सुदूरपश्चिमको देउडा अभिनयमा जम्दै ‘झरना’

कञ्चनपुर, १५ चैत । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।

उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उनी अभिनयमा लागे । देउडासँगै अन्य गीतमा समेत बोहराले अभिनय गर्दै आएका छन् ।

नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग यहाँका नौवटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । “प्रायः गीतको अभिनयमै बढी समय दिने गरेकी छु”, बोहराले भने, “पछिल्लो समय स्टेज कार्यक्रममा नृत्यका लागि बोलाउने क्रम बढेको छ ।”

सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर बोहराले तीन सयभन्दा बढीमा अभिनय गरिसकेका छन् । सुदूरपश्चिमेलीहरूले देउडा कार्यक्रममा भारतमा समेत बोलाउने गरेका छन् ।

हाल स्नातक तहमा अध्ययनरत बोहराले कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटमा बस्दै आएका छन् । उनले अभिनय क्षेत्रमा लाग्ने प्रेरणा काका शेरबहादुर बोहराबाट पाएका हुन् । “उहाँले नै अभिनयका लागि काठमाडौँ पठाउनुभयो”, उनले विगत सुनाए ।

पारिवारिक अवस्था सामान्य भएकी बोहरा अहिले अभिनय र स्टेज कार्यक्रमबाट पाएको पारिश्रमिकबाट नै खर्च टरेको बताइन् । “कलाकारितामा सुदूरपश्चिमका महिला न्यून छन्, यसमा लाग्नेप्रतिको दृष्टिकोण पनि ठिक छैन”, बोहराले भनिन्, “अग्रज कलाकार एवं सृष्टाको अभिभाकत्वले यसका निरन्तरता दिएकी छु ।”

आफ्नो रहनसहन, कला, संस्कृति, रीतिरिवाज र वेषभूषासहितको देउडा गीतमा अभियन गर्न सहज भएको बोहराको भनाइ छ । उनले भने, “सिक्न कुनै पाठशालामा गएकी छैन, आफ्नै प्रयासले अभिनय क्षेत्रमा छु ।” अभिनय गर्न बोहरालाई सुदूर र कर्णाली प्रदेशमा हुने मेला–महोत्सवमा राम्रै पारिश्रमिक दिएर बोलाउने गरिएको छ ।

सुदूरका सबै जिल्लाका साथै कर्णाली प्रदेश र भारतका विभिन्न सहरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सहभागी भएको बोहरा बताउँछिन् । सुदूरपश्चिमेली रोजगारीका लागि जता गए पनि आफ्नो कला, संस्कृतिप्रति धेरै लगाव रहेको आफूले पाएको उनको भनाइ छ ।

“म स्टाफ नर्स बन्न चाहन्थे, तर अभिनयमै रमाएँ ।” सामाजिक सञ्जाल टिकटकमार्फत पनि उनले डोटेली भाषामा साहित्यिक प्रस्तुतिसमेत राख्दै आएकी छिन् ।

पछिल्लो समय सुदूरपश्चिममा पनि महिला मोडल तथा नृत्याङ्गनाले आफ्नो प्रतिभा देखाइरहेको देउडा गायक लालबहादुर धामी (अछामी बड्डो)को भनाइ छ । “देउडाले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ”, उनले भने । कञ्चनपुर लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गायक धामीले भने, “पहिलाभन्दा हाल सुदूरपश्चिमको लोक देउडाको अभिनयमा नयाँ पुस्ता कस्सिएर लागेको छ ।”