्रयोग गरेर रोजगारीका संभावनालाई पूरा गर्ने, नेपाली युवालाई नेपालमै काम गर्ने वसर प्रदान गर्ने, नेपालको अर्थतन्त्रलाई तुलनात्मक रुपमा आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने छ । तर, यहाँ त्यो हुन सकेको छैन । यहाँ हामीले प्रणाली विकास गर्न सकेका छैनौँ । तर, हामीले गम्भीरताका साथ ध्यान दिनुपर्ने कुरा के–हो भने हामीले युवा बाहुलताको अवस्थालाई सकारात्मक रुपमा प्रयोग गरेर देशलाई संमृद्ध बनाउनु पर्छ । हामीले यो गर्न सकेनौँ भने नेपाली समाज वृद्धा अवस्थामा प्रवेश गर्ने छ । त्यसका लागि जनसाख्यिक लाभलाई हामीले भरपुर उपयोग गर्न आवश्यक छ ।
पछिल्लो अवस्थामा हेर्ने हो भने नेपालमा धेरै जसो मानिसले राजनीतिलाई भाषण र तर्क मात्रै बुझिरहेका छन् । भाषण, तर्क र कुरा नै राजनीति हो भन्ने भाष्यले जनतामा पनि त्यहि प्रकारको मनोविज्ञान स्थापित भएको छ । कसैले चर्का कुरा गर्यो भने, कसैले तर्कपूर्ण कुरा गर्यो भने उसैले संसार बदल्छ कि भन्ने अपेक्षा राखेर त्यसैको पछि कुद्ने अवस्था देखा परेको छ । जबसम्म कामका आधारमा व्यक्तिको मूल्याङ्कन गर्ने परिपाटीको विकास हुँदैन अथवा इमान र बेइमान, योग्यता र अयोग्यता, काम र नकामलाई छुट्याउने ल्याकत नेपाली समाजमा जबसम्म विकास हुन सक्दैन तबसम्म काम गर्ने मानिसहरु पछि पर्ने र गफ गर्नेहरु माथि पर्ने संस्कार रहिरन्छ ।
हामीले विश्वका विकसित देशकै उदाहरण लिने हो भने ती देशमा भाषण र कुराले मात्रै देश बनेको छैन । कुरा र तर्कले मात्रै देश बदलिएको छैन, कामले नै देश बदलिएको छ ।
राजनीतिमा पछिल्लो समय मुख्य गरेर युवा पुस्तामा बढी वितृष्णा छ । तपाईँहरुले त्यो पुस्ताको मन जित्न नसकेको हो ?
युवाहरुका हामीप्रति ठूलो अपेक्षा छ, हामीले उनीहरुको अपेक्षालाई पूरा गर्न सकेका छैनौँ, यो सत्य हो । यो सत्यलाई लुकाउनु पर्ने कुनै कारण छैन । दोस्रो भनेको नेपाली समाज र नेपाली राजनीति कुरा सुन्ने, कुरा गर्ने, कुरामै खाने र कुरामै सुत्ने प्रवृत्ति बनिरहेको छ । कुन नेताले देश बदल्न सक्छ, कुन नेताले काम गर्न जानेको छ, देशलाई परिवर्तन गर्न जानेको छ, कुन नेता योग्य छ भन्ने मूल्याङ्कन भन्दा पनि को नेताले कुरा बढी गर्न जान्दछ भन्नेमा बढी लेखाजोखा हुने गरेको छ । यो कारण पनि संकट छ । समग्रमा भन्दा हामीलाई कुरा गर्ने भन्दा काम गर्ने र देश बदल्ने योजना भएको नेता चाहिएको छ । कम बोल्ने, धेरै काम गर्ने राजनीतिक र नेता चाहिएको छ । त्यो भूमिका नेकपा (एमाले)ले निर्वाह गर्न सक्दछ भन्ने मेरो विश्वास हो । मिसन ग्रासरुट अभियानले यी कुरामा देखिएको कमजोरी सुधार गर्न थप सहयोग गर्ने अपेक्षा हामीले गरेको छौँ ।
अन्य राजनीतिक दलको तुलनामा एमाले जनताप्रति बढी उत्तरदायी अवश्य छ । तर, अझै पनि जति गर्नुपर्ने र हुनुपर्ने हो त्यो हुन सकेको छैन भन्ने छ । तपाईँहरुले यो बारेमा स्वमुल्याङ्कन गर्नुभएको छ ?
बहुमत जनताको जनादेश प्राप्त गर्नका लागि विश्वास गर्ने तहको भूमिका निर्वाह गर्न बाँकी छ । त्यो तहमा हामीले भूमिका निर्वाह गर्न हामीले तयारी गर्नुपर्छ । विगतप्रति हामी गौरव गर्छौ । हामीले कतिपय गौरवपूर्ण काम पनि गरेका छौँ । तर, विगतका कतिपय कुराहरु प्रति गौरव गरे मात्रै आजका चुनौति, भविश्यमा आउने चुनौतिहरुलाई सम्वोधन गर्न सकिन्न । त्यसकारण नयाँ चुनौतिहरुलाई सामना गर्ने सामथ्र्यका साथ हामीले हाम्रो क्षमता विकास गर्नुपर्छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
एक प्रकारले भन्ने हो भने नीति, सिद्धान्त, विचार, इमान, नैतिकता बिहीन बाटोतर्फ कतै नेपालको राजनीतिक अघि बढेको त होइन भन्ने चिन्ता बढेको छ कि जस्तो स्थिति देखा परेको छ । यो खालको अराजकतालाई हामीले सही मार्गमा ल्याउनका लागि प्रयत्न गर्न जरुरी छ । हामीले नीति, सिद्धान्त, विचार, इमान, नैतिकतामा मात्रै राजनीति स्थापित गर्ने गरी लाग्नुको विकल्प छैन । त्यसको अगुवाई र नेतृत्व नेकपा (एमाले)ले गर्नुपर्छ ।
राष्ट्रपतिको निर्वाचनबारे ?
राष्ट्रपति बन्ने पात्र जनताले सम्मान गर्ने, गौरव गर्ने, राष्ट्रको गरिमालाई माथि उठाउने हुनुपर्छ भन्ने एउटा नागरिकको हिसावले अपेक्षा राख्ने कुरा स्वाभाविक नै होला । जहाँसमम्म राष्ट्रपतिको निर्वाचनको सन्र्दभको कुरा छ । कमरेड प्रचण्डले सरकार निर्माण गर्दाका बखत एमाले र माओवादीका बिचमा जे सहमति भएको छ त्यो सहमतिका आधारमा एमालेको उम्मेदवारलाई माओवादीले सहयोग गर्नुपर्छ । राजनीतिलाई नैतिकता र मूल्य–मान्यताको आधारमा सहि दिशामा अघि बढाउने हो भने बाहेक विकल्प हुन्न । राजनीति भनेको छलछाम मात्रै होइन इमानको बाटो पनि हो भन्ने मान्यतालाई स्थापित गर्ने हो भने एमालेले प्रस्तावित गरेको उम्मेदवारलाई माओवादीले सहयोग गर्नुपर्छ ।
त्यो संभव छ ?
म संभव, असंभव अहिले यकिनका साथ भन्न सक्दिन । अहिले सतहमा सुनिएका चर्चाहरु कर्णप्रिय छैनन् । केही दिन बाँकी छ । राष्ट्रपतिको निर्वाचनले नेपालको राजनीतिमा नकरात्मक खालको सन्देश दिने कुरा नआवोस् भन्ने चाहन्छु ।
एक जना भारतीय बुद्धिजीविले नेपालमा भावी राष्ट्रपतिको नाम नै उल्लेख गरेर सामाजिक सञ्चालमा सार्वजनिक गरेपछि त्यसको सर्वत्र आलोचना भएको छ । यो सन्दर्भलाई कसरी लिनुभएको छ ?
नेपालको राष्ट्रपति को बन्ने र कस्लाई बनाउने भन्ने कुरा नेपाली जनताको अधिकारको कुरा हो । यो नेपालको आन्तरिक मामिला हो । नेपालको आन्तरिक मामिलामा बारिहको कसैले प्रतिक्रिया वा सुझाव दिनु जरुरी छैन । नेपाली जनता आफ्नो प्रतिनिधि छान्न सक्षम छन् ।
अन्त्यमा, मैले सोध्न विर्सेको र तपाईँले भन्नै पर्ने केही ?
नेपालको राजनीतिलाई देश र जनताप्रति जिम्मेवार र जवाफदेही बनाउने, जे बोलिन्छ त्यहि बोलेको कुरालाई पूरा गर्नुपर्छ भन्ने कुरा नै राजनीति हो भन्ने तहमा राजनीतिलाई लैजान जरुरी छ । राजनीति कुनै अमूक घटनाबाट सिर्जना हुने कुरा मात्रै होइन, राजनीतिमा सिद्धान्त, विचार, नीति, कार्यक्रम आदिका आधारमा अघि बढ्ने कुरा हो । यो कुरा हामीले आम जनतालाई बुझाउन जरुरी छ ।