एमालेले लगाएको गुण विर्सिएर सत्तास्वार्थमा लालायित रवि

काठमाडौं, २६ फागुन । पार्टी स्थापनाको छोटो समयमै शक्तिशाली पार्टीको हैसियत बनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त दलका सभापति रवि लामिछानेको चर्चा निकै चुलिएको थियो ।
पार्टी स्थापनाको करीब ६ महिनामै सभापति लामिछानेले चितवनबाट भारी मतान्तरले निर्वाचन मात्रै जित्नु भएन । काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये चार ओटा निर्वाचन क्षेत्रमा पनि रास्वपा विजयी भयो । ललितपुरका तीन मध्ये एक र चितवनका पनि तीन मध्ये दुई निर्वाचन क्षेत्रमा विजयी भएको रास्वपाले सामानुपातिकमा १३ सिट प्राप्त गर्न सफल भयो ।
२० सिटको हैसियतमा संसदमा बलियो उपस्थिति जनाएको उक्त दललाई बैकल्पिक राजनीतिक शक्तिका रुपमा हेर्दै आगामी निर्वाचनमा राम्रो सिट प्राप्त गर्ने र ठूला राजनीतिक दललाई समेत धौधौ बनाउन सक्ने आकंल राजनीतिक वृत्तमा पेचिलो गरी चर्चा चल्न थालेको थियो ।
तर, संसदमा चौथो शक्तिको हैसियतमा रहेको रास्वपाको सत्तालिप्साका कारण लामिछानेप्रतिको मोह पनि विस्तारै सेलाउँदै जान थालेको छ । टेलिभिजनका पर्दामा चर्का कुरा गरेर त्यसैको जेतमा निर्वाचनमा राम्रो परिणाम प्राप्त गर्नुभएका लामिछानेको विगत राम्रो छैन । विवाद नै विवादको दलदलबाट पटक–पटक उठ्दै आफूलाई श्रेष्ठ सावित गर्ने जलप लगाउँदै आउनु भएका लामिछानेको सत्तालिप्साको बठ्याइँले उहाँ मात्रै होइन उहाँले नेतृत्व गरेको पार्टीको भविष्य समेत अन्योलग्रस्त बन्ने खतरा बढ्दै जान थालेको छ ।
कुनै बेला राजनीतिक दल र त्यसको नेतृत्वलाई चर्को आवाजमा आलोचना गर्दा वाहवाही पाउनु भएका लामिछाने अहिले उहाँ आफैँ एकपछि अर्को गर्दै आलोच्य बन्न थाल्नु भएको छ ।
कुनै समय उहाँले राजनीतिक दल र नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेख्दा शतप्रतिशत वाहवाही प्राप्त गर्नुहुन्थ्यो । सामाजिक सञ्जालकै बलमा राजनीतिको शिखर चुम्ने उहाँको महत्वकांक्षा अहिले दिनप्रतिदिन ओरालो यात्रामा छ ।
राजनीतिक दलहरुलाई राजनीतिको फोहारी खेलमा संलग्न भएको भनेर दिनहुँ चिच्याउने रविको राजनीति अहिले फोहोरी मात्रै होइन ढल भन्दा पनि बढी गन्ध आउने खालको हुन थालेको छ । सत्ताका लागि शक्तिको पुजारी बन्ने उहाँको शैली नै उहाँका लागि घातक बन्दै आएको छ ।
निर्वाचन जितेर आउँदासम्म उहाँको क्रेज खपिनसक्नु थियो । धेरैले रविलाई सत्ता बाहिर बसेर राजनीतिक दलले गरेको खराव काममा बलियो खवरदारी रहने अनुमान गरेका थिए । संसदमा रास्वपा पार्टीको खवरदारी देख्न चाहेका थिए । तर, ती सबै सपनामा तातो पानी खन्याउँदै उहाँले सत्ता यात्राको हतारो गरेपछि धेरैले उहाँको त्यो निर्णयलाई हतारको निर्णय र फुर्सदको पछुतो भनी टिप्पणी पनि गरे ।
नागरिकता विवादको भूमरीमा फसिरहेका बेला उहाँले त्यहिसँग सम्बन्धित मन्त्रालय गृहको जिम्मेवारीमा आँखा लगाउनुभयो । तर, उहाँले गृह सम्हालेको छोटो समयमै सर्वोच्चको फैसलापछि उहाँको मन्त्री पद मात्रै होइन सांसद पद पनि गुम्यो । त्यसपछि रविले अब सत्ताका लागि र्याल चुहाउने भन्दा पनि पार्टी र संगठन निर्माणमा केन्द्रित भएर फोहोरी राजनीतिको नदी सफा गर्ने यात्रा समाउलान भन्ने धेरैको अनुमान थियो । तर, त्यहाँ पनि रविले सबैको अनुमानलाई गलत सावित गर्दै फेरि पनि गैर सांसदको हैसियतमा खाने पटके मन्त्रीका लागि लोभ देखाउनुभयो ।
मंसिर ४ को निर्वाचनपछिको गठबन्धनको नेतृत्व गरेको नेकपा (एमाले)ले डुब्न आँटेका रविलाई वैशाखी बनेर उभ्याउँने प्रयास हरदम गरिहर्यो । यतिसम्मकी एमाले अध्यक्ष केपी शर्मा ओलीले त रविलाई नै गृहमन्त्री बनाउनु पर्ने र नभए गृह रास्वपाकै भागमा पर्नुपर्ने सम्मको अडान राख्दै आउनु भयो । यहि कारण प्रधानमन्त्री प्रचण्डसँग समेत ओलीको दूरी बढ्न गयो । पछिल्लो समय प्रचण्डले एमालेसँगको सम्बन्ध तोडेर कांग्रेसँग सहकार्य गर्दा धेरैले ओलीले लगाएको गुन तिर्नका लागि भए पनि रास्वपाले एमालेलाई नै समर्थन गर्ला भन्ने अनुमान गरेका थिए ।
पछिल्लो समय कांग्रेसहितको गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्नुभयो । एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बन्नुभयो । निर्वाचनमा हारजित एउटा पाटो हो । तर, रास्वपाले नैतिकताका आधारमा पनि नेम्वाङलाई नै समर्थन गर्ने धेरैको अनुमान थियो । तर, दिपक मनाङ्गे शैलीमा लामिछानेले जता शक्ति उतैको भक्ति भन्ने भनाईलाई चरितार्थ गर्दै राष्ट्रपतिमा पौडेललाई समर्थन गर्दै मतदान गरेपछि उहाँको थप आलोचना सुरु भएको छ । राष्ट्रपतिको चुनावको अघिल्लो सदनसम्म समेत रास्वपाले कसलाई भोट हाल्ने भनेर निर्णय लिएको थिएन ।
तर, रास्वपा भित्रैका कही नेताहरुले भने पार्टीले अन्तिममा पौडेललाई नै भोट हाल्ने निर्णय गर्ने कुरामा ढुक्क जस्तै थिए । लामिछानेले त्यसको संकेत पहिल्यै गरेकाले पनि उनीहरु अन्तिममा निर्णय त्यहि आउनेमा ढुक्क थिए । निर्वाचनको केही दिन अघि मात्रै पौडेलले लामिछानेको निवासमै पुगेर सहयोग माग्नुभएको थियो । ‘आफू समानको भव्य कुर्सीमा पौडेललाई राखेर लामिछानेले त्यतिबेला नै सहयोगको सन्देश दिनुभएको थियो,’ लामिछाने निकट स्रोतले भन्यो, ‘गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट हट्यो । तर, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिएन ।
त्योे नयाँ गठबन्धनलाई पनि समर्थन छ है भन्ने सन्देश थियो ।’ अहिले पनि रास्वपा समर्थन फिर्ता लिने मनस्थितिमा छैन । यो भनेको आगामी दिनमा रवि नयाँ गठबन्धनकै भरोसामा चितवनबाट चुनाव जित्ने, पासपोर्ट काण्ड मिलाउने र फेरि गृहमन्त्रालय नै लिएर सरकारमा जानेसम्मको लिप्सामा हुनुहुन्छ भन्ने हो । उहाँको त्यो सत्तालिप्सालाई रास्वपाकै नेताहरुले समेत सकारात्मक रुपमा लिएका छैनन् ।
तर, रविको सर्वेसर्वाका कारण पार्टी भित्र मुख खोल्नसक्ने अवस्थामा पनि कुनै नेताहरु छैनन् । पार्टी भित्र धेरैको मत सरकार बाहिर बसेर गुण–दोषका आधारमा समर्थन र विरोध गर्नुपर्छ भन्ने छ । तर, रवि अवसर गुमाउनु हुन्न भन्ने अडानमा हुनुहुन्छ । उहाँले राष्ट्रपतिको निर्वाचनमा पौडेल विजयी भएपछि सामाजिक सञ्जालमा उहाँलाई बधाई दिदैँ पोष्ट गरेको स्ट्याटसले पनि उहाँ गठबन्धनको वैशाखीमा सत्तालिप्साका लागि लालायित हुनुहुुन्छ भन्ने छनक देखिन्छ । यद्यपि, उहाँको त्यो स्ट्याटसमा अधिकांशले विरोध गरेका छन् ।