सदस्यता नवीकरण कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्नेछ: एमाले अध्यक्ष ओली
काठमाडौँ, २० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशालाले पार्टी पङ्क्तिभित्र नयाँ उत्साह र सङ्गठनात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ।
राजधानीमा आज सुरु भएको दुईदिने कार्यशालाको समुद्घाटन गर्दै अध्यक्ष ओलीले यस भेलाले पार्टीभित्र रहेका कतिपय अन्योल र भ्रमहरू चिर्न मद्दत गर्ने बताउनुभयो। उहाँले कार्यशालामा सहभागी अगुवा नेता तथा कार्यकर्ताहरू नयाँ विश्वास, जोश र जाँगरका साथ आ–आफ्नो कार्यक्षेत्रमा फर्कने र पार्टी सङ्गठन सुदृढीकरणमा केन्द्रित हुने उल्लेख गर्नुभयो।
पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित यस कार्यशालामा देशभरका एमाले जिल्ला कमिटीका अध्यक्ष र सचिवहरू, प्रदेश कमिटीका पदाधिकारी तथा इन्चार्जहरू, सङ्गठन विभागका जिम्मेवार नेताहरू र सबै जनसङ्गठनका केन्द्रीय अध्यक्षहरूको सहभागिता रहेको छ।
आज र भोलि दुई दिनसम्म सञ्चालन हुने यस कार्यशालामा पार्टीको साङ्गठनिक सुदृढीकरण, सदस्यता नवीकरणको डिजिटल एवं भौतिक प्रक्रिया र विस्तारका रणनीतिक योजनाहरूमाथि गहन छलफल तथा अभिमुखीकरण गरिने एमाले सङ्गठन विभागले जनाएको छ।