फोहोरको राजनीतिमा गठबन्धन दुई धारमाः कांग्रेस मेयर बालेनको पक्षमा, माओवादी एक्सनको मनस्थितिमा
काठमाडौं, २७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । अनि उहाँले नेतृत्व गरेको गठबन्धनको मन्त्रिपरिषद्मा नेपाली कांग्रेस सहभागी छ । त्यसैगरी शीतल निवासमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल हुनुहुन्छ अर्थात् उहाँ राष्ट्रपतिको पदमा आसिन हुनुहुन्छ । पछिल्लो समय सिंहदरबार र शीतल निवासको फोहोर व्यवस्थापनको विषयलाई लिएर देखिने गरी गठबन्धन भित्रै कांग्रेस र माओवादीबिच फाहोरको राजनीति सुरु भएको छ ।
गत शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न सामाजिक सञ्जालबाट निर्देशन दिनुभयो । उहाँकै निर्देशनका कारण सिहंदरबार मात्रै होइन, राष्ट्रपति कार्यालय शीतल निवासको पनि फोहोर आइतबारदेखि बाहिर निकाल्ने वातावरण बनेको छैन । सिंहदरबार र शीतल निवासको फोहोर व्यवस्थापन गर्ने परिवर्तन नेपालले पनि मेयर साहको निर्देशनपछि फोहोर सबै कार्यलयबाट उठाए पनि सिंहदरबार र राष्ट्रपति कार्यालयबाट बाहिर ननिकालेको जानकारी दिएको छ ।
फोहोर नउठाउने प्रतिवद्धताबाट टसमस नभएका मेयर साहले त्यस्तो निर्देशन दिएको भोलिपल्ट फेरि १४ बुँदाको स्पष्टिकरण दिदैँ सामाजिक सञ्जालबाटै आफ्नो भनाई सेयर गर्नुभयो । असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको बताउँदै उहाँले यो दबाब आवश्यक रहेको भन्दै १४ बुँदे स्पष्टिकरण लेखेपछि मेयर साहको कुनै भनाई सार्वजनिक भएको छैन । त्यति मात्रै होइन मेयर साहले आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरी नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै तल्लोस्तरको टिप्पणी समेत गर्नुभएको थियो ।
फोहोरी बनिरहेको गठबन्धनको राजनीतिमा फोहोरकै डढेलो लगाएपछि मेयर साह गुमनाम हुनुहुन्छ । तर, फोहोरको राजनीतिले संसद, सिंहदरबार र शीतल निवाससम्मै डढेलो लगाएको छ । मेयर साहले लगाएको फोहोरको राजनीतिको डढेलोले प्रष्ट दुई धारमा विभाजन गराएको छ । यहि दुई धारमा कांग्रेस–माओवादी गठबन्धन पनि फोहोरी राजनीतिमा लपेटिएको छ ।
प्रधानमन्त्री प्रचण्ड मेयर बालेनको धम्कीबाट झुक्ने भन्दा पनि एक्सन लिने मुडमा देखिनु भएको छ भने कांग्रेस भने मेयर साहको समर्थनमा देखिएको छ ।
सिंहदरबार र शीतल निवासको फोहोर नउठेपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा बिलम्ब नगरि काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहसँग संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो । उहाँले सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै साहको कदमलाई बल पुग्नेगरी भन्नुभयो– ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौँ महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’
बाघदरबार र सिंहदरबारबीच टकराब देखिएको भन्दै बिलम्ब संवाद गरेर समाधन खोज्न पनि उहाँले सुझाव दिनुभयो । ‘जुन जुन अहिले सल्टाउनु पर्ने हो । सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो । समझदारी कायम गरियोस् । जायज माग पुरा गरियोस् । र हामी काठमाडौँका जनप्रतिनिधिलाई पनि यो प्रक्रियामा संलग्न गराइयोस् ।’
गगनले यस्तो अभिव्यक्ति दिएको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले भने मेयर साहले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर अराजक अभिव्यक्ति दिएको र अराजक गतिविधिमा आफूलाई संलग्न गराएको भन्दै एक्सन लिने चेतावनी दियो । बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय समेत गर्यो ।
सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरूद्ध रहेको जानकारी भन्दै बैठकमा नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले मेयर साहका अभिव्यक्तिहरु अराजकतातर्फ केन्द्रित रहेको विषयमा समेत बैठकमा छलफल भएको भन्दै सार्वजनिक पदमा बसेपछि पदको गरिमालाई ख्याल गर्नुपर्ने कुरामा बैठक केन्द्रित भएको बताउनुभयो ।
मेयर बालेनको हठबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मुख खोल्नु भएको छ । उपप्रधानमन्त्री समेत रहनु भएका श्रेष्ठले चितवन पुगेर दुई दिन अघि मात्रै काठमाडौँ महानगरपालिकाका मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गर्नुभएको थियो ।
यी तीन सन्दर्भलाई हेर्ने हो भने फोहोरको राजनीतिमा गठबन्धन प्रष्ट दुई धारमा रहेको देखिन्छ । अहिले काठमाडौं महानगरमा मेयर स्वतन्त्र हुनुहुन्छ भने ३२ वडामा १२ वडा मात्रै एमालेले जितेको छ । उपमेयर पनि एमालेकै तर्फबाट निर्वाचित हुनुहुन्छ । यसरी हेर्दा महानगरपालिकामा कांग्रेसको बहुमत देखिन्छ । अहिले प्रवक्ता पनि कांग्रेकै हुनुहुन्छ । वडा नम्बर–१७ का अध्यक्ष नवीन्द्र मानन्धर अहिले प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको लाइन पनि कांग्रेस महामन्त्री थापा र मेयर साहसँग मेल खाने खालकै देखिन्छ । उहाँसँग शीतल निवास र सिंहदरबारको फोहोर उठ्न नसकेको विषयमा सम्पर्क गर्दा उहाँले आफ्नो मेयरले गरेको कुरामा आफ्नो माननीयले भनेको कुराबाट खुशी नहुनुपर्ने कुनै कारण नभएको प्रष्टिकरण दिनुभयो ।
तपाईं त कांग्रेसको तर्फबाट जितेको वडाध्यक्ष, तपाईँको पार्टीकै माननीयले भनेको कुरामा तपाईँको समर्थन हो ? भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो– ‘बिल्कुल हो नि, मेयर सावले लेखिसकेपछि त्यहि आधिकारिक हो । मेरो मेयरले लेखेको कुरामा मेरो आफ्नै माननीयले समर्थन गरेको कुरामा खुशी नहुने कुरै भएन । पहिलो कुरा त छलफलको वातावरण हुनुपर्यो । छलफल भएपछि १४ बुँदा नै पास हुन्छ कि १ बुँदा नै पास हुन्न कि पहिला त छलफल हुनुभयो नि ?’
उहाँले मेयर र माननीयले भनेको कुरामा आफ्नो पनि समर्थन रहेको भने पनि सिंहदरबारको फोहोर उठाउने कार्यक्षेत्र महानगरपालिकाको नभएको प्रतिक्रिया दिनुभयो । ‘यो सिंहदरबारको फोहोर महानगरपालिकाले उठाउने नै होइन । सिंहदरबारको फोहोर सहरी विकास मन्त्रालयले आफैँ टेण्डर गरेर परिवर्तन नेपाल भन्ने संस्थाले उठाउँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘सबै भन्दा पहिलो यो कुरा बुझ्नु पर्यो । काठमाडौं महानगरपालिकाको नीतिगत रुपमा कुनै संलग्नता छैन । परिवर्तन नेपालले टेण्डर पारेर म उठाउँछु भनेपछि काठमाडौं महानगरपालिकाको कुनै नीतिगत अधिकार नै छैन नि ? मेयरले उठाउन दिन्न भन्नुभएको छ नि ? भन्ने प्रश्नमा उहाँले त्यो कुरा मेयर र परिवर्तन नेपालबिचको कुरा भएको भन्दै जवाफ दिनुभयो ।
अहिले कांग्रेसका वडाध्यक्ष मेयर साहको पक्षमा देखिनु र महामन्त्रीले पनि प्रधानमन्त्रीलाई नै चुनौती दिदैँ वार्ताका लागि तयार हुनु भन्नु अनि सरकारले चाँहि मेयरलाई नीतिगत काम भन्दा बाहिर नजानु भन्दै चेतावनी दिनुले पनि अहिले फोहोराको राजनीतिमा गठबन्धनको फोहारी खेल देखिएको प्रष्ट हुन्छ ।