आज २५६७ औं बुद्ध जयन्ती

काठमाडौं र लुम्बिनीमा भव्य कार्यक्रम

काठमाडौं,, २२ वैशाख । आज २५६७ औं बुद्ध जयन्ती विश्वभरि नै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज नेपालमा पनि विभिन्न बौद्ध विहारहरूमा विभिन्न कार्यक्रमहरु आयोजना गरी बुद्ध जयन्ती भव्यपूर्वक मनाइँदैछ ।

भगवान गौतम बुद्धको जन्म, बोधिज्ञान प्राप्त र महापरिनिर्वाण जस्ता तीन महत्वपूर्ण घटनाहरू एउटै तिथिमा हुन गएको सम्झना स्वरुप आजको दिनलाई बुद्ध पूर्णिमा वा बुद्ध जयन्तीका रुपमा मनाउन थालिएको हो ।

आज नेपालका सबै बौद्ध विहारहरूमा विशेष बुद्ध पूजा, ज्ञानमाला भजन, धर्मदेशना, दानप्रदान जस्ता कार्यक्रमहरू आयोजना गरिँदैछ ।

यसै क्रममा आज स्वयम्भूस्थित आनन्दकुटी विहारमा बुद्ध जयन्तीको उपलक्ष्यमा विशेष समारोह आयोजना हुँदैछ । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव मुख्य अतिथिका रुपमा उपस्थित हुनेछ ।

त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि आज विशेष कार्यक्रम आयोजना हुँदैछ । बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रुपमा आयोजना हुने उक्त कार्यक्रममा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

तीन दिनसम्म मनाइने उक्त कार्यक्रमका क्रममा हिजो बेलुकी लुम्बिनीको मायादेवी मन्दिरलाई झिलिमिली बत्तीले सिँगारी आकर्षक बनाइएको थियो । बेलुकी नै मन्दिर परिसरमा पूजा र दीप प्रज्वलन गरिएको थियो ।

आज बिहान ६ बजे पूर्णिमा पाठ पुजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभा हलसम्म शोभा यात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुने कार्यक्रम रहेको छ । मूल समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुनेछ । समारोहमा विभिन्न देशका राजदूतहरुलाई आमन्त्रण गरिएको छ ।

आज बुद्ध पूर्णिमाकै दिनबाट लुम्बिनी परिसरभित्र हर्न निषेध गर्ने योजना पनि रहेको छ । लुम्बिनीलाई पूर्ण रुपमा शान्त क्षेत्रका रुपमा विकास गर्न लुम्बिनी परिसर प्रवेश गरेपछि कुनै पनि सवारीले हर्न बजाउन नपाउने निर्णय गरिएको छ ।

समारोह समापनलगत्तै सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । यसमा विभिन्न बौद्ध झाँकी, बौद्ध नाटक एवं बौद्ध संगीत प्रस्तुत गरिनेछ ।

आजै पण्डितपुरबाट रामग्रामसम्म अस्थिधातु यात्रा गरिने कार्यक्रम पनि रहेको छ । उक्त अस्थिधातु यात्राको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले गर्नुहुनेछ ।

भोलि वैशाख २३ गते बोधिसत्व सिद्धार्थलाई तिलौराकोट भित्राउँदै गरेको प्रतीक स्वरुप मायादेबी शोभायात्रा गरिने कार्यक्रम रहेको छ ।