विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप

विराटनगर, १४ चैत्र । विराटनगरमा पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले राेकेकाे थियाे । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको हो ।
झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।
युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको थियाे ।
पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।