कोशी प्रदेश

विराटनगरमा पहिचान पक्षधर र प्रहरीसंगकाे झडपमा १९ जना घाइते

विराटनगर, १४ चैत्र । विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच भएकाे झडपमा १९ जना घाइते भएका छन् ।

विराटनगरकाे होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आएका सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १९ जना घाइते भएका हाे ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको हो । झडपमा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ४ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जनाएकाे छ ।

आन्दलोनकारी तर्फ भने ९ जना घाइते भएका छन् । घाइते हुनेहरूमा धरान- ८ का अशोक राई, सरोज लिम्बू, धरान- ११ का ज्ञानबहादुर राई, धरान- १६ का शिव आङ्देम्बेक, इलाम माङसेबुङका उदय लिम्बू, मोरङ ग्रामथानका सुरज राई, धरान- ६ का एन के दर्नाल , विशाल राई र ईटहरीका पदमलाल लिम्बू घाइते भएका छन्।

घाइतेहरूको कसैको खुट्टमा त कसैको टाउकोमा त कुसैका ढाडमा चोट लागेको छ । झडपका कारण विराटनगर तनावग्रस्त बनेको थियाे ।

प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।