चट्याङ लागेर पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु
एजेन्सी, १५ वैशाख । पश्चिम बङ्गालमा बिहीबार मेघगर्जन र चट्याङसँगै भएको भीषण वर्षाका कारण १५ जना किसानले ज्यान गुमाए सरकारी अधिकारीहरूले बताएका छन् ।
बिहीबार साँझ खेतमा काम गरिरहेकाका बेला चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ ।
चट्याङ लागेर कैयौँ घाइते भएका छन् । घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।