गहना खोज्ने जात्राको पूर्व तयारी

भाटभटेनी रंगरोगन गर्दै तीन पुस्ता

काठमाडौं, २२ चैत । काठमाडौं महानगरपालिका २७ वडास्थित केल टोलका विकास चित्रकार यतिबेला कामपा ५ वडास्थित भाटभटेनी देवताहरू रंगाउने काममा व्यस्त हुनुहुन्छ । भाटभटेनीसँग सम्बन्धित टुँडालदेवीको गहना खोज्ने जात्रा नजिक आउँदैछ । त्यसैले विकास चित्रकारको व्यस्तता पनि यतिबेला चुलिँदो छ ।

भाटभटेनीलाई स्थानीय नेपालभाषामा ‘मोफ्ता द्यः’ भनिन्छ । यसका मूर्तिहरू आकाशमा उडिरहेको अवस्थाका छन् । यस्तो मूर्ति नेपालका अन्य कुनै पनि मन्दिरमा देख्न पाइँदैन ।

घाममा राखिएको आफ्नो छोरालाई गिद्धले उठाएर लगे पछि आमा बाबु पनि दुवै जना गिद्धलाई लखेट्न उडेरै गएको अवस्थालाई यहाँ मूर्ति बनाएर राखिएको हो ।

त्यसैले यहाँ ‘मोफ्ता द्यः’, उहाँका श्रीमान र छोरा गरी तीन वटा मूर्तिहरू छन् । विरामी भएमा, जिउका कुनै अंगप्रत्यंग दुःखेमा यो देवताको पूजा गर्ने चलन छ । अनौठो त के छ भने कुनै मान्छेको शरीरको जुन अंग दुःखेको हो यो देवताको पनि त्यही अंगमा पूजा गर्नाले आफ्नो दुःखाइ सञ्चो हुने विश्वास गरिन्छ ।

जात्रा शुरु गर्नु अघि अरु मन्दिरका मूर्तिलाई जस्तै यो मूर्तिलाई पनि रंगरोगन गर्ने चलन छ । मूर्तिलाई रंगरोगन गर्ने यो कार्यलाई स्थानीय नेपालभाषामा ‘लंपुं छायेगु’ भनिन्छ ।

यो कार्य काठमाडौं केल टोलका चित्रकार परिवारले गर्दै आइरहेको छ । अहिले भाटभटेनी रंगरोगन गर्ने कार्यमा विकास चित्रकार मात्र होइन, उहाँकी आमा र छोरी पनि संलग्न हुनुहुन्छ । एउटै कार्यमा तीन पुस्ताको संलग्नता आफैमा अनौठो संयोग हो ।

तीन पुस्ता नै लागेर रंगरोगन गरिरहेबाटै थाहा हुन्छ, यो उहाँहरूको पुस्तौनी कर्म हो ।

आज उहाँहरूबाट रंगरोगनको कार्य सकेपछि बेलुकी भाटभटेनीका मूर्तिहरूलाई बोकेर बाजागाजासहित टुँडालदेवीको मन्दिरसम्म पुर्याइन्छ । टुँडालदेवीलाई भाटभटेनीकी आमा मानिन्छ ।

भाटभटेनी पुगेपछि भोलि पूर्णिमाका दिन टुँडालदेवीलाई आसनबाट उठाएर खटमा विराजमान गराइन्छ । भाटभटेनीलाई भोलि नै फर्काइन्छ । पर्सी परेवाका दिन टुँडालदेवीको खटलाई बोकेर मुख्य जात्रा चलाइन्छ । यो जात्राका क्रममा टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीमा हुलेर पानीमै परिक्रमा गराउनुपर्ने परम्परा छ ।

खटलाई पोखरीमा हुलेर गरिने यही जात्रालाई ‘तिसा मालेगु जात्रा’ अर्थात ‘गहना खोज्ने जात्रा’ भनिन्छ । यसमा नक्सालबाट ल्याइने मांखः नामक अर्को एउटा खट पनि जोडिन आइपुग्छ । ‘गहना खोज्ने जात्रा’ काठमाडौंमा प्रचलित विभिन्न जात्राहरू मध्ये अत्यन्त पुरानो र रोचक जात्राका रुपमा प्रशिद्ध छ ।