‘जिउँदा सहिद’ मुकेश कायस्थको निधन

काठमाडौं, वैशाख २८ । वि.सं २०६२–०६३ को जनआन्दोलन–२ मा बनेपामा सुरक्षाकर्मीको गोली लागि घाइते हुनुभएका ‘ज्युँदा सहिद’ मुकेश कायस्थको निधन भएको छ । बुधवार बेलुकी ७ः३० बजे उहाँको निधन भएको हो ।

जनआन्दोलनका क्रममा वि.सं. २०६२ सालको चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो । गोलीका कारण अचेत हुनुभएका कायस्थलाई विभिन्न अस्पतालमा उपचार गरी अन्तमा घरैमा स्याहारसुसार गरी राख्न थालिएको थियो ।

उहाँको हेरबिचारमा उहाँकी आमा मीरा कायस्थ दिनरात खट्नुभएको थियो ।

बनेपाको विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेश कक्षा ८ को जिल्ला शिक्षाको परीक्षा दिई घर फर्किरहेका बेला साथीहरूसँगै जुलुसमा हिँड्नुभएको थियो भने त्यही बेला सुरक्षाकर्मीले बनेपाको तीनदोबाटोमा चलाएको गोली लागेर घाइते हुनुभएको थियो । त्यतिबेला उहाँ १४ वर्षको हुनुहुन्थ्यो ।

गोलीका कारण उहाँलाई पक्षाघात भएको थियो, जसका कारण उहाँ हिँडडुल मात्र होइन बोल्न समेत नसक्ने अवस्थामा पुग्नुभएको थियो । बनेपामा भएको सो गोलीकाण्डमा घाइते हुनुभएका अर्को युवा शिवहरि कुँवरले शहादत प्राप्त गर्नुभएको थियो ।

विगत १७ वर्षदेखि घरमै उपचाररत कायस्थको ३२ वर्षको उमेरमा निधन भएको हो । उहाँ बनेपाका कायस्थ परिवारका एक्लो छोरा हुनुहुन्थ्यो ।

केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको बेला कायस्थलाई सरकारले ‘प्रजातन्त्रका योद्धा’ उपाधिले सम्मान गरेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली उहाँको घरमै गई उक्त उपाधि प्रदान गर्नुभएको थियो ।

त्यस्तै बनेपा नगरपालिकाले पनि उहाँलाई ‘बनेपा तारा’ उपाधिले सम्मान गरेको छ । तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले उहाँलाई उक्त उपाधि प्रदान गर्नुभएको थियो ।

कायस्थका लागि सरकारले मासिक उपचार खर्चका साथै स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिदिएको थियो । तर बीचमा ती सबै खर्चहरू रोक्का भएर कायस्थ परिवारलाई आर्थिक समस्या समेत परेको थियो । केपी ओली सरकारको पालामा कायस्थको रोकिएको उपचार खर्च पुनः सुचारु गरिएको थियो ।

कायस्थकी आमा मीरा कायस्थले विदेशमा उपचार गराउन पाए मुकेशको स्वास्थ्य ठीक हुने विश्वास गरिरहनुभएको थियो । तर विभिन्न देशका चिकित्सकहरूले भने विदेशमा उपचार गरिए पनि मुकेशको अवस्था सुधार हुने सम्भावना नभएका कारण उहाँलाई राम्रो हेरचाह प्रदान गर्न सुझाएका थिए ।

मुकेशको सम्मानमा बनेपाका बुद्धिजीवीहरूले ‘मुकेश फाउण्डेशन’ पनि स्थापना गरेको छ ।